लोकन्थलीमा पहिरोले सडक भासियो, ६ घर उच्च जोखिममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 08:22:59 AM मा प्रकाशित

laxmi  sunrise bank

मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनः पहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै ६ घर उच्च जोखिममा परेको छ । मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्यांकी निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भए पनि त्यस स्थानमा पुनः पहिरो गएको हो ।

पानीट्यांकी निर्माणका लागि खाडल खन्दा ३ गते राति पहिरो जाँदा १६ फिट चौडाइ रहेको करिब ४० मिटर कालोपत्र सडक पूरै बगाउँदा यहाँका यातायात अवरुद्ध भएको थियो भने अहिले थप सडकमा क्षति पुग्ने जोखिममा रहेको छ ।

पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घरलाई उच्च जोखिममा पारेको हो । पहिरो दुई वटा घरको जगमा पुगेको छ भने ती घरका सामान अन्यत्र सार्नुका साथै बासिन्दासमेत अन्यत्र बसी घर खाली गरेको छ ।

खानेपानी समस्या समाधान गर्न सरकारको रु एक करोड ३२ लाखको लागतमा वडा नं १ को भिरालो सार्वजनिक जग्गामा पाँच लाख लिटर क्षमताको ट्यांकी बनाउने क्रममा पहिरो गएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए ।

३ गतेको पहिरोमा चर्काएको ठाउँमा पहिरो रोकथामको प्रयास भइरहँदा त्यससँगै पश्चिमतर्फ पनि आज पुनः पहिरो गएको उनले जानकारी दिए । यहाँका घर र पूर्व तथा पश्चिमको कालोपत्र सडकसमेत पहिरोमा भासिने जोखिममा रहेको बताउँदै उहाँले ३ गते भएको सहमतिअनुसार तत्कालै संरक्षणमा नलागे ठूलो जोखिम व्यहोर्नुपर्ने बताए ।

३ गते पहिरो गएको ठाउँमा पहिरो रोकथामका लागि मध्यपुरथिमि नगरपालिकाले टेवा पर्खाल लगाउन शुरु गरे पनि अर्को ठाउँबाट पुनः पहिरो जान थालेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved