चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फर्किदा विमानस्थल बन्द हुँदा ९ वटा अन्तराष्ट्रिय उडानबाट आएका जहाज आकाशमै रोकिएका छन् । काठमाडौं विमानस्थलमा अवतरण हुन लागेका ९ कम्पनीको जहाज आकाशमै होल्ड भएका हुन् ।
सीको स्वदेश फीर्ताको लागि तय भएको समयसिमा डेढ घण्टा ढिला भएपछि काठमाडौं अवतरण हुने जहाज आकाशमै होल्ड भएका हुन् । आइतबार विहान ११ः२० बजेदेखि दिउँसो १३ः५० बजेसम्म विमानस्थल बन्द गरेको थियो । दिउँसो १ः२० मा हुने भनिएको सीको उडान करिब २ः०० बजे मात्रै भएको हो ।
यसकारण दिल्ली, दोहा, दुवई लगायत विभिन्न मुलुकबाट काठमाडौँ आएका थाइ, हिमालयन, फ्लाई दुवई, इण्डिगो लगायत वायुसेवा कम्पनीका जहाज होल्डमा बसेका हुन् । सबैभन्दा बढी हिमालय एयरलाइन्सको जहाजले आकाशमै ६ फन्को लगाएको छ ।
अहिले जहाज अवतरण भईरहेको विमानस्थलले जनाएको छ ।