रवि लामिछानेसँग आज अदालतमा बयान लिइँदै, हिरासतबाट छुट्लान् त, के भन्छन् उनका वकिल ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 09:02:32 AM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार शालिकराम पुडासैनी निधन प्रकरणमा आज चितवन अदालतमा सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलसँग बयान लिइँदैछ । दुवैजनालाई बिहान १० बजे अदालतमा उपस्थित गराइँदैछ ।आइतबार आरोपी रुकु भनिने अस्मिता कार्कीसँग बयान लिइएको थियो । बयान सकिएपछि थुनछेकको बहस हुने चितवन जिल्ला अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले बताए । थुनछेकको बहस सकिएपछि रविसहित तीनैजनालाई छाड्ने कि नछाड्ने भन्नै अदालतको आदेश आजै आउने बताइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले रविसहित तीनैजनालाई आइतबार पाँच वर्ष कैद र ५० हजार जरिवाना मागसहित अभियोग पत्र दर्ता गरेको छ । पुडासैनी निधन प्रकरणमा रविले आफ्नो संलग्नता नरहेको जिकिर गर्दै आएका छन् । प्रहरीसँग पनि बलियो र यथेष्ट प्रमाण नभएको उनका वकिल राजु थापाले बताएका छन् । उनका अनुसार रविसहित तीनैजना आज धरौटीमा रिहा हुने सम्भावना धेरै छ ।

रवि लामिछानेका समर्थकहरूले विगत १० दिनदेखि भरतपुरमा जुलुस निकाल्दै आएका छन् । सो क्रममा प्रहरी र प्रदर्शकारीबीच पटक–पटक झडपको स्थिति सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी जम्मा हुन नपाउने गरी भरतपुरका विभिन्न स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क बमोजिम सोमबार बिहान ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।

आज चितवन बन्द – सोमबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवन बन्दको घोषणा गरेको छ । बन्दको सामान्य प्रभाव परेको देखिएको छ । चितवनको राप्ती नगरपालिकामा उक्त दलले बनाएको प्रतीक्षालय प्रहरीले भत्काइदिएको विरोधमा चितवन बन्दको घोषणा गरिएको बताइएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved