कर्मचारी संचय कोषको काठमाण्डौ मल भाडा लिने कोहीपनि नभएपछि दोस्रो पटक सिलबन्दी बोलपत्र ‘टेण्डर’ आह्वान गरिएको छ। राजु गोर्खालीले गत पुषबाट छाडेदेखि कोष आफैंले संचालन गर्दै आएको काठमाण्डौ मल भाडामा लिनलाई यस अघि भदौ २५ सम्म मिति राखेर ‘टेण्डर’ आह्वान गरिएको थियो।
साउन २६ देखि भदौ २५ सम्मको लागि खुला गरिएको टेन्डरमा ६ जनाले फर्म लगेपनि कसैले आब्हान नगरेको कोषका भवन बिभाग प्रमुख भरत वस्तीले बिजपाटी डटकमलाई जानकारी दिएका छन। दोस्रो पटकको टेन्डरका लागि पनि मासिक न्युनतम भाडा १ करोड ७ हजार १४ रुपैयाँ कायम गरिएको छ। सटर भाडामा लगाउने काम झण्झटिलो भएपछि एकमुष्ट भाडामा दिने तयारी गरिएको हो।
बिगतमा ए र बि गरि दुवै ब्लक भाडामा लगाउदै आएको कोषले अहिले ‘ए’ ब्लकका लागि मात्र टेन्डर आह्वान गरेको हो। ‘बि’ ब्लक तर्फको सटरहरु धरहरा निर्माणको लागि भत्काउने भएपछि ‘ए’ ब्लकको लागि खुला गरिएको हो।दुबै ब्लक गरेर साढे दुई सय हाराहारीमा सटर छन। एक ब्लकतर्फको जम्मा क्षेत्रफल एक लाख ५ हजार ४३३ वर्गफिट छ।
इच्छुक व्यक्ति तथा फर्मले असोज १६ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न सक्ने छन्। आवेदन परेको बोलपत्र असोज १७ गतेनै खोलिने कोषले जनाएको छ। बोलकबोल दाखिल गर्ने व्यक्तिले आफुले बोलकबोलको अन्तिम मितिले तीन महिना भित्रमा बैंक ग्यारेन्टी बुझाउनु पर्ने छ।
इच्छुक व्यक्ति वा फर्मले न्युनतम मूल्यभन्दा माथिको मूल्यका लागि बोलकबोल गर्नुपर्नेछ। यसअघि राजु गोर्खालीलाई २०७३ माघ ६ देखि १५ बर्षको लागि काठमाण्डौ मल भाडाको लागि दीइएपनि यस पटक ५ वर्षको लागि भाडामा दिने कोषले जनाएको छ।
संचालन गर्न नसकेपछि ब्यापारी राजु गोर्खालीले २०७५ मङ्सिर १३ देखि काठमाडौं मल छाडेका थिए। उनले मासिक २ करोड ७१ लाख तिर्ने गरि काठमाडौं मल संचालनको जिम्मा लिएका थिए। त्यो बेला एक ब्यापारीले काठमाडौं मलबाट मासिक ३ करोड २५ लाख भाडा उठाउने गरि टेन्डर हात पारेपनि पछि संचालन नगरेपछि दोस्रो नम्बरमा रहेका गोर्खालीले टेन्डर हात पारेका थिए। यद्दपी संचय कोषले गोर्खालीबाट अझैं पनि २०७५ पुष सम्मको २२ करोड भाडा लिन बाँकी नै रहेको छ।
काठमान्डू मलका ब्यापारिहरु भने कोषले नै संचालन गर्नुपर्ने बताउदै आएका छन। राजु गोर्खालीले पहिले तिर्दै आएको भन्दा ४-५ गुणा बढी भाडा उठाएको भन्दै आन्दोलित बनेका ब्यापारिहरु अहिले कोषले संचालन गर्दा सजिलो र सस्तो भएको धारणा व्यक्त गरेका छन।
काठमान्डू मलका ब्यापारी संघका अध्यक्ष शिब प्रसाद ढकालले फेरी टेन्डर आब्हान हुँदा त्यहाँका व्यवसायीहरु आतंकित भएको बताएका छन। 'कोषले कम्पनी खडा गरेर आफै चलाउने तयारि थालेको खबरले हामीहरु खुसि थियौं, अब फेरी टेन्डर कसले पार्ने हो, कति भाडा उठाउने हो भन्ने कुराले फेरी पिरोल्न थालेको छ' उनले भने।
काठमान्डू मलमा सटर किनेर ब्यापार गर्नु ठुलो भुल भएको भन्दै एक सटरवालाले बिजपाटीलाई भने, 'बरु अन्त काम गरेको भए महिनामा १५-२० हजार तलब पाइन्थ्यो तर यहाँ त कहिले कसले टेन्डर लिने हो र रातारात भाडा कति गुणाले बढाउने हो कुनै ठेगान नै भएन, संचय कोषले टेन्डरको नाममा कालो धन्दा चलाएको छ, आफैले चलाउन नसके अरुलाई बेचे हुन्छ तर जति पनि भाडा उठाउन पाउने गरि टेन्डर खोल्दा हामि मारमा परेका छौँ।'