‘म वन विनाश गर्न आएको होईन, एयरपोर्ट बनाउन आएको हुँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 11:25:51 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्दा रुख काट्नु अघि नै वृक्षारोपण गर्ने बताएका छन् ।

‘निजगढका रुख काट्नुअघि त्यसको क्षतिपूर्ति हुनेगरी वृक्षारोपण सुरु हुन्छ’ मन्त्री भट्टराईले भने, ‘म वन विनाश गर्न आएको होइन, विमानस्थल बनाउन आएको हुँ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा उनले वृक्षारोपणका विषयमा आगामी बुधबार वन मन्त्रालयसँग छलफल हुने जानकारी पनि दिए । 

विमानस्थल निर्माणमा १ हजार ९ सय हेक्टर क्षेत्रफलमा विमानस्थलका संरचना बन्नेछन् । ८ हजार ४५.७९ हेक्टर क्षेत्रफलका रुख काट्न्पर्ने वातावरण प्रभाव मूल्यांकन (ईआईए) मा उल्लेख छ । यो क्षेत्रफलमा करिब ६ लाख रुख काटिने छन् । 

उनले आर्थिक अभावमा काम नहुने हो कि भन्ने शंका नगर्न आग्रह गर्दै वार्षिक रुपमा सरकारले २०–२५ अर्ब रुपैयाँ छुट्याउने विश्वास दिलाउँदै सरकार यो परियोजनामा पछाडि फर्किने मुडमा नभएको बताए । 

प्रस्तावित निजगढ विमानस्थललाई २ चरणमा निर्माण गर्ने सरकारको तयारी छ । पहिलो चरणमा अन्तराष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसारको रनवे, ट्याक्सी वे, टर्मिनल र एप्रोन, आवश्यक परिवहनसहित सञ्चार सुविधा भएको अन्तराष्ट्रिय मापदण्ड अनुसारको विमानस्थल बन्नेछ । दोस्रो चरणमा उक्त विमानस्थललाई आधुनिक यातायात सुविधा, एयरलाइन्स सेटअप, ह्यांगर, खानेपानी आपूर्ति, ढल व्यवस्थापन र होटल लजसहितको विमानस्थलमा स्तरोन्नति गरिनेछ । 

सरकारले पहिलो चरणको काम सन् २०३० मा सम्पन्न गर्ने लक्ष्य राखेको छ । पहिलो चरणको निर्माण सकिएपछि नै ९२ लाख यात्रुले सुविधा पाउने अनुमान गरिएको छ । दोस्रो चरणमा निर्माण सम्पन्न हुँदा विमानस्थलको क्षमता ६ करोड यात्रु धान्न सक्ने भएको हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved