दिवंगत अधिकारीको शवमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा, कसले कसरि सम्झिए ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 01, 2019 | 12:06:13 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएकाको सम्मानमा सरकारले आज राजकीय सम्मान दिएको छ । मन्त्री अधिकारीसहितको पार्थिव शरीरमा राष्ट्रपति विद्यादेवी भण्डारीले माल्यार्पण गरी अन्तिम श्रद्धाञ्जली दिईन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे ।

राजधानीको टुँडिखेलमा राखिएको मृतक सातै जनाको शवमा अन्तिम श्रद्धाञ्जली दिन राज्यका सबै अंगका प्रमुख, नेता, कार्यकर्ता हजारौँको संख्यामा उपस्थित थिए ।

दुर्घटनामा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल,पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

कसले कसरी सम्झिए दिवंगत नेता रवीन्द्रलाई ?

नेकपाका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले रवीनद्र अधिकारीलाई उदयमान नेताको रुपमा लिएको बताउँछन् । ‘नेपालको लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनको उज्जवल नक्षत्र हुनुहुन्थ्यो, छोटो अवधिमा निकै महत्वपूर्ण योगदान पुर्याएर उहाँ जानुभएको छ’ खनालले भने, ‘विद्यार्थी आन्दोलन र देशभक्तीको आन्दोलनमा होमिएको एउटा योद्धा देशले गुमाएको छ ।’

नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देशले होनाहार युवा नेतृत्व गुमाएको भन्दै रवीन्द्रलाई सम्झिए । उनले भने, ‘विभिन्न कालखण्ड पार गर्दै समृद्धिको युगमा प्रवेश गरेको अवस्थामा विकासप्रेमी युवा नेतृत्वको खाँचो रहेको समयमा उहाँ दिवंगत हुनु भयो, समृद्धिको यात्रामा उहाँको अभाव सधै खड्किने छ ।’

‘मैले व्यक्तिगत रुपमा निकै आशा र भरोसा गरेका केही व्यक्तिमध्ये उहाँ पनि पर्नुहुन्थ्यो, समृद्धिका विषयमा चासो राख्नुहुन्थ्यो, किताब पनि लेख्नुहुन्थ्यो’ भट्टराईले भने, ‘देशले नै सिर्जनशील र उर्जाशील युवा गुमाएको छ ।’

नेकपाका नेता वामदव गौतमले भरोसा गरेर हुर्काएको एउटा शिष्य गुमाउनु परेको भन्दै रवीन्द्र अधिकारीलाई सम्झिए । ‘मैले प्रशिक्षण गरेको, मैले पार्टी सदस्यता दिएको, निरन्तर हुर्काईरहेको र भोली सरकार र पार्टीको नेतृत्व सम्हाल्न सक्ने व्यक्तिलाई गुमाउनु परेको छ’ गौतमले भने, ‘नेकपाले ठूलो क्षति बेहोर्नुपरेको छ ।’

‘देशलाई समृद्धिको दिशमा लैजाने गरी काम भईरहेको बेलामा उहाँजस्तो योग्य र कर्मठ व्यक्तिको खाँचो यो देशले महशुस गरिरहने छ, यसको क्षति लामो समयसम्म पनि पूर्ती गर्न सकिने छैन’ गौतमले भने ।

नपाली काङ्ग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले मृदुभाषी, मिलनसार साथी गुमाउनु परेको प्रतिक्रिया दिए । ‘अत्यन्त सरल, कुशल व्यक्तित्व र देशको लागी केही गर्नुपर्छ भन्ने उत्साह बोकेको युवा हुनुहुन्थ्यो’ बडुले भने ‘उहाँको अवसानले देशलाई ठूलो क्षति पुगेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले रवीन्द्र अधिकारीसँग तीन दशक लामो सहकार्य रहेको भन्दै उनी र आफूबीच पारिवारीक सम्बन्ध पनि रहेको बताए । उनले भने, ‘रविन्द्रजीसँग मेरो झण्डै ३ दशक लामो सहकार्य रह्यो, अत्यन्तै घनिष्ठता सहितको । मैले उहाँलाई धेरै असल र राम्रो सम्भावना भएको मान्छेका रुपमा पाउँथे ।’

भावुक हुँदै सांसद भट्टराईले भने,‘संगठनको आधारभूत तहदेखि काम गर्दैगर्दै अनेरास्वियुको केन्द्रीय अध्यक्ष पनि हुनुभयो । पोखराको पीएन क्याम्पस र काठमाडौंको त्रिविमा स्ववियु सभापति हुनुभयो । ३/३ पटक संसदीय निर्वाचनमा विजय हासिल गर्नुभयो । यसले उहाँ जनतासँग पनि त्यतिकै घनिष्ठता हासिल गर्ने व्यक्ति हुनुहुन्छ भन्ने देखिन्छ ।’

तेह्रथुमका सांसद विजय सुब्बा रवीन्द्रलाई सम्झिदै भन्छन्, ‘सबैको प्रिय र लोकप्रिय मान्छे हो । यस्तो मान्छे नेपाली राजनीतिमा अत्यन्त कम हुन्छन् ।’ उनले भने ‘उता नगएको भए दुर्घटना हुने नै थिएन । मौसमको टुंगो नहुने ठाउँ हो, कतिबेला के हुन्छ थाहा हुँदैन, त्यसैले जानु अघि सोच्नुपथ्र्यो ।’

ट्रेकिङ एजेन्सिज् एसोसियसन अफनेपा (टान) का अध्यक्ष नवराज दाहाल मन्त्री अधिकारीको देहवसानले पर्यटन व्यवसायीले अभिभावक गुमाउनु परेको बताए । ‘एकजना अत्यन्त चलायमान, उर्जाशील र पर्यटन मार्फत समृद्धिको सपना देखेर सक्रिय भईरहनु भएका मन्त्री ज्यूको निधनले नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति पुग्न गएको छ’ दाहालले भने, ‘देशले एउटा होनाहार युवा नेता गुमाएको छ, पर्यटन क्षेत्रले आफ्नो अभिभावक गुमाएको छ ।’

कलाकार मनोज गजुरेल देशले निकै क्षति बेहोर्नुपरेको बताउँछन् । उनले भने, ‘देशले ठूलो क्षति बेहोर्नुपर्यो, शोकको यो घडीमा म श्रद्धाञ्जलीबाहेक अरु केही भन्न सक्ने स्थितीमा छैन ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved