निर्माण सकिएको दुई महिनामै पुल भासियो

रासस

रासस

Jul 21, 2019 | 09:46:37 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण भएको दुई महिनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० र ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको हो ।

तीन करोडको लागतमा निर्मित उक्त पुल ३५ दशमलव ६ मिटर लम्बाइको छ । पुल साल्मिटारतर्फ करिब एक फिटसम्म र बल्थलीतर्फ करिब छ इन्च भासिएको छ । पुलको बल्थलीतर्फ दायाँबायाँ राखिएका दर्जन खम्बामध्ये केही भत्केर खोलामा खसेका छन् भने केही पुलसँगै भासिएका छन् । उक्त पुल जेठ महिनामा निर्माण सम्पन्न भएको हो ।

पूर्वाधार कार्यालय प्रमुख इञ्जिनियर लोकनाथ रेग्मीले पुलको बिम नभासिएको, पुलको दायाँबायाँ जमिनसँग जोड्ने स्ल्याबमात्रै भासिएको बताए । ‘प्राविधिकले हेरिसक्नुभएको छ, निर्माणका बेला ध्यान नदिँदा स्ल्याबभित्र पानी पसेर भासिएको रिपोर्ट आएको छ’, उनले भने । उनका अनुसार निर्माण कम्पनीले सम्पूर्ण क्षति पुनर्निर्माण गर्नेछ।

पुल निर्माणको एक वर्षसम्म ‘त्रुटि सच्याउने अवधि’को प्रावधान भएकाले सो अवधिसम्म भएका क्षति निर्माण कम्पनीले व्यहोर्नुपर्ने रेग्मीले जानकारी दिए । उनले पहिला क्षतिको विवरण संकलन गरिएकाले अब पुलको गुणस्तरबारे परीक्षण गरिने बताए ।

त्रुटि सच्याउने अवधि (एक वर्ष) सकिएपछि सम्झौताअनुसारको पुल निर्माण कम्पनीले जिल्लास्थित प्राधिकरणको पूर्वाधार कार्यालयलाई हस्तान्तरण गर्नुपर्नेछ । तर निर्मााण कम्पनीले भने पुल निर्माणार्थ सम्झौताअनुसारको रकम लिइसकेको छ ।

निर्माण सम्पन्न भएलगत्तै पुलको बल्थलीतर्फ दायाँबायाँ राखिएका खम्बा लडेपछि स्थानीयवासीले नपा कार्यालयमा गुनासो गरेका थिए । तत्कालीन अवस्थामा नपाको एक टोलीले गरेको अगुगमनमा पुल गुणस्तरीय नबनेको जानकारी ल्याएको नपा प्रमुख भीम न्यौपानेले बताए । 

‘सम्बन्धित निकायलाई पुल निर्माणमा त्रुटि भएको जानकारी गराउँदा पनि बेवास्ता गरियो, सम्झौताअनुसारको गुणस्तरमा पुल नबनेको भए हामी जिम्मा लिँदैनौं’, उनले भने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved