बाढीको कारण त्रियुगा नदीको पुल भत्कन थाल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2019 | 12:52:58 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट– कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुल भत्कन थालेको छ । पुलको पूर्वी भाग केही दिनअघि आएको निरन्तर वर्षा र बाढीका कारण अहिले भत्कन थालेको हो ।

चार दिन लगातारको वर्षा तथा बाढीका कारण त्रियुगा पुलको पूर्वीभागको छेउको पिलर र पिलरसँगै निर्माण भएका पर्खाल भत्कन थालेपछि पुल उच्च जोखिममा पर्न थालेको ट्राफिक प्रहरी कार्यालय गाईघाटले जनाएको छ । पुलको पूर्वपट्टिको छेउको पिलरसँगै झण्डै १० मिटर लम्बाइको पर्खाल भत्कन थालेपछि तत्काल पुलको संरक्षण गर्न पूर्वी भागमा सवारी सञ्चालनमा रोक लगाएर पुलको पश्चिमी भागबाट मात्र सवारीसाधन सञ्चालन गर्नेगरी एकतर्फी क्षेत्रबाट सवारी आवतजावत शुरु गरिएको ट्राफिक प्रहरी कार्यालय गाईघाटका प्रमुख दिनेश चौधरीले बताए ।

पुलको पूर्वी भाग भत्कन थालेपछि ठूला सवारीसाधनका कारण पुल तत्काल भत्कन सक्ने सम्भावनालाई ध्यानमा राखेर पूर्वी क्षेत्रको रुट बन्द गर्दै पश्चिमी क्षेत्रबाट एकतर्फीरूपमा मात्र सवारी सञ्चालन अनुमति प्रदान गरिएको ट्राफिक प्रहरी कार्यालय गाईघाटले बताएको छ । त्रियुगा पुल उच्च जोखिममा पर्न थालेपछि तत्काल पुलको भत्किएको भाग पुनःमर्मत वा निर्माण शुरु गर्ने त्रियुगा नगरपालिका गाईघाटले जनाएको छ । नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार त्रियुगा पुलजस्तो महत्वपूर्ण भौतिक सम्पत्तिलाई नगरपालिकाले भत्कन नदिने र तत्काल पुलको पुनःमर्मत कार्य शुरु गरिन लागेको पनि प्रमुख चौधरीले बताए ।

यसका लागि नगपालिकाले तत्कालै दुई जेसिभी प्रयोग गरेर पुलमुनिको माझ भागबाट पानीको सतह खोल्ने, पुलको छेउको पिलर र भत्किएका पर्खाल निर्माण गर्ने र खाल्डा पुर्ने काम शुरु गरिन लागेको पनि प्रमुख चौधरीले बताए ।

सोही पुल भएर सदरमुकाम गाईघाटबाट राजधानी काठमाडौँ, विराटनगर, धरान, सप्तरी, सिरहालगायत देशका विभिन्न भागसम्म यातायातका साधन आवतजावत हुने गरेको ट्राफिक प्रहरी कार्यालय गाईघाटले जनाएको छ । समयमै पुलको संरक्षण हुन नसके सदरमुकाम गाईघाट हुँदै अन्यत्रबाट आवतजावत गर्ने सम्पूर्ण यातायात सञ्चालन नै ठप्प हुने अवस्था आउने हुनाले पनि समयमै पुलको संरक्षण गर्न आवश्यक रहेको यातायात व्यवसायीहरूले बताएका छन् । उक्त पुल विसं २०६३ मा निर्माण शुरु भई २०६६ मा निर्माण सम्पन्न भएको थियो ।रु आठ करोडमा निर्माण भएको उक्त पुलको लम्बाई १२० मिटर र चौडाइ आठ मिटरको रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved