रहेनन गाउँगाउँमा बजेट पुर्याउने नेता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2019 | 12:30:24 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा उपचारको क्रममा शनिबार निधन भएको छ। विक्रम सम्वत १९९३ साल बैशाख २२ गते महोत्तरीको भ्रमणपुरा गाउँमा जन्मेका अधिकारी तिनै हुन जसले नेपालको इतिहासमा पहिलोपटक जेष्ट नागरिकलाई भत्ता दिन सुरु गरे।

०५१ मंसिर १४ गते तत्कालिन एमाले नेता मनमोहन अधिकारीको नेतत्वमा अल्पमतको सरकार बनेको थियो। सहोदर दाजु प्रधानमन्त्री बनेको भोलिपल्ट भरतमोहन अधिकारी अर्थमन्त्री भए। नौ महिना मन्त्री हुँदा उनले दुईवटा बजेट पेश गरेका थिए । अधिकारीले महेश आचार्यले पेश गरेको बजेटलाई परिमार्जन गरेर पुसमा पहिलो कम्युनिस्ट बजेट पेश गरेका थिए । उनले  ०५२ असारमा अध्यायदेशमार्फत् पूर्ण बजेट पेश गरेका थिए । 'नौ स' जस्तो लोकप्रिय कार्यक्रम समेटेर उनले ११ गते बजेट ल्याए। उनले 'आफ्नो गाउँ आफैं बनाउँ' जस्तो लोकप्रिय कार्यक्रम ल्याए, जसमा हरेक गाविसलाई ३ लाख बजेट छुट्याइएको थियो।

लगत्तै २०५२ असारमा अधिकारीले अर्को बजेट ल्याए। जसमा जेष्ट नागरिकलाई प्रति व्यक्ति १०० रुपैयाँ वृद्ध भत्ता दिने कार्यक्रम थियो। भरतमोहनले ल्याएको उक्त कार्यक्रम आजका दिनपनि तत्कालिन एमाले तथा वर्तमान नेकपाका नेताहरुलाई शाखको बिषय बनेको छ। तत्कालिन एमालेले गरेका राम्रा कामहरु सम्झिने बित्तिकै भरतमोहनको वृद्ध भत्ता सबैको दिमागमा आउने गर्छ।

तत्कालिन एमाले तथा बहालवाला अर्थमन्त्री ड़ा युबराज खतिवडाले भन्ने गरेको तिन खम्बे अर्थतन्त्रको जन्मदाता पनि भरतमोहन नै हुन्। अर्थतन्त्रको सबै स्वामित्व राज्यले लिनु पर्छ भन्ने र सबै बजारलाई नै छाडिदिनु पर्छ भन्ने विचारको बीचबाट अधिकारीले राज्य, सहकारी र नीजि क्षेत्रको तीन खम्बे अर्थनीति अंगिकार गर्नुपर्ने मत अघि सारेका थिए। 

उनले ल्याएका अन्य लोकप्रिय कार्यक्रममा आफ्नो गाउँ आफैँ बनाऔँ, राष्ट्रिय विभूतिका नाममा सडक नामकरण, हेटौडा –काठमाडौँ सुरुङमार्ग, सडकको दुवैतिर वृक्षरोपण, सुत्केरी भत्ता, श्रीमान् श्रीमतीको संयुक्त नाममा जग्गाको रजिष्ट्रेशन पास, गाउँगाउँमा सहकारी घरघरमा रोजगारी रहेका छन।

गिरिजाप्रसाद कोइरालाले टनकपुरको विषयमा राष्ट्रघात गर्दा संसदमा लगातार सात घण्टा नारा लगाउने कामको अगुवाई अधिकारीले नै गरेका थिए । २०४९ सालमा एमालेको पाँचौं महाधिवेशनमा मदन भण्डारीले ल्याएको ‘जनताको बहुदलीय जनवाद’ कार्यक्रम निर्माणमा अधिकारीको महत्वपूर्ण योगदान रहेको थियो । यो कुरालाई उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

राजनीतिक यात्रा 

१६ बर्षको उमेरमा अधिकारीले बनारसबाट भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीतिमा आवद्धता जनाएका थिए । अधिकारी २०५९ सालमा अर्थमन्त्री बने यताका दिन मूल प्रवाहको राजनीति र सत्ताबाट कहिलेयै टाढा रहनुपरेन।  उनी उपप्रधानमन्त्रीसहित चारपटक अर्थमन्त्री भए । एक पटक भौतिक पूर्वाधारमन्त्री भए । विस २०४६ सालको राजनीतिक आन्दोलन अघि विराटनगरमा ल फर्म चलाएर बसेका अधिकारी २०४६ सालपछि पूर्णकालीन राजनीतिमा लागे। र तत्कालिन एमालेमा सधैं उनी प्रभावशाली नेताका रुपमा रहे । 

तत्कालिन नेकपा एमालेको पाँचौँ, छैटौँ, सातौ र आठौँ महाधिवेशनमा उनि मूल आयोजक समितिको संयोजक थिए भने छैटौँ, सातौँ र आठौँ  महाधिवेशनबाट स्थायी समितिमा निर्वाचित र ५० वर्षभन्दा बढी समय केन्द्रीय नेतृत्वमा रहे। विसं २०७१ को एमालेको नवौँ अधिवेशनदेखि उनले  पार्टी कमिटीका कुनै पनि जिम्मेवारी नलिने गरी स्वेच्छिक घोषणा गरेर नेपालको राजनीतिमा अवकाश लिने संस्कार विकास गरे।

अधिकारीको शिक्षा विराटनगरको आदर्श विद्यालयमा र उच्च शिक्षा भारतको बनारस हिन्दू विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय भएको थियो।   कानुन र अर्थराजनीतिका विज्ञ अधिकारीले अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको औपचारिक अध्ययन गरेका थिए । महोत्तरीमा जन्मिएर विराटनगरलाई कार्यक्षेत्र बनाएका अधिकारी पछिल्लो समय राजधानीमा बस्दै आएका थिए । अधिकारी पञ्चायत अवधिका चर्चित कानुन व्यवसायीसमेत हुन्। वि.सं. २०१७ सालमा पीएचडी  गर्ने विचार गरेका अधिकारी तत्कालीन सोभियत सरकारले दिएको छात्रवृत्ति छोडेर राजा महेन्द्रको ‘कु’ विरुद्ध सघर्षमा होमिएका थिए । 

नेपालको राजनीतिमा त्यागी नेताको रुपमा चिनिने अधिकारीले चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन र तीन वर्ष बन्दी जीवन बिताएका थिए । वि.सं. २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा उनी ८१ दिन नजरबन्दमा थिए । अध्ययनशील मानिने नेता अधिकारीले नेपालमा अद्योगीकरणका समस्या, मेरो जीवनयात्रालगायत कृति प्रकाशित गरेका छन् । जीवन यात्राको नयाँँ भाग पुस्तक भने प्रकाशन नहुँदै अधिकारी सदाका लागि बिदा भएका छन्।

अर्थमन्त्री अधिकारी

२०४७ सालमा संविधान आयोगका सदस्य भएका अधिकारी २०४८ पछि चार पटक सांसद निर्वाचित भए। पाँच पटक विभिन्न मन्त्रालय सम्हालेका अधिकारी उपप्रधानमन्त्री हुँदै कार्यवाहक प्रधानमन्त्रीसम्म भए ।

पहिलो पटक ०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा एमालेको एकमना सरकारमा अर्थमन्त्री बनेका अधिकारी दोस्रो पटक २०५५ सालमा कांग्रेससँगको संयुक्त सरकारमा अर्थमन्त्री बने । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनले एमालेको तर्फबाट नेतृत्व गरेका थिए । 

२०६१ साल असार २१ गते उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी पाउँदा अधिकारीले सात दिनमै बजेट तयार पार्ने जिम्मेवारी पाएका थिए । अधिकारी २०६७ साल माघ २७ गते उपप्रधानमन्त्री बने । प्रधानमन्त्री झलनाथ खनालले अर्थ मन्त्रालय हेर्ने जिम्मासमेत अधिकारीलाई नै दिएका थिए ।  

बजेटसँगै संसदमा पेश गर्नुपर्ने विधेयक अधिकारी स्वयमले संसदमा पेश गरे । तर कांग्रेसका तत्कालीन प्रमुख सचेतक लक्ष्मण घिमिरेले अधिकारीलाई अध्यादेश बजेट पेश गर्न नदिने बताए । संविधानमै आर्थिक बजेट अर्थमन्त्रीले पेश गर्ने उल्लेख भएको भन्दै विरोध भएपछि ०६७ माघ ३० गते अधिकारीले उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए ।  

यस अघि:

-अस्पताल भन्छ- 'भरतमोहन अधिकारी जीवित हुनुहुन्छ तर...'

-पुर्व उपप्रधान तथा अर्थमन्त्री अधिकारीको अवस्था चिन्ताजनक, अस्पतालमा आकस्मिक पत्रकार सम्मेलन

-परिवारको आग्रहमा भरतमोहन अधिकारी भेन्टिलेटरमा, अस्पतालमा नेकपाका नेताहरुको घुइंचो

यस अघि:

-अस्पताल भन्छ- 'भरतमोहन अधिकारी जीवित हुनुहुन्छ तर...'

-पुर्व उपप्रधान तथा अर्थमन्त्री अधिकारीको अवस्था चिन्ताजनक, अस्पतालमा आकस्मिक पत्रकार सम्मेलन

-परिवारको आग्रहमा भरतमोहन अधिकारी भेन्टिलेटरमा, अस्पतालमा नेकपाका नेताहरुको घुइंचो

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved