पहिरोमा पुरिएर बेपत्ता भएका ३ जनाको शव फेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 04:43:11 PM मा प्रकाशित

laxmi  sunrise bank

खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा पहिराले घर बगाउँदा बेपत्ता रहेका तीन जनाको शव फेला परेको छ । घरमाथिबाट आएको पहिराले घर बगाउँदा आज बिहान बेपत्ता रहेका २९ वर्षीया रेखा राई र उहाँका छोरा चार वर्षीय रमन र सात महीनाका रोजनको शव फेला परेको हो ।

पहिराले मृतकका श्रीमान् ३१ वर्षीय विष्णु राई गम्भीर घाइते भएका छन। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि खोटाङ बजार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको प्रहरीले जनाएको छ । बिहान करीब ५ बजेतिर पहिराले घरमा सुतिरहेका चारैजनालाई बगाएको थियो । पहिरो आउनासाथ स्थानीयवासीले विष्णुलाई उद्धार गरेको प्रहरीले जनाएको छ । बेपत्ता बनेका दुई छोरा र आमालाई इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट उद्धारमा खटिएका प्रहरी टोली र स्थानीयवासीले अपराह्नपछि मृत फेला पारेका हुन् ।

घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने वाप्लुखाको गोपिनीस्थित एकान्त ठाउँमा पर्दछ । घटनास्थल वरपर टेलिफोन तथा मोबाइल सेवासमेत उपलब्ध नहुँदा बेपत्ता बनेकाको उद्धारमा ढिलाइ भएको जनाइएको छ । घरदेखि करीब ४०० मिटरमाथिबाट पहिरो खसेर राई परिवारलाई घरसहित बगाएको जनाइएको छ ।

जिल्लाका अन्य ठाउँमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लगातारको वर्षासँगै चलेको हावाहुरीले गएरातिदेखि विद्युत्समेत अवरुद्ध बनेको छ । विद्युत् सेवासमेत अवरुद्ध भएपछि जिल्ला अहिले अस्तव्यस्त बनेको छ । अवरुद्ध विद्युत् कहिले सञ्चालन हुने भन्नेमा टुङ्गो छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved