बिदेशबाट फर्केनेलाई सहुलियत कर्जा देखावटी मात्रै, ऋण लिन गएका व्यक्ति गालि खाएर फर्के

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 21, 2019 | 02:10:57 PM मा प्रकाशित

laxmi  sunrise bank

उदयपुरको कटारी नगरपालिका वडा नम्बर १ का युवा सुवास थापा सरकारले ब्यबस्था गरेको सहुलियत कर्जा लिन राष्ट्रिय वाणिज्य बैंकको शाखामा पुगे । बैदेशिक रोजगारीको क्रममा दुवईमा रहेका उनी १० महिना अघि स्वदेश फर्किएका हुन् । देशमा आएर गाउँमै वेल्डिङ उद्योग खोल्ने मानसिकतामा रहेका उनी सरकारले सहुलियत कर्जा दिने भनेपछि खुशी थिए । तर कटारीस्थित रा.वा. बैंकका शाखा प्रवन्धक उमापति बास्तोलाले झर्केर फिर्ता पठाईदिएपछि उनी खिन्न भए ।

२ वर्षसम्म दुबईमा वेल्डिङ मै काम गरेका उनी गाउँमा पनि वेल्डिङ नै खोल्ने सोचमा थिए । तर बैंकका म्यानेजरले गरेको व्यहारले थापा फेरि विदेश जाने मनस्थितीमा छन् । उनी कतार र साउदीमा पनि २/२ वर्ष बसे । ‘तीन वटा देशमा २/२ वर्ष बस्दा ६ वर्ष बित्यो, गाउँमा नै आएर वेल्डिङ उद्योग सञ्चालन गरौँ भन्ने थियो’ उनले भने, ‘तर पाईन्छ भनेको ऋण पनि बैंकबाट पाईएन, अब फेरि विदेश जाने योजनामा छु ।’ 

थापा एक प्रतिनिधि मात्रै हुन् । अन्य ग्राहकले पनि बैंकहरुले कर्जा दिन आनाकानी गरेको, कर्जा लिंदा अनेकौ समस्या झेल्नु परेको, बैंकले त्यस्तो ब्यबस्था नै नभएको बताउने गरेको गुनासो गरेका छन् । 

तर अहिले उक्त शाखामा शाखा प्रवन्धकको रुपमा ईश्वर श्रेष्ठ पुगेका छन् । उमापति बास्तोला भने अहिले रिटायर्ड भईसकेका छन् । गत बैशाखमा गएका श्रेष्ठसँग पनि थापाले भेटेका छन् । विजपाटीसँगको कुराकानीमा श्रेष्ठले कार्यविधिमा व्यवसाय सुरु गरेपछि मात्रै कर्जा दिने उल्लेख भएको जिकिर गरे । व्यवसाय सुरु नगरको र अन्य कागजात पनि पूरा नभएका कारण दिन नसकिएको तर कागजात पूरा गरेर र व्यवसाय सुरु गरेको प्रमाण लिएर आए बैंकले कर्जा दिने बताएका छन् । शाखा प्रवन्धक श्रेष्ठले बैंकले व्यवसाय सुरु गर्नकै लागि कर्जा नदिने बताए ।

आावेदन दिएका युवाको तुलनामा कर्जा पाउनेको संख्या आधा प्रतिशत पनि छैन । वैदेशिक रोजगार प्रवद्र्धन वोर्डले वैदेशिक रोजगारबाट फर्किएकालाई सहुलियत ऋण दिने भनेर आवेदन माग समेत गरेको थियो । बोर्डको तथ्यांक अनुसार १९ हजार भन्दा बढीले आवेदन दिएकोमा कर्जा भने जम्मा ४९ जनाले मात्रै पाएका छन् । 

नेपाल राष्ट्र बैंकले सहुलियत कर्जा सम्बन्धी एकिकृत कार्यविधि २०७५ जारी गर्दै विभिन्न ७ शीर्षकमा ब्याज अनुदान सहितको सहुलियत कर्जा दिने ब्यवस्था गरेको थियो । यही कार्यविधि मार्फत बैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई पनि १० लाखसम्म सहुलियत कर्जा दिने व्यवस्था गर्यो । विदेशबाट फर्किएका युवा परियोजना शीर्षकको कर्जा जम्मा ४९ जनाले पाएका छन् । बैंकले यो शीर्षकमा ३५ करोड ९७ लाख कर्जा प्रवाह गरेका छन् । 

बैंकहरुले गत असार मसान्तसम्ममा सरकारको ब्याज अनुदान सहितको सहुलियत कर्जा १८ हजार २९५ जनालाई वितरण गरेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार विभिन्न ७ शीर्षकमा बैंकहरुले ३७ अर्ब ८३ करोड ९८ लाख ९३ हजार कर्जा प्रवाह गरेका छन् । 

किन पाएनन् सहुलियत कर्जा ?

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले उक्त शीर्षकमा सहुलियत कर्जा लिनेको संख्या कम भएको स्वीकार गरेका छन् । सरकारी कार्यक्रम भएका कारण कतिलाई वितरण गर्ने लक्ष्य थियो भन्नेबारेमा भने उनले यति नै ‘टार्गेट’ थियो भन्न राष्ट्र बैंक असमर्थ रहेको बताए । 

बाध्यकारी बनाउदै अर्थ मन्त्रालय 

अर्थ मन्त्रालयले सहुलियत कर्जालाई बाध्यकारी बनाउने तयारी । बैंकहरुले अपेक्षा अनुरुप सहुलियत कर्जा प्रदान नगरेको र विपन्नलाई लक्षित गर्दै ल्याईएको यो कार्यक्रम प्रभावकारी हुन् नसकेकोले बाध्यकारी नीति ल्याउने तयारीमा मन्त्रालय पुगेको हो ।

मन्त्रालयका प्रबक्ता उत्तर कुमार खत्रीले गत आर्थिक वर्ष न्युन मात्रामा सहुलियत कर्जा वितरण भएपछि यसवर्ष भने बैंकलाई यस्तो कर्जा प्रवाह गर्न बाध्य बनाउने गरि नीति ल्याउन लागिएको बताए । केही दिनमै वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले अनिवार्य प्रवाह गर्नुपर्ने सहुलियत कर्जाको सिमा तोकिने खत्रीको भनाई छ । बाध्यकारी नीति आएपछि चालु वर्षदेखि भने सहुलियत कर्जा लिनेको संख्या बढ्नेमा राष्ट्र बैंक विश्वस्त छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved