प्रधानमन्त्री ओली युरोप भ्रमणमा जाँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2019 | 10:18:04 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आज नौ दिने युरोप भ्रमणमा जाँदैछन् । ओली आज साँझ स्वीट्जरल्यान्ड प्रस्थान गर्ने कार्यक्रम छ । उच्चस्तरीय ३१ सदस्यीय टोलीको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड जान लागेका प्रधानमन्त्री ओलीले सोमबार अन्तराष्ट्रिय श्रम संगठनको १०० वर्ष पुगेको अवसरमा जेनेभामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसपछि उनले स्वीस इन्टेरियर मिनिस्टर एवंम् पूर्व राष्ट्रपति अलिन ब्रेसेटसँग दुई पक्षीय वार्ता गर्नेछन् । उनले जेनेभास्थित नेपाली समुदायसँग पनि भेट गर्ने बताईएको छ । 

जेनेभाबाट बेलायत जाने प्रधानमन्त्री ओलीले ११ जुनमा प्रधानमन्त्री टेरेसा मे सँग भेट गर्ने कार्यक्रम छ । त्यसै दिन प्रधानमन्त्री ओलीले अक्स्फोर्ड युनिभर्सिटीमा नेपालीहरुसँग अन्तरक्रिया गर्नेछन् ।

१२ जुनमा प्रधानमन्त्री ओली फ्रान्समा पुगेर राष्ट्रपति इम्यानुयल म्याक्रोंसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनले नेपाल र फ्रान्सको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा आयोजित एक विशेष कार्यक्रममा सहभागी हुनेछन् । ३२ अर्बको लगानीसहित नेपाली आकाशमा प्रक्षेपण गर्न लागिएको भू–उपग्रहसम्बन्धी सम्झौतामा समेत नेपाल र फ्रान्सले हस्ताक्षार गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीको टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, परराष्ट्र सचिव शंकरदास वैरागी, श्रम सचिव महेश दाहाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र वैदेशिक सल्लाहकार राजन भट्टराई सहभागी हुनेछन् । युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved