संविधान दिवसका अवसरमा विभिन्न मानपदवी, अलङ्कार र पदकद्वारा विभिन्न व्यक्तिहरुलाई विभूषित गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्नेछिन् ।
सरकारको सिफारिसअनुसार महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) दिवङ्गत साहित्यकार मदनमणि दीक्षित र दिवङ्गत तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई प्रदान गरिने भएको छ ।
सुप्रबल जनसेवाश्री (प्रथम) श्रेणीबाट प्रा. डा. दिव्यासिंह शाह, दिवङ्गत पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा तथा पाँच विदेशी प्राध्यापकलाई विभूषित गरिनेछ ।
राष्ट्रपति कार्यालयका अनुसार उज्ज्वल कीर्तिम राष्ट्रदीप (द्वितीय) बाट उच्चस्तरीय प्रशासन सुधार आयोग कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललाई विभूषित गरिने छ ।
दिवसकै अवसरमा विभिन्न पेशाकर्मी, व्यवसायी, कर्मचारी र सुरक्षाकर्मी गरी ६३४ व्यक्तिलाई विभूषित गरिने घोषणा गरिएको छ ।