देहरादुनसम्म सिधा बस सेवा सुरु, कति छ भाडादर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 02:57:37 PM मा प्रकाशित

laxmi  sunrise bank

पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आजदेखि पोखराबाट भारतको उत्तराखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा सञ्चालन गरेको छ । समितिअन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले विगत १२ वर्षदेखि यहाँबाट दैनिक भारतको राजधानी नयाँदिल्लीसम्म बस सञ्चालन गर्दै आएकामा देहरादुनसम्म थप सेवा शुरु गरेको हो ।

सो सेवाको शुभारम्भ गर्दे समितिका अध्यक्ष एनकुमार साईले सिधा बस सेवा सञ्चालनबाट भारतीय पर्यटकलाई नेपाल भ्रमणमा आउन सहज हुने र पोखराको पर्यटन प्रवद्र्धनमा योगदान मिल्ने बताए । “पोखराबाट देहरादुनसम्मको सिधा सेवा सञ्चालनबाट दुवै देशका नागरिकले फाइदा लिन सक्नेछन्, यसबाट पोखरा तथा गण्डकी प्रदेशमा भारतीय पर्यटकको सङ्ख्या बढ्ने विश्वास लिएका छौँ”, उनले भने ।

पोखराबाट नारायणगढ, बुटवल, महेन्द्रनगर, वनबास, रुद्रपुर, हरिद्धार हुँदै देहरादुनसम्म बस सञ्चालन गरिने र बुधबार पोखराबाट छुटेको बस शनिबार देहरादुनबाट सोही बाटो हुँदै फर्किने समितिका महासचिव योगेन्द्रबहादुर केसीले बताए । वातानूकुलितसहितको बसको भाडा एकतर्फी रु चार हजार ३२० रहेको उनले जानकारी दिए ।

सेवा सञ्चालनबाट भारतका विभिन्न तीर्थस्थलमा जाने नेपालीलाई पनि सहज हुने र भारतको हरिद्धार, ऋषिकेश तथा नेपालको मुक्तिनाथसम्म आउने जाने धार्मिक पर्यटक लाभान्वित हुने ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।

देहरादुनमा करीब आठ लाख नेपाली भाषी बसोबास गर्दै आएका र सेवा सञ्चालनबाट उनीहरु पनि लाभान्वित हुने विश्वास समितिको छ । समितिअन्तर्गत सञ्चालित एक हजार २०० दिवा तथा रात्रि सेवाका बसले देशका विभिन्न भागमा यात्रुलाई सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved