टेलिफोन र इन्टरनेटको लागि २ दिनसम्म हिड्नुपर्ने बाध्यता, कहीले होला समस्या समाधान ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 04:33:47 PM मा प्रकाशित

laxmi  sunrise bank

डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका वडा नंम्बर ८  सर्मीका दीर्घ शाहीले पत्रकारिता गर्न थालेको अहिले आठ वर्ष नाघ्यो । शाही बस्ने गाउँमा इन्टरनेट त परै जाओस् फोनले समेत काम नगर्दा दिनदिनै समस्या भोग्दै आउनु परेको छ । इन्टरनेटका लागि शाहीलाई सदरमुकाम नै आउनुपर्ने बाध्यता छ । स्थानीयस्तरको समस्या, कार्यक्रम र गतिविधिका समाचार लेखेर पठाउने माध्यम नहुँदा शाहीलाई काम गर्ने इच्छाशक्ति पनि मर्दै गएको छ । फोन गर्नका लागि र  इमेल गरेर समाचार पठाउन चार घण्टा उकालो हिँडेर नर्कुको अग्लो डाँडामा पुग्नुपर्ने  शाही बताउँछन् । आफूलाई यो काम फलामको चिउरा चपाए झैँ भएको पत्रकार शाहीको गुनासो गर्छन् । अर्का पत्रकार सरोज थापाको पनि उस्तै गुनासो छ । सञ्चार र प्रविधिको युगमा पनि गाउँघरका समाचार पनि लेखेर पठाउन कठीन भएको उनको भनाइ छ । तत्कालै प्रकाशित गर्नुपर्ने कतिपय समाचार  सञ्चार माध्यमको पहुँच नहुँदा बासी हुने गरेको र त्यसको महत्व कम हुने गरेको गुनासो थापाको छ ।  

तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका र जगदुला गाउँपालिकाका विभिन्न वडामा फोनले काम नगर्दा यहाँका हजारौँ बासिन्दाले  सास्ती भोग्दै आएका छन् । आफन्तसँग फोन गर्नका लागि अग्ला पहाडमा नेटवर्कको खोजी गर्दै घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको जगदुला गाउँपालिका–६ का करवीर रोकाय बताउछन् । एक गाउँबाट अर्को गाउँमा खबर पठाउन र पाउन पनि दुई दिनसम्म लाग्ने गरेको उनको भनाइ छ । स्थानीय तहका कर्मचारीलाई कुनै कार्यक्रम गर्नका लागि खबर पठाउन हिँडेरै जानुपर्दा हैरान भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए ।  अध्यक्ष्ँ शाही भन्छन् “टावर निर्माणका लागि ल्याइएका सामग्रीहरु रुकुमको त्रिवेणीमा एक वर्षदेखि थन्किएका छन्, टेलिकमका कर्मचारी नआउँदा टावर जडान गर्न सकिएको छैन ।” मुड्केचुला गाउँपालिकाको प्रशासकीय केन्द्र नर्कुमा पनि फोनले काम नगर्दा सरकारी काम गर्न सदरमुकाम दुनै जानु परेको शाहीको भनाइ छ । 

इलमा रहेको वाणिज्य बैंकको सेवा प्रवाहमा समेत समस्या देखिँदै आएको छ । टेलिफोन टावर निर्माणका लागि ठाउँ ठाउँमा निवेदन गरिए पनि त्यसको सुनुवाइ नभएको अध्यक्ष शाही बताउँछन् । यहाँका गाउँमा रेडियो तथा टिभी कुनै पनि सञ्चार सेवा उपलब्ध नहुँदा सुचनाहरु थाहा पाउन महिनौ लाग्ने गरेको स्थानिय बताउँछन् ।   उपल्लो डोल्पामा कुनै सामान्य घटनाको खबर पनि सदरमुकाम पुर्‍याउन पाँच दिनभन्दा बढी लाग्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अवदेश विष्टको भनाइ छ । माथिल्लो डोल्पाका अधिकांश ठाउँमा टेलिफोन सम्पर्क नहुँदा दैनिक सूचना आदानप्रदानमा समस्या पैदा भएको उनी बताउँछन् । 

अग्ला हिमाल, त्यसको फेदीमा गाउँहरु भएको उपल्लो डोल्पामा सेवा दिनका लागि कर्मचारी जान–आउनसमेत मुस्किल भएको प्रजिअ मुकेशकुमार केसरीले बताए । वर्षौंदेखि जिल्लाका ७० प्रतिशत स्थानमा  फोनले काम नगर्दा दैनिक सूचना आदान–प्रदानमा  समस्या भोग्दै आउनुपरेको उनको भनाई छ । सञ्चारमाध्यमको सुविधा नहुँदा त्यहाँका स्थानीय तहका कतिपय कार्यालयसमेत सदरमुकाम दुनैमा मात्र सञ्चालन भइरहेका छन् । बैंकहरु समेत सदरमुकामबाहेह अन्यत्र स्थापना हुन सकेका छैनन । टावर निर्माणका लागि ठेक्का लिएर निर्माण व्यवसायीले समयमै काम नगर्दा टेलिफोन टावर विस्तारमा समस्या भएको पूर्वमन्त्री तथा सांसद सत्य पहाडी बताउँछन् । नयाँ टावर निर्माणका लागि काम जारी रहेको र आउँदो आर्थिक वर्षभित्र केही नयाँ टावर पनि  बनिसक्ने उनको भनाइ छ । भूबनोटका कारण सञ्चारका साधनको प्रयोग जटिल हुनाका साथै  ढुवानी गर्नसमेत मुस्किल भएकाले केही ढिला हुन गएको सांसद पहाडी बताए  । - रासस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved