मेलम्ची आयोजनाको दोस्रो खण्डको काम शुरु, पहिलो खण्ड अझै अनिश्चित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2019 | 06:42:22 AM मा प्रकाशित

laxmi  sunrise bank

मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि सरकार लागिपरेको हो । पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौँमा झार्नेछ । त्यसैगरी याङ्ग्री र लार्केखोलाबाट पनि १७÷१७ करोड लिटर पानी लैजाने सरकारको लक्ष्य छ । यो योजना पूरा भए मेलम्चीबाट अहिले लैजान लागिएको पानी तेब्बर क्षमतामा विस्तार हुनेछ ।

याङग्री र लार्केखोला क्षेत्रभित्रका जग्गाधनीलाई मुआब्जा लिनका लागि सूचनासमेत जारी गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडामा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोटबिरुवा, बालीनाली, गोठटहराको मुआब्जा वितरण गर्न शुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले १५ दिनभित्र मुआब्जा लिनका लागि सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिईन ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ को १५२ कित्ता र २ को ५५, ४ को ४४, ८ को ३६, ९ को छ र वडा नं ६ को चार कित्ता जग्गा सरकारी अधिग्रहणमा पर्ने भएकाले उनीहरूलाई मुआब्जा लिन आग्रह गर्दै सूचना जारी गरिएको हो । जग्गा अधिग्रहणका लागि जग्गाको दररेट पनि तोकिसकेको छ ।

तर, सूचना जारी भए पनि स्थानीयवासी मुआब्जा बुझ्न नआएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ का वडाध्यक्ष पासाङ स्याङबोले जनाए । मुआब्जा लिन स्थानीयवासी नआएकाले सरकारले १५ दिनभित्रमा लिन स्थानीयवासीलाई आग्रह गरेको उनको भनाइ छ ।

दोस्रो खण्डअन्तर्गतको याङ्ग्री र लार्केको पानी लैजानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्केखोलाको पानी मेलम्चीमा मिसाउने गरी बनाएको डिपिआर मेलम्ची खानेपानी विकास समितिलाई दिएको हो । यो आयोजना रु ३० अर्ब खर्च गरेर करीब चार वर्षभित्र काम सक्ने लक्ष्यका साथ शुरु गरिएको छ ।

गत माघबाट रोकिएको मेलम्ची खानेपानी आयोजना (पहिलो खण्ड) को काम शुरु गर्न नयाँ ठेक्का आह्वान भइसकेको छ । अब आयोजनाको काम डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । सँगै जग्गा अधिग्रहणलगायतका काम सकेर मेलम्चीको दोस्रो परियोजना थाल्न बोलपत्रमा जाने योजना बनेको आयोजनाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved