फेरी कुप्रचार भयो, पार्टीले भनेपनि रवीन्द्रको क्षेत्रमा चुनाव लड्दिनँ: वामदेव गौतम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2019 | 12:21:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आफुबिरुद्द फेरी कुप्रचार गरिएको बताएका छन। दिवंगत मन्त्री अधिकारीको निर्वाचन क्षेत्रमा चुनाव लड्न लागेको भन्दै आफूविरूद्ध फेरि कुत्सित उद्देश्यले कुप्रचार सुरू भएको गौतमले उल्लेख गरेका छन्।   

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको शव अन्त्येष्टि गर्नका लागि शुक्रबार पोखरा पुग्नुलाई कतिपयले रिक्त रहेको रवीन्द्रको निर्वाचन क्षेत्रबाट उठ्न खोजेको भन्दै प्रचार गरेकोमा गौतमले आपत्ति जनाएका छन्।

नेकपा सचिवालय सदस्यसमेत रहेका गौतमले शनिबार सामाजिक सञ्जालमा मन्त्री अधिकारीको असमायिक निधनले ठूलो धक्का पुगेको महशुस गर्दै आफू श्रद्धाञ्जली दिन पोखरा पुगेको घटनालाई निर्वाचनसँग जोडेर अनावश्यक आरोप लगाइएको पनि उल्लेख गरेका छन्।

‘फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेराविरूद्ध सुरू भयो। नेपाली राजनीतिक आकाशमा उज्वल भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रवीन्द्र अधिकारीको असामयिक निधनबाट ठूलो धक्का महशुस गर्दै श्रद्धाञ्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रवीन्द्रको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ,’ गौतमले लेखेका छन्, ‘यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर सुरू गरिएको कुप्रचार मात्र हो।’

शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने मान्यता आफ्नो नभएको र कहिल्यै नहुने उनले प्रष्टाएका छन्। ‘मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइनँ। जीवनभर दिने पनि छैन,’ उनले भनेका छन्, ‘मेरो इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि म क. रवीन्द्रको दु:खद निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने छैन।’

मन्त्री अधिकारीको निधनपछि खाली रहेको कास्की क्षेत्र २ बाट रवीन्द्रकै परिवारका सदस्यलाई उपनिर्वाचनमा उम्मेदवार बनाउन प्रयत्न गर्ने पनि उल्लेख गरेका छन्। ‘मेरो सम्पूर्ण प्रयत्न स्व.क. रवीन्द्रको परिवार सदस्यलाई नै उम्मेदवार बनाउन लगाउने छु,’ गौतमले भनेका छन्

गौतमले नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग बर्दिया क्षेत्र १ बाट चुनाव हारेका थिए। चुनावमा पराजित भएपछि गौतमले फेरि चुनाव लड्ने र सांसद हुने चर्चा चलेको थियो। गौतमलाई काठमाडौं ७ मा चुनाव लड्न नेकपा सांसद रामवीर मानन्धरले पनि सो ठाउँ खाली गर्दै गत असोजमा राजीनामा दिए पनि पार्टीले राजीनामा स्वीकृत गरिदिएको थिएन।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved