चिनियाँ राष्ट्रपती सी जिनपिङको स्वागत तयारीमा काठमान्डूको 'मुहार' एकाएक फेरिएको छ। विकासका काममा बिश्वलाई आश्चर्यमा पार्दै आएको चीनका राष्ट्रप्रमुखको नेपाल भ्रमणको पुर्व सन्ध्यामा काठमान्डूले रातारात मुहार फेरेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्रमोदीको स्वागतमा दुलही झैं सिंगारिएको काठमान्डूको तिनकुने बीचमा उजाड बनेको थियो। तर चीनियाँ राष्ट्रपति सीको स्वागतमा काठमान्डूको तिनकुने फेरी एकपटक दुलही झैं सिंगारिएको छ।
मोदी आउँदा नेपालका भ्रमणका गन्तब्य तथा ऐतिहासिक स्थानहरुको तस्विरले सजिएको तिनकुने अहिले भने रुख बिरुवाले हराभरा बनेको छ। अहिले बिरुवा रोप्ने र दुबो छाप्ने काम भईरहेको छ। सी त्रिभुवन विमानस्थलबाट ओर्लिएर अगाडि बढ्दै गर्दा यो केहि दिन टिक्ने यो 'हरित पार्क' ले उनको स्वागत गर्नेछ।
विदेशका भीआईपी पाहुना आउँदा मात्र सुन्दर देखिने काठमान्डूको तिनकुने अन्य समयमा भने अलपत्र पारिएको ठाउँ जस्तो देखिने गर्दछ। सरकारले नेपालकै नमुना पार्क बनाउने भनेपनि बर्षौंबित्दा समेत तिनकुने चोकलाई अलपत्र छाडिएको छ।
त्यस्तै हिजोसम्म खाल्डैखाल्डा सडक र बेरंग सडकहरु सीको स्वागतमा चिल्ला र नयाँ बनेका छन। मान्छे हिड्न अप्ठ्यारा हुने सडक पेटीसमेत अहिले रंगिएका छन।
राष्ट्रिय मुद्दादेखि व्यक्तिगत मुद्दासम्मका लागि आन्दोलनको रोजाईमा पर्ने माइतीघर समेत सजिने क्रममा रहेको छ। अरुबेला आन्दोलनकारीको भिड, पर्चाले अस्त ब्यस्त र 'ध्वस्त' रहने माइतीघर समेत सीको स्वागतमा सजिएको छ।