महराको बयान दशैंपछि मात्र, सिंहदरबारमै राखियो किन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2019 | 09:29:03 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान दशैँपछि मात्र हुने भएको छ। अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्र बयान सुरु हुने काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जनाएका छन। 

दशैंपछि अदालत खुल्ने र म्याद थप सरकारी वकिलको रोहबरमा बयान लिईने एसपी उत्तमराज सुवेदीले बताए। 'अर्को सोमबार अदालत र  सरकारी वकिलको कार्यालय खुलेपछि अदालतमा हाजिर लगाउने, बयान लिने काम सुरु हुनेछ' उनले भने।

अदालतमा दशैंको विदा २६ गतेसम्म छ। तर पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते पनि विदा दिइएको छ। यसर्थ असोज २८ गतेबाट मात्र महरासंग बयान लिने काम सुरु हुनेछ।

महरालाई सिंहदरबारमा राखीएपनि घटनाको मुद्दा भने काठमाडौं प्रहरी परिसर, टेकुबाटै चल्नेछ। टेकुमा प्रहरीको अस्थायी बसाई भएकाले सिंहदरबारमै राखिएको काठमाण्डौ प्रहरी परिसरले जनाएको छ।   

पूर्वगृहमन्त्री समेत रहेका महरा संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा आइतबार साँझ सभामुखको सरकारी निवासबाटै पक्राउ परेका हुन। 

महारामाथिको आरोप 

महराविरुद्ध संसद् सचिवालयमा कार्यरत शाहीले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले शनिबार महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी हुन्। 

उनले असोज १२ गते राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। यद्दपी उनले आफ्नो भनाईमा अडान लिन सकेकी छैनन्। पहिलो भिडियोमा उनले आफूलाई महराले बलात्कार गरेको दाबी गरेकी थिइन्। र, दोस्रो भिडियोमा महरा 'बाबुसमान रहेको' भन्दै महरामाथि लागेका सबै आरोपलाई 'षड्यन्त्र' भनेकी थिइन्।

शाहीले महरा 'बाबुसमान' भनेको अन्तर्वार्ता सार्वजनिक भएपछि पहिलो भिडियो सार्वजनिक गर्ने नेपाली कांग्रेसको मुखपत्रको उपमा पाएको मिडियाले पुन: अर्को भिडियो सार्वजनिक गरेको थियो। जसमा महरा र आफूबीच भएका च्याट, म्यासेजहरूलाई शाहीले आफूमाथि दुर्व्यवहार भएको पुष्टि गर्ने प्रमाणका रुपमा देखाएको दृश्य देखाइएको छ।   

महराका विकल्प 

सभामुख निवासबाटै पक्राउ परेका महरासंग प्रहरी हिरासतमा बसेर न्यायालयसमक्ष आफूविरुद्ध लागेको आरोपको कानुनी प्रतिरक्षा गर्नु बाहेक तत्काल अन्य कुनै विकल्प देखिदैन। अर्थात महरासंग आफुलाई लगाइएको बलात्कारको आरोपको कानुनी प्रतिरक्षा गर्ने अधिकार सुरक्षित छ। 

आरोप प्रमाणित भए के हुन्छ ?

महरासंग निर्दोष साबित गर्ने प्रशस्त मौका छ। तर दोषी ठहर भए उनले कैद सजाय भोग्नुपर्ने निश्चित छ। कैद सजाय भोग्नुपर्ने भएपनि त्यसको अवधिमा भने फरक पर्नेछ। 

नेपालको कानुनी व्यवस्थाअनुसार जवर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद हुन्छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।

पिडित भनिएकी महिलाले पहिलो भिडियोमा आफुलाई बलात्कार गरेको आरोप लगाएकी छन भने उजुरी दिंदा बलात्कारको प्रयास गरेको भन्ने छ। यसर्थ यसलाई 'अपराध पूरा नभएको तर प्रयास गरेको' अवस्थाको रुपमा लिईन्छ। दफा ३४ मा यस्तो अवस्थामा आधा सजायँ हुने व्यवस्था छ। 

बलात्कार कसूरमा ७ देखि १० वर्ष सजायँ हुने भन्ने छ। यद्दपी बलात्कारको प्रयास गरेको अवस्था पुष्टि भएमा महरालाई साढे ३ देखि ५ वर्ष सजायँ हुन सक्छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved