राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साहले जनकपुरधाम विमानस्थलमा तोडफोड गरेका छन् । जहाज ढिलो आएको भन्दै उनले विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गरेका हुन्।
बिहान ११ः४० मा जहाज आउनु पर्नेमा दिउँसो १:३० सम्म पनि नआएपछि उनले आक्रोशित भएर काउन्टरमा लात हानेको स्वीकार गरेका छन् । जहाज ढिलो आउँदा एक विरामीलाई समस्या भएपछि आवेगमा आएर तोडफोड गरेको उनले बताए ।
साथै विमानस्थलको विशिष्ट कक्षमा राति देखिकै प्लेट र फोहोर ग्लासहरु यत्रतत्र छरिएको अवस्थामा रहेको र पटक–पटक जनकपुर विमानस्थलको अवस्थाबारे गुनासो गर्दा पनि सरोकारवालाले कुनै वास्ता नगरेको कारण पनि आफु आक्रोशमा आएको उनले बताए ।
साहले लात हान्दा गर्दा काउन्टरको सिसा फुटेको छ।
बुद्ध एयरका व्यवस्थापक प्रमुख विजयकुमार सिंहले काठमाडौँ विमानस्थलकै प्राविधिक कारणले विमान ढिलाइ भएको स्पष्ट पारेका छन् । उनले यस विषयमा सबै यात्रुलाई जानकारी गराए पनि सांसद शाह एक्कासी तोडफोडमा उत्रिएको बताए।
तोडफोड गरेका सांसद शाहलाई सुरुमा बुद्ध एयरले विमान प्रवेश मै रोक लगाएको थियो । प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले फोन संवादपछि सांसद विमान चढेर काठमाडौ आएका छन्। शाह सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् ।