योजना आयोग भित्रै आत्महत्या गरेका नासुले विदेशीलाई दिलाएका थिए नेपाली पासपोर्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 06:20:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंहदरबार भित्रै मृत भेटिएका कर्मचारीले आत्महत्या गरेको पुष्टि भएको छ । कार्यालयमै मृत भेटिएका राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसीले विष सेवन गरि आत्महत्या गरेको प्रहरीले जनाएको हो । 

प्रहरीले उनको सुसाइड नोट फेला पारेको छ । नोटमा उनले श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेका छन् । नोटमा स्पष्टिकरण दिँदै उनले  आफूले कसैका कारण आत्महत्या नगरेको उल्लेख गरेका छन् । ‘मैले कसैको कारण आत्महत्या गरेको होइन, पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ उनले लेखेका छन् । उनको शव भेटिएको ठाउँ नजिकै धान, गहुँको बालीमा प्रयोग गरिने किटनाशक औषधिको खोल र केराको बोक्रा भेटिएको छ । 

उनी १९ जेठ ०५८ मा भएको राजदरबार हत्याकाण्डका प्रत्यक्षदर्शी समेत हुन् ।  राजदरबार हत्याकाण्डका वेला केसी युवराज दीपेन्द्रको बासस्थानका रूपमा रहेको त्रिभुवन सदनमा ब्वाइज (सुब्बा) पदमा कार्यरत थिए र उनको जिम्मेवारी भान्सेका रूपमा थियो । 

गणतन्त्र स्थापनापछि राजप्रासाद सेवा (दरबार) का कर्मचारीलाई निजामती सेवामा समायोजन गरिएको थियो ।  त्यसक्रममा उनी परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभाग सरुवा भएका थिए । राहदानी विभागमा कार्यरत छँदा उनले गिरोहको लहैलहैमा लागेर  १७ जना बंगलादेशीलाई नेपाली राहदानी दिलाएका थिए । यही विषयमा प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएकोमा उनले मुद्दा समेत हारेका थिए ।

यस्तो थियो उनले दरबार हत्याकाण्डको बारेमा दिएको बयान :

'सबैभन्दा पहिला युवराजधिराज सवारी होइबक्सेको थियो बैठकमा । त्यसपछि महेशकुमार सिंह साहेबज्यू सवारी भयो । त्यसपछि अरू साहेबज्यू सवारी होइबक्स्यो । घटना घट्नुभन्दा दुई मिनेटअघि म कोल्डड्रिंक्स लिएर गएको थिएँ । त्यहाँबाट फर्केर अलि वर बैठकको ढोकाको १० मिटरजति उत्तर साइडमा पुग्दा युवराज सरकार आर्मीको चुस्ता ड्रेसमा सवारी होइबक्स्यो । अगाडि गन भिरिबक्सेको थियो ।  त्यसवेलासम्म मैले उभिएर हेरिरहेको थिएँ । कतै सवारी हुन लाग्यो भन्ठानेँ मैले । त्यसपछि ढोकाबाट छिर्नेबित्तिकै फायरिङ सुरु गरिबक्स्यो । त्यसपछि मलाई डर लाग्यो । मेरा मुटु काम्यो । म बाहिर भागेँ । '


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved