पाँचथर सामूहिक हत्याकाण्डको थप प्रमाण फेला

रासस

रासस

May 24, 2019 | 05:44:49 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको घटनाका थप प्रमाण फेला पारेको छ । उक्त घटनाका मुख्य अभियुक्त ठह¥याइएका सोही गाँउपालिका–७ लुमाङ्दिनका मानबहादुर माखिमको परिवार तथा सामूहिक हत्या गरिएका अवस्थाका आधारमा थप प्रमाण फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार माखिमले विगत करीब दुई वर्षदेखि मानसिक रोगविरुद्धको औषधि सेवन गर्दै आएका थिए । प्रहरीले उनको घरबाट केही औषधि र औषधिका खोल फेला पारेको छ । उनी मानसिक रुपमा असन्तुलित भएकै कारण सामूहिक हत्या गरेको स्थानीयले समेत आशङ्का गर्दै आएका थिए ।

यस्तै घटना भएको बिहान ३ः०९ बजे माखिमले भतिजो पर्ने नेलकल माखिमलाई रु पाँच हजार सापटी मागेको पाइएको छ । उनले आफू मोरङमा रहेको र अपरझट काम परेकाले सापटी दिन भनेको नेलकलले प्रहरीलाई बताएका छन् ।

श्रीमती मनकुमारीसँग सम्बन्ध विच्छेद गर्न अस्वीकार गर्ने मानबहादुरको श्रीमतीसँग भने सधैँ झगडा हुने गरेको उनका आफन्तले प्रहरीलाई बताएका छन् । उनी बाहिर सोझो र समझदार देखिने तर रक्सी पिएपछि आक्रमणमा उत्रने स्वभाव रहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरी निरीक्षक पौडेलले बताए । मानबहादुरले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न अस्वीकार गर्दै आए पनि उनकी श्रीमती मनकुमारी भने उनीसँग जसरी पनि सम्बन्ध विच्छेद गर्ने पक्षमा रहेको मनकुमारीका माइती पक्षको भनाइ छ ।

यस्तै प्रहरीले हत्या गरिएकाको शवको अवस्था, धारिलो हतियार प्रहारको प्रकारलगायत सुक्ष्म विश्लेषण गरेको छ । “सबैलाई एकै प्रकारले धारिलो हतियार प्रहार गरेको अनुसन्धानमा खुलेको छ”, प्रहरी निरीक्षक पौडेलले भने , “उनी एक्लैले सबैलाई धारिलो हतियार प्रहार गरेको देखिन्छ ।” हालसम्मको अनुसन्धानमा उक्त घटना गराउन माखिमबाहेक अन्यको संलग्नता देखिने कुनै पनि प्रमाण फेला नपरेको प्रहरी निरीक्षक पौडेलले वताए । “सबै अनुसन्धान सम्पन्न भएपछि कुनै प्रमाण फेलाप¥यो भने त्यो अलग कुरा हो तर हालसम्म उनी एक्लैले घटना गराएको देखिन्छ”, पौडेलले भने ।

प्रहरीले हत्याका मुख्य अभियुक्त ठानिएका माखिम तथा हत्या गरिएका बमबहादुर फियाक र धनराज शेर्माको परिवार, आफन्त, छरछिमेकीलगायतसँग सोधपुछ जारी राखेको छ । यस्तै यी सबैको फोनको विवरण सङ्कलन तथा विश्लेषणको कार्यसमेत जारी राखेको जनाएको छ । सामूहिक हत्याको घटनास्थल, माखिमले आत्महत्या गरेको स्थान, उनले केही सामग्री छोडेको स्थान, माखिमको घरलगायतका क्षेत्रमा केन्द्रीय अनुसन्धान ब्युरोको कमाण्डमा अनुसन्धान जारी रहेको पौडेलले जानकारी दिए  ।

सोमबार राति मिक्लाजुङ–३ आरुबोटेका बमबहादुर फियाक र उनका माइला ज्वाँइ धनराज शेर्माको परिवारका नौ जनाको विभत्स हत्या भएको थियो । मङ्गलबार बिहान बमबहादुरका कान्छा ज्वाँइ मानबहादुर माखिम उनको घर नजिकै रुखमा झुण्डिएको अवस्थामाशव फेला परेको थिए ।

सामूहिक हत्यामा मारिएकाको दुई स्थानमा सामूहिक अन्त्येष्टी गरिएको छ । बमबहादुरसहित चार जनाको आरुबोटकै चिहानडाँडामा तथा धनराज शेर्मासहित पाँच जनाको पुख्र्यौली गाँउ सराङ डाँडामा अन्त्येष्टी गरिएको हो । सामूहिक चिता बनाई शव जलाइएको स्थानीय गणेशप्रसाद लुइँटेलले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved