एनालग टिभी बन्द गर्ने सरकारको योजनामा व्यवसायीको ठाडो चुनौती, निर्णय कार्यन्वयन कति सम्भव ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 14, 2017 | 12:25:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सूचना तथा संचार मन्त्रालयले आज अर्थात कात्तिक २७ देखि एनालग टेलिभिजन बन्द गरिएको सूचना जारि गरेको छ। बैशाख १५, २०७४ मा सूचना जारि गरेर नै मन्त्रालयले कात्तिक १५ देखि देशका महानगर, उपमहानगर र नगरपालिकामा एनालग पूर्ण रुपमा बन्द गरि डिजिटल प्रविधिमा जाने निर्णय  भएपनि कात्तिक २८ सम्म म्याद दिएको थियो  

सरकारले एक साता अघि  सूचना जारी गरी केबल टेलिभिजन महासंघहरुलाई आआफ्नो महासंघभित्र रहेका टेलिभिनजहरुलाई कात्तिक २८ गतेदेखि एनालग टेलिभिजन बन्द हुने सूचना स्क्रोलिङ गरिदिन पनि आग्रह गरेको थियो। 

कात्तिक २८ देखि एनालगमा जान जारी गरेको निर्देशन अहिले कार्यन्वयन भईनसकेको अवस्था छ। 'आजदेखि एनालग केबल टेलिभिजन प्रशारण बन्द नगर्ने केबललाई हामी स्वीच अफ नै गर्ने हो' सूचना तथा सञ्चार मन्त्रालयकी उपसचिव विष्णुकुमारी भट्टराई भनिन,  'हामीले पहिलोपटक सूचना जारि गरि अकस्मात स्विच अफ गर्छौं भनेका होइनौ, बैशाख १५ मा नै कात्तिक १५ सम्म  एनालगबाट डिजिटलमा जानुपर्छ भनेका थियौं, कात्तिक २८ सम्म आइपुग्यो  अब मन्त्रालयको निर्देशन मान्नुको बिकल्प छैन।' 

'अध्ययन र अनुगमन बिना नै सूचना निकालेको भरमा स्विच अफ गर्नु व्यवहारिक हुन्छ ?' भनि गरेको प्रश्नमा उपसचिव भट्टराई भन्छिन, 'कहाँ कहाँ एनालग बन्द हुने भन्ने बारे हामीले लिखित रुपमा नै जानकारी गराएका छौं, ठाउँ पनि तोकेका छौ  गाउँपालिका तथा दुर्गमका ठाउँहरुमा २०७५ बैशाख १५ सम्मको म्याद दिएका छौं।'

राज्यले स्विच अफ गरिदिने अनि केवल व्यवसायीहरुबाट निर्देशन पूर्ण कार्यन्वयन नभयको अवस्थामा परिस्तिथि कस्तो हुन्छ भन्ने हाम्रो जिज्ञासामा    भट्टराई भन्छिन, 'एनालगबाट डिजिटलमा जानुको बिकल्प छैन, एनालग केबल टेलिभिजन प्रशारण बन्द नगर्ने केबललाई हामी भोलि गएर स्वीच अफ नै गर्ने हो, परिवर्तन स्वीकार गर्न गाह्रो हुने भएपनि यो सबै कुरा बिस्तारै सहज हुने अपेक्षा छ।' 

यता केवल टेलिभिजन संघलेले भने सरकारले आफुसंग गरेको सहमति र सम्झौताअनुसार काम नगरेको आरोप लगाएको छ। 'सरकारले सूचना निकालेर मात्र हुँदैन, काठमाडौं बाहिर तत्काल डिजिटलमा जान सकिन्छ कि सकिँदैन, कहाँ कहाँ जान सकिने अवस्था हो भनेर सामान्य अध्ययन तथा अनुगमन समेत गरिएको छैन' एसोसिएसनका  अध्यक्ष सुधीर पराजुलीले भने, 'तत्काल काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेक अन्य स्थानमा डिजिटलमा जान सक्ने अवस्था छैन।' 

'हातमा तालाचाबी छ भन्दैमा स्वीच अफ गर्ने हैन, सहमति र सम्झौताअनुसार अगाडि बढ्नुपर्छ, राज्य जबर्जस्ती अगाडी बढे हामि पनि त्यहि अनुसार नै तयारि गर्छौं' अध्यक्ष पराजुलीले भने, 'हामीले ७५ बाट दशैंको बीचमा ५० वटा र तिहारको बीचमा ३५ वटा च्यानलमा झारीसक्यौं, मङ्सिर अन्तिमसम्म राजधानी भित्र डिजिटलमा जान सक्छौं, त्यहि अनुसार क्रमश रुपमा राजधानी बाहिरका ठाउँहरुमा समेत डिजिटलमा जान्छौं, डिजिटलमा जाँदैनौ भनेका नै छैनौं।'

'राजधानी र तराईका केहि जिल्लामा त डिजिटलमा जान सम्भव होला तर पहाडका जिल्लाहरुमा एनालगबाट डिजिटलमा जान राज्यले भनेजस्तो सहज छैन' अध्यक्ष पराजुली भन्छन, 'धेरै ठाउँमा एकै पटक गर्दा एकातर्फ डब्बाको माग पुरा गर्नु पर्यो अर्को तर्फ जनशक्ति पनि त्यहि अनुसार हुनु पर्यो, राजधानीमा मात्र ६ देखि ८ लाख बक्स सेट अप गर्नुपर्ने हुन्छ, यसका लागि २४ सै घण्टा खटिएपनि समय त लाग्छ नि।'

'अप्टिकल फाईबर पुगेका ठाउमा त हामी पुगेर काम गर्छौ  तर पहाडका  जिल्ला जहाँ अप्टिकल फाईबर  पुगेको छैन, त्यहाँ जान त अर्को ५-६ महिना त लाग्छ नि' अध्यक्ष पराजुली भन्छन, 'राज्यले बेलैमा बुद्दी नपुर्याउने हो भने हिजो टेलिकमको सिम बाड्दा प्रहरीले लाठि चार्ज गर्नु परेको अवस्था नआउँला भन्न सकिने अवस्था छैन।' 

एसोसियसनमा अहिले ३६५ सदस्य केवल नेटवर्कमा छन्।  ति मध्ये ३ वटा कम्पनीले डिजिटजलमा जाने लाइसेन्स लिएका छन। त्यस्तै नेपालमा १२ वटा कम्पनीले डिजिटल केवल टेलिभिजन बाँड्न सक्ने अनुमति पाएका छन। 

सरकारले ०७१ मंसिर २१ गतेदेखि नै एनालग प्रविधिबाट सञ्चालित केवल नेटवर्कहरुलाई इजाजत दिने कार्य भने बन्द गरिसकेको भएपनि डिजिटल प्रविधिमा जान पुर्व तयारि नपुगेको केवल टेलिभिजन व्यवसायीहरुको गुनासो छ। 

सरकारले भनेजस्तो राता रात एनालग हटाएर डिजिटलमा जान पनि सहज छैन। यो जति कठिन छ त्यति नै खर्चीलो पनि छ। ग्राहकले सेटअप  बक्स, एन्टेनालगायत आवश्यक सामग्रीका लागि ३ हजार देखि ४ हजार ५०० लगानी गर्नुपर्नेहुन्छ। त्यसै गरि ब्यवसायीको हकमा भने दुई वटा च्यानल सञ्चालन गर्ने एउटा केवल टेलिभिजनका लागि कम्तिमा एक अर्ब र गुणस्तरीय सामान राखेर राम्रो सेवा दिने हो भने ५ अर्बसम्म खर्च लाग्ने बताइएको छ। 

अहिले नेपालमा कति टेलिभिजन छन त्यसको यकिन तथ्याक नभएपनि करिब ७५ लाख हाराहारी टेलिभिजन रहेको अनुमान छ। डिजिटल प्रविधिमा गईसकेपछी प्रत्येक टेलिभिजनको लागि एउटा सिस्टम हुनेछ। जसले गर्दा अहिले जस्तो एउटा केवलबाट ३-४ वटा टेलिभिजन चल्ने अवस्था हुनेछैन। 

यसले गर्दा एका तर्फ देशमा कति टेलिभिजन संचालनमा छन भन्ने तथ्यांक राज्यसंग हुनेछ भने राज्यले पाउने कर समेत उल्लेख्य रुपमा बढ्ने छ। नेपाललाई टेलिकम्युनिकेसन क्षेत्रको प्रवद्र्धन तथा नियमन गर्ने संस्था इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) को सदस्य राष्ट्र भएकाले समेत २०१७ को डिसेम्बरबाट एनालग प्रविधि खारेज गरि डिजिटल केवल टेलिभिजनमा जानु पर्ने बाध्यता छ।

एनालग प्रविधि के हो ? 

एनालग टेलिभिजन पुरानो प्रविधि हो । जहाँ एउटै केवलबाट धेरै टेलिभिजनमा टिभी हेर्न सकिन्छ। त्यसैले यस प्रविधिमा टेलिभिजनमा आउने च्यानल पनि न्यून गुणस्तरको हुनेगर्छ। बिकसित राष्ट्रहरुले सन १९५० को दशकदेखि यो प्रविधि हटाईसकेपनि नेपालमा भने आजका दिनमा पनि बहुसंख्यकको घरमा यहि पुरानो एनालग टेलिभिजन प्रविधिको प्रयोग व्यापक छ।     

के छ डिजिटल प्रविधिमा ? 

सेवा प्रदायकले डिजिटल हेडइन्ड राखी सोहीअनुरूपका ‘कन्डिसनल एक्सेस सिस्टम’ (सिएएस) र ‘सब्स्क्राइबर म्यानेजमेन्ट सिस्टम’ (एसएमएस)जस्ता सफ्टवेयर जडान गरी ग्राहकसमक्ष डिजिटल सिग्नलमा कार्यक्रम प्रसारण गर्ने प्रणाली नै डिजिटल प्रणाली हो । यसले ग्राहकको टेलिभिजनमा स्तरीय सेवा प्रसारण गराउ“छ । सफ्टवेयरमार्फत ग्राहकको सबै प्रकारका विवरण राख्ने तथा सफ्टवेयर र प्रणालीमार्फत अनुगमन तथा नियमन गर्न पनि सकिन्छ । नेपालमा डिटिएच, आइपिटिभी र डिटिटिबीलगायतका टेलिभिजन प्रसारण प्रणाली सुरुवाती चरणदेखि नै डिजिटल प्रविधिमा सञ्चालनमा छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved