गायक दुर्गेश थापाले गाएको ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत विवादमा तानिएको छ । तिहारका लक्षित उनको यो गीतमा प्रयोग भएका शब्दका कारण दुर्गेश विवादमा तानिएका हुन् । ‘ह्याप्पी तिहार, चिसो वियर’, ‘ए निकाल गाँजा, खानुपर्छ आज’ लगायतका केही अंश निकै विवादित बनेका छन् । ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश त कानूनी रुपमै विवादमा तानिएको छ ।
गाँजा कानुनी रुपमै प्रतिबन्धित नशालु पदार्थ हो । तर त्यही गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । उजुरीपछि प्रशासनले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई थापालाई झिकाउन निर्देशन दिएको छ । थापाको खोजी भइरहेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
गायक थापा तिनै व्यक्ति हुन्, जो तीजमा ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ बोलको गीत गाएर चर्चित बनेका थिए ।