भारतीय अर्थमन्त्रीसँग खतिवडाले उठाए प्रतिबन्धित भारु नोटको विषय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2019 | 07:03:19 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडा र भारत सरकारका वित्त मन्त्री श्रीमती निर्मला सितारमण बीच भारतको वित्त मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आएको अवसरमा दुई देशका अर्थ मन्त्री बीच भेट भएको हो ।

भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडाले  नेपालको विकासका लागि भारत सरकारवाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद दिदै द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल गरे । अर्थमन्त्री  डा. खतिवडाले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्था बारे जानकारी गराए । उनले भूकम्प पछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने सहुलियतपूर्ण ऋणलाई पूर्वाधार क्षेत्रमा समेत उपयोग गर्ने गरी तय गरिएका आयोजनाहरुको विषयमा जानकारी गराए । साथै, साना विकास अनुदान आयोजना, हुलाकी सडक, एकीकृत चेक पोष्टको कार्यान्वयन अवस्था बारेमा जानकारी गराए । नेपाल इन्फ्रास्टकचर बैंक लिमिटेडमा भारतीय लगानीकर्ताबाट समेत इक्विटीमा लगानी गर्नका लागि प्रकृया अघि वढेको जानकारी दिंदै सो कार्य अघि वढाउन अनुरोध गरे ।

अर्थमन्त्री डा. खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गर्न अनुरोध गरे । साथै, भारतबाट नेपालतर्फ जाने व्यक्तिहरुले आपूmसँग लैजान पाउने ठुला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा द्धिविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सुचना जारी गरिदिन समेत अनुरोध गरे ।

अर्थमन्त्री डा. खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धि लगायतका विषयमा समेत छलफल गरे। नेपालको वैदेशिक व्यापारको दुईतिहाई हिस्सा भारतसँग भएको उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले बढ्दो व्यापार घाटा सम्बोधन गर्न भारत सरकारबाट पनि सहयोग प्राप्त हुने अपेक्षा गरे ।

भारतका वित्त मन्त्री श्रीमती निर्मला सितारमणले नेपाल भारत बीचको सम्बन्ध सदियौ देखि भएको उल्लेख गर्दै आगामी दिनमा सहायतालाई बढाउने जानकारी गराईन । उनले भारतीय सहयोगमा सञ्चालित आयोजना तथा विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने बताईन । साथै, नेपाल भ्रमणका लागि निमन्त्रणा गरेकोमा अर्थमन्त्री डा. खतिवडालाई धन्यवाद दिदै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी गराईन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved