बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 22, 2019 | 03:21:48 PM



काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले  २ दिन बिराएर पानी वितरण गर्न थालेको जनाएको छ ।   केयुकेएलले महांकाल, महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्यांकीमा जम्मा भएको पानी २ दिन बिराएर वितरण गर्न थालेको हो । 

खानेपानी मन्त्री बिना मगरको निर्देशनमा केयुकेएलले काठमाडौंका मुख्य ठाउँहरुमा पानीको वितरणलाई तीव्रता दिएको हो । वर्षातको समयमा बाग्मतीमा पानीको बहाव बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको केयुकेएलका कम्पनी सचिव मिलन शाक्यले जानकारी दिए ।

पुरानै वितरण लाइनबाट पानीको आपूर्ति भईरहेको कम्पनी सचिव शाक्यले बताए । पुरानै लाइनबाट पानीको आपूर्ति गर्दा चुहावट हुने सम्भावना भएकाले नजिकका केयुकेएलका शाखा कार्यालयहरुमा खबर गर्न समेत केयुकेएलले सबैलाई आग्रह गरेको छ ।

‘यसपालीको वर्षात्मा बाग्मतीमा पानी बढेकाले उक्त पानीलाई प्रशोधन गरी वितरण गरिएको हो ।’ कम्पनी सचिव शाक्यले भने , ‘५–६ दिन बिराएर वितरण गर्दै आईरहेको पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ । वर्षात्का कारण काठमाडौंका मुख्य ठाउँहरुमा अहिले पानीको समस्या कम हुँदै जान थालेको र प्रत्येकको घरमा पानीको आपूर्ति सहज भईरहेको छ ।’

केयुकेएलका अनुसार महांकालचौर स्थित पानी ट्यांकीमा दैनिक डेढ करोड लिटर पानी थपिंदै गएको छ । महांकालचौर शाखाको पानी अहिले चावहिल, कपन, मैजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, न्युरोड र कमलादीमा वितरण हुँदै आईरहेको छ । शाखा प्रमुख उमेश मरहट्टाले महांकालचौरबाट ९० हजार धाराहरुमा पानी वितरण हुँदै आएको जानकारी दिए  ।

त्यसैगरी महाराजगञ्जस्थित पानी ट्यांकीमा अहिले दैनिक ४५ लाख लिटर पानी थपिएको शाखा प्रमुख रमेश के.सीले जानकारी दिए  । महाराजगञ्ज शाखाबाट चक्रपथ महाराजगञ्ज, लाजिम्पाट, गैरीधारा, कपुरधारा, रानीबारी, सामाखुसी र असनमा पानी हुने गर्दछ । यस क्षेत्रका ८ हजार धारामा पानी वितरण गरिंदै आएको शाखा प्रमुख के.सीले बताए  ।

केयुकेएलका अनुसार नयाँ बानेश्वरको मीनभवन स्थित पानी ट्यांकीमा अहिले दैनिक २५ लाख लिटर पानी थपिएको छ । मीनभवन शाखाबाट नयाँ बानेश्वर, तीनकुने, शंखमुल बुद्धनगर, थापागाउँ र मध्य बानेश्वर क्षेत्रमा पानी वितरण हुँदै आईरहेको छ । यस क्षेत्रमा करिब १० हजार धारामा पानी आईरहेको शाखा प्रमुख नारायण कर्णले जानकारी दिए ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7