आजबाट राष्ट्रिय प्रसारण लाईनमा ३० मेगावाट विद्युत् थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 05:26:10 PM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो त्रिशूली ‘थ्री ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि परीक्षण उत्पादन सुरु गर्ने भएको छ । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको आयोजनाको  बिहीबार गरिएको उत्पादन परीक्षण सफल देखिएपछि आज साँझ ५ बजेदेखि परीक्षण उत्पादन शुरु गर्न लागिएको हो । 

६० मेगावाट क्षमताको आयोजनाको पहिलो युनिट ३० मेगावाट क्षमताको उपकरण परीक्षण गरिने र सफल भए त्यहाँबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिए । उक्त आयोजना बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अवलोकन गरेका थिए ।

असार दोस्रो सातासम्ममा दोस्रो युनिटबाट थप ३० मेगावाट विद्युत् उत्पादन हुने आयोजनाका उपप्रबन्धक इ सत्यराम ज्याख्वाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो युनिटको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि दोस्रो युनिटको परीक्षण शुरु गरिने आयोजनाले जनाएको छ । 

“विभिन्न विवाद र प्राकृतिक विपत्तिका कारण अन्योल बनेको उक्त आयोजनाबाट विद्युत् उत्पादन शुरु गर्न लागिएको छ ।” उपप्रबन्धक ज्याख्वाले भने, “आयोजनाको सफलताले सहायक योजना ‘थ्री बी’ निर्माणमा सुनिश्चितता हुनाका साथै  त्रिशूली–काठमाडौँ प्रशारण लाइन विस्तारमा योगदान पुगेको छ ।” यो आयोजनाको निर्माण चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) ले  गरेको हो। उक्त कम्पनीले सन् २०११ जुनदेखि काम शुरु गरेको थियो ।

इपिसी नमूनामा निर्माण गरिएको यो नेपाल विद्युत् प्राधिकरणको पहिलो जलविद्युत् आयोजना हो । आयोजनामा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको सयुक्त लगानी रहने गरी चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराएको र आयोजना निर्माणको लागत १२ करोड ५७ लाख अमेरिकी डलर रहेको छ ।

भूकम्पले आयोजनाको बाँधस्थलसम्म पुग्ने पहुँच मार्गमा पुर्‍याएको ठूलो क्षतिको पुनःनिर्माण र त्यहाँ दीर्घकालीन रुपमा पहिरो रोकथाम गर्न मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेना खटाइएको थियो । सेनाले उक्त कार्यको जिम्मेवारीअन्तर्गत पहुँच मार्ग खुला गरेपछि आयोजनाको काम अघि बढाउन सहज बनेको हो । पहिरो रोकथामको कार्य सेनाको निर्माण कार्यदलले अन्तिम चरणमा पुर्‍याएको  छ । त्रिशूली नदीको पानीबाट ‘रन अफ रिभर’ मोडलमा निर्माण भएको यस आयोजनाबाट वार्षिक ४८९.७६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य छ ।

आयोजना पूर्णरुपमा सञ्चालन आए् यहाँबाट उत्पादन हुने विद्युत्बाट वार्षिक करीब ३ अर्ब रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।  त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बनाएर नुवाकोटको मनकामनामा उत्पादन गृहसम्म आयोजनाको निर्माण सबै भूमिगत बनाइएको छ । 

आयोजनाबाट साढे आठ महीना पूर्णरूपमा ६० मेगावाट विद्युत् उत्पादन हुनेछ । कूल उत्पादनको ४६.६ प्रतिशत विद्युत् सुख्खायाममा उत्पादन हुने भएकाले मुलुकका लागि आवश्यक विद्युत् उपलब्ध गराउन यस आयोजनालाई महत्वका रुपमा हेरिएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार नुवाकोट र रसुवामा उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडानको लागि ‘थ्री ए’ को व्यवस्थापनमा २२० केभी ‘डलब सर्किट’ प्रसारण लाइन निर्माण गरिएको छ । यसैगरी यस आयोजनाको ‘क्यासकेड’ आयोजनाको रुपमा ३७ मेगावाट क्षमताको ‘थ्री बी’ आयोजना पनि  निर्माण भइरहेको छ । सो आयोजना  आगामी तीन वर्षभित्र पूरा गर्ने गरी विसं २०७४ फागुनदेखि निर्माण थालिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved