मोहम्मद अज्मत अलि/बिजपाटी     Sep 16, 2018



ruslan ruslan

प्रविधिको विकाससंगै भुक्तानी प्रणालीको माध्यम समेत परिवर्तनको क्रममा छ। विश्वका बिकसित मुलुकहरु पेपरलेस भईसकेको अवस्थामा नेपाल लगायतका विकासोन्मुख देशहरुले त्यसलाई पछ्याउने क्रममा छन। 

पछिल्लो समय नेपालमा हरेक क्षेत्र डिजिटलाइज्ड हुँदै गर्दा अनलाइन मार्फत भुक्तानी गर्नेहरुको संख्या समेत बढ्दो क्रममा छ। केहि बर्ष अगाडीसम्म बैध र अबैध को बिबादमा रुमलिएको अनलाइन भुक्तानी 'पेमेन्ट गेटवे' सेवालाई नेपाल सरकारले कानुनि दायरामा ल्याएसंगै यसको प्रयोग उल्लेख्य बढेको छ। 

'पेमेन्ट गेटवे' सेवाको आवश्यकतालाई महसुस गरेर बर्षदिन अगाडी मात्रै नेपाल राष्ट्र बैंकले तीनवटा पेमेन्ट गेटवे सेवा प्रदायकलाई लाइसेन्स दिएको छ भने केहि लाइसेन्स प्राप्तिको पर्खाईमा छन। हालै मात्र अर्थमन्त्रालयले 'भुक्तानी तथा फर्स्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५' ल्याएको छ। हाल यो बिधयक समितिमा दफावार छलफलको क्रममा छ।

पेमेन्ट गेटवेले कानुनि मान्यता पाएसंगै यो सम्बन्धि सेवा दिंदै आएका कम्पनीहरुले आफ्नो सेवामा व्यापक सुधार गरेका छन भने हालै मात्र संचालनमा आएका नयाँ कम्पनीहरुले सेवाग्राहीलाई आकर्षण गर्न नयाँ नयाँ फिचर सहित अफर पनि ल्याएका छन। 

सबै कम्पनीले पेमेन्ट गेटवेको सेवा दिएपनि उनीहरुले दिने अन्य सुविधामा केहि भिन्नता छ। पाँचवटा पेमेन्ट गेटवे कम्पनी मध्ये कसबाट सेवा लिंदा बढी फाईदाजनक हुन्छ भन्नेबारे पाठकहरुलाई जानकारी दिन यो रिपोर्ट तयार गरेका छौँ।   

के हो अनलाइन पेमेन्ट गेटवे ?

पर्सको पैसाले कुनै बस्तु तथा सेवाको भुक्तानी गरिरहेकाहरुलाई प्रविधिको प्रयोग मार्फत अनलाइन मार्फत नै भुक्तानी गर्न मिल्ने माध्यमलाई सामान्यतया पेमेन्ट गेटवे भनिन्छ। यसलाई सिधा अर्थमा भन्नु पर्दा अनलाइन मार्फत भुक्तानीको माध्यम भन्नुपर्छ। 

बैंकबाट या अन्तबाट लिएको पैसा पर्स वा गोजीमा बोकेर आफ्नो दैनिक खर्च वा बिभिन्न बस्तु सेवाको बिल भुक्तानी गर्ने कामलाई अनलाइन मार्फत गरिनुलाई पेमेन्ट गेटवे भन्ने गरिन्छ। यस प्रविधि अन्तर्गत प्रयोगकर्ताको बैंक खाताको रकम ‘मोबाइल कोड नम्बर’ मार्फत दैनिक कारोबार मोबाइलबाटै गर्न सकिन्छ। यसो हुँदा गोजीमा नगद बोकेर हिँड्नुपर्ने झन्झट, खानेपानी, टेलिफोन लगायतका बिल तिर्न सम्बन्धित कार्यालय नै जानुपर्ने बाध्यताबाट मुक्त हुनुका साथै समय बचत हुन्छ।

ई-सेवा 

हाल संचालनमा रहेका मध्ये इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो। २०६६ सालमा मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा लिएर स्थापना भएको इसेवा आठौँ वर्षमा प्रवेश गरेको छ। 

सरकारले हालै मात्रै पेमेन्ट गेटवे को आवश्यकता महसुस गरेपनि इसेवाले पनि बिगत ८ बर्षदेखि नेपालमा अनलाइन भुक्तानीको सुविधा दिंदै आएको छ भने नेपालीहरुलाई अनलाइन मार्फत भुक्तानीबारे ज्ञान समेत दिंदै आएको छ। 

अनलाइन भुक्तानी सहित इसेवा नयाँ नयाँ सेवाहरु थप गर्दै अगाडी बढिरहेको छ। सेवा मार्फत् मोवाइल रिचार्ज, टपअप, बिजुली, खानेपानीको बिल भुक्तानी, एयरलाइन्स, बस टिकट, मुभी टिकट खरिद, होटल बुक, सपिङ जस्ता सय भन्दा बढि सुविधा लिन सकिने इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलिले बताए। 





'नेपालमा पेमेन्ट गेटवेको सेवाको सुरुवात गरेको नै इसेवाले हो,हामीले आवश्यकता अनुसार नयाँ नयाँ सेवाहरु थप गरिरहेका छौँ, अब हरेक पसलमा इसेवा पेमेन्ट लिएर आउदैछौं' -अस्गर अलि, सीईओ, इसेवा


नेपालका करिब सबै बैंक मार्फत इसेवामा फण्ड ट्रान्सफर हुन्छ। नेपालको सबै भन्दा पुरानो मोबाइल वालेटको रुपमा चिनिने इसेवाका एजेन्ट संजाल नै ३६ हजार भन्दा बढी छ र बैंकिङ नेटवर्क ४२ वटा छन। ठुलो संजाल भएकाले पनि सेवाग्राहीले देशभरको कुनै पनि ठाउँबाट पैसा लोड गर्न सक्ने अलिको भनाई छ। उनका अनुसार इसेवाका ग्राहक संख्या ६ लाख ५० हजार छन।

धेरै सेवाहरुको भुक्तानी गर्न मिल्ने भएकाले सेवाग्राहकको संख्या बढिरहेको बताउदै सीईओ अलिले आफुहरुले ग्राहकको समस्या तत्कालै समाधान गर्नका लागि २४ सै घण्टा आफ्नो टिम तयारि अवस्थामा रहने बताए। पेमेन्ट गेटवेको सेवालाई अपग्रेड गर्ने क्रमलाई निरन्तरता दिंदै आगामी दिनमा इसेवाले कियुआर (कर) कोड पेमेन्ट लिएर आउन लागेको अलिले बताए।   

इसेवाले आफुलाई आउने कमिशन सेवाग्राहीलाई नै दिंदै आएको छ। जस्तै १०० रुपैयाँको रिचार्ज गर्दा ग्राहकले बजारमा १ सय रुपैयाँ नै तिर्नु पर्ने हुन्छ तर इसेवा मार्फत रिचार्ज गर्दा ९८ रुपैयाँ तिर्नु पर्दछ। कमिशन बापत आउने त्यो २ रुपैयाँ ग्राहकलाई नै पाउने अलिको भनाई छ। एयरलाइन्सको टिकटमा आउने कमिशन समेत आफुलाई नराखी ग्राहकलाई नै दिदै आएको उनको भनाई छ।


आइपे 

इसेवा पछि संचालनमा आएको अर्को पेमेन्ट गेटवे हो आइपे डटकम। करिब ५ बर्ष अघि सन २०१२ देखि संचालनमा आएको आइपेले समेत विद्युतीय भुक्तानीको सेवा दिंदै आएको छ। 

मुन्चा हाउसद्वारा संचालित आइपेसंग हाल ५५ हजार रजिस्टर्ड ग्राहक छन भने २००० भन्दा बढी एजेन्टहरु मार्फत अनलाइन पेमेन्ट गेटवे सेवा प्रदान गरिरहेको छ। 




'सेवाहरु थप गर्ने क्रमलाई निरन्तरता दिंदै इभेन्ट्स, फुड अर्डर, सपिङ लगायतका सेवाहरु थप्दैछौं, नयाँ फिचरहरु राखेर अपग्रेडेड एप्स लन्चको तयारिमा छौं' -बिजेन्द्र चापागाई , सीईओं, आईपे 



दैनिक ५० देखि १०० को संख्यामा सेवाग्राहीहरु थपिने क्रममा भएको बताउदै चापागाईले मुन्चा हाउसले ल्याएको मुन्चा ट्राभल र मुन्चा डटकम लगायतका सेवामा आइपे जोड्ने क्रममा रहेको बताए।  

खल्ती डटकम

पछिल्लो समय पेमेन्ट गेट वे सेवा प्रदायकमा बजारमा आक्रामक रुपमा सेवा बिस्तार गरिरहेको कम्पनी हो खल्ती डटकम। डिजिटल खल्तीको अवधारणामा प्रेरित भएर सेवाग्राहीलाई पेमेन्ट गेट वे को सेवा दिइरहेको खल्ती डटकमसंग अहिले ५ लाख ग्राहक छन। 

रजिष्टर्ड ग्राहक मध्ये धेरै जसो सक्रिय सेवाग्राही रहेको खल्ती का निर्देशक अमित अग्रवालले बताए। अहिलेसम्म १४ वटा बैंकहरु मार्फत खल्तीमा फन्ड ट्रान्सफर गर्ने सुविधा रहेकोमा यो संख्या अझ बढ्ने र सेवाग्राहीलाई सहज हुने बताए।   

'खल्तीबाटै टेम्पो, माइक्रो र बस को भाडा तिर्ने, चिया तथा खाजा को पैसा तिर्ने, साथै किराना पसलबाट सामान किन्दा खल्तीबाटै तिर्न मिल्ने जस्ता सुविधा पनि थप्नु पर्‍यो भन्ने जस्ता सुझाव पाइरहेका छौँ' अग्रवालले भने, 'खल्ती मार्फत तिर्न मिल्ने सेवाहरु अहिले तुलनात्मक रुपमा थोरै छ, तर सेवा सुविधाहरु थप्ने क्रममा छौं'। खल्तीबाट अहिले सिमित सेवाहरु मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ को मात्रै भुक्तानी गर्न सकिन्छ।  

खल्ती चलाउन एकदमैसजिलो बनाएको दाबि गर्दै अग्रवालले मोबाईल एप खोलेर दुइ ट्याप मै मोबाईल रिचार्ज गर्न सकिने बताए। उनका अनुसार  अन्य सेवाको भुक्तानी गर्ने प्रकृया पनि सजिलो छ र खल्ती बाट भुक्तानी गर्न मिल्ने सुविधा भएका पसल मा गएर QR कोड स्क्यान गरेर भुक्तानी गर्न सकिन्छ । 




'हामीले खल्तीको सिस्टम नै यस्तो बनाएका छौँ कि यदि कारोबार फेल भयो भने अटोमेटिक रुपमा ३० मिनेट भित्रै तपाइँको खल्ती अकाउन्टमा पैसा फिर्ता आउँछ, हरेक कारोबारमा तुलनात्मक रुपमा बढी क्यास्ब्याक नै खल्तीको बलियो पाटो हो'  -अमित अग्रवाल, निर्देशक, खल्ती डटकम 


खल्तीमा अन्लाईन र अफलाईन सुविधा (नेट छैन भने मेसेज बाटै पनि भुक्तानी गर्न सकिने) व्यवस्था छ भने स्मार्ट फोन नभएका ग्राहक ले नजिकैको खल्ती पसलबाटै सेवाहरुको बिल भुक्तानी गर्न सक्छन। खल्तीले आफ्नो सेवा बिस्तार गर्दै ५० जिल्लामा पुगिसकेको छ।   

आइएमई पे 

विद्युतीय भुक्तानीका लागि पछिल्लो समयमा रुचाइएको अर्को पेमेन्ट गेटवे हो ‘आईएमई पे’। तीन बर्ष अघि सन् २०१५ देखि नै संचालनको तयारि गरेको आईएमई पेले २ बर्षयतादेखि अनलाइन भुक्तानी सेवा दिंदै आएको छ।  

‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन् ।

यतिबेला १५ हजार एजेन्टहरु मार्फत यसको सुविधा प्रदान भइरहेको आईएमई पे का प्रमुख कार्यकारी अधिकृत डेनियल श्रेष्ठले बताए। 'हालसम्म १ लाखले 'आइएमई पे'  डाउनलोड गरिसकेका छन' श्रेष्ठले बताए 'अझै पनि एजेन्टहरुको संख्या बढाउनका लागि हामीले आवश्यक गृहकार्य गरिहेका छौं, हामीले एजेन्टहरु २५ हजार पुर्‍याउने लक्ष्य लिएका छौं' 

आइएमई पे मा पनि अन्य अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनीहरुमा झैँ मोबाइल मार्फत् तत्कालै पैसा पठाउने र प्राप्त गर्ने, बिलहरूको भुक्तानी गर्ने, रकम ट्रान्सफर गर्ने, विद्यालय र कलेजका शुल्कहरू भुक्तानी गर्ने सुविधा उपलब्ध छ। साथै अनलाइनभन्दा बाहिर (अफसाइड) रहेका रेस्टुरेन्टहरू, ग्रोसरी र डिपार्टमेन्ट स्टोरहरूका साथै साना-ठूला खुद्रा पसलहरूमा अफलाइन नै भुक्तानी गर्नेसम्मका विविध  सेवाहरू पनि प्रदान गरेको छ। 





'हामीले पहिल्यैदेखि नै आईएमई रेमिट्यान्स शुरु गरेका छौँ त्यसैले सेवाग्राहीको संख्या बढाउने लक्ष्य नभई सुविधा दिने बिषयमा केन्द्रित छौं, सुरुवातदेखि नै सेवाग्राहीबाट राम्रो प्रतिकृया पाएका छौँ, आवश्यकता अनुसार सुविधा थप्दै जानेछौं'- डेनियल श्रेष्ठ, सीईओ, आईएमई पे


आईएमई समुहले बैंक वित्तीय संस्था, रेमिट्यान्स लगायतका सेवा प्रदान गर्दै आएकाले आईएमई पे संग ठुलो संजाल रहेको श्रेष्ठको भनाई छ। 'अहिले हाम्रो करिब करिब ३० लाख सब्सक्राइभ पुगेको छ, विस्तारै हामीले रेमिट्यान्स प्रयोगकर्ताहरु सबैले यो सेवा प्रयोग गर्ने बनाउनेछौं' श्रेष्टले भने।  

२ बर्षदेखी संचालनमा रहेको आईएमई पे ले सेवाग्राहीलाई तान्नका लागि बिभिन्न अफरहरु समेत ल्याएको छ। आईएमई पे डाउनलोड गरि त्यहाँबाट  पहिलो भुक्तानी भएपछी सेवाग्राहीले ५० रुपैयाँ बोनस पाउनेछन भने आइएमइ पे मार्फत पेट्रोल खरिद गर्दा प्रति लिटरमा २ रुपैयाँ बोनस ब्याक पाउनेछन। 

प्रभु पे 

यहि बर्ष मात्रै संचालनमा आएको अर्को पेमेन्ट गेट वे हो प्रभु पे। उपभोक्तामा पेमेन्ट गेटवे बारे चाँसो बढाउँन र डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्न 'प्रभु पे' ले  बिशेष सेवा सुविधाका साथ साथै ग्राहकलाई वीमा सेवा समेत दिएको छ। 

सर्वसाधारणमा पेमेन्ट गेट वे बारे जनचेतना फैलाउन र उनीहरुलाई पेमेन्ट गेटवेमा अभ्यस्त बनाउन प्रभु पे ले 'फ्रेन्ड रेक्वेस्ट' नामक आकर्षक अफर दिएको प्रभु म्यानेजमेन्टकी अध्यक्ष तथा प्रभु डिजिटल निर्देशक कुसुम लामाले बताइन।  

साथिहरुलाई प्रस्ताब पठाएकै भरमा ग्राहकले प्रति प्रस्ताब ३० रुपैयाँ प्राप्त गर्न सक्ने लामाले बताईन। उनका अनुसार एक ग्राहकले अर्को ग्राहकललार्इ यस्तो एप रिफर गरेमा वालेटमा ३० रुपैयाँ व्यालेन्स थपिन्छ। यसबाट पेमेन्ट गेट वे प्रति ग्राहकको चाँसो बढ्ने र सरकारले लिएको डिजिटल पेमेन्टको नीतिलाई सहयोग पुग्ने उनको बिश्वास छ। 

प्रभु पे ले आफ्ना प्रत्येक ग्राहकलाई निर्जिबन वीमा सेवाको सुविधा दिएको छ। यसको सेवा लिने ग्राहकले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा प्राप्त गर्नेछन। ग्राहकले प्रभु पे मार्फत गरेको कारोबारको आधारमा उनीहरुको विमा सेवा तय हुन्छ। प्रभुले तोकेको कारोबार रकम र समयको मापदण्ड पुरा गरेका ग्राहकले वीमा सेवा प्राप्त गरेको मेसेज पाउनेछन र त्यसपछि उनीहरुको दश लाखसम्मको दुर्घटना बिमा पक्का हुनेछ।



'प्रभु पे पेमेन्ट गेट वे को सोच भन्दा माथि उठेर डिजिटल पेमेन्टको सोचलाई पुरा गर्ने गरि ल्याइएको बिशेष प्रोडक्ट हो, यसका ग्राहकले सम्पूर्ण डिजिटल पेमेन्टको सुविधा पाउछन र मोवाईललाई नै खल्तीको रुपमा प्रयोग गर्न सक्छन, भविष्यमा आवश्यकता अनुसार सेवा थप्दै जानेत छदैछ' -कुसुम लामा,प्रभु डिजिटल निर्देशक 



'प्रभु पे' मा नगद, कार्ड र इन्टरनेट बैंकिङको सम्मिश्रण रहेकाले यो प्रोडक्ट पेमेन्ट गेटवे भन्दा पनि माथि रहेको लामाको दाबी छ। 'प्रभु पे मा अन्य पेमेन्ट गेटवे ले दिने बैंक तथा वित्तीय संस्थाको खाता बाट पैसा ट्रन्सफर गर्ने, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्ने, टिभी रिचार्ज गर्ने, एनसीएचएल डिपोजिट गर्ने सेवा त छदैछ, यसका साथै एक सहकारीबाट अर्को  सहकारीमा ब्यालेन्स ट्रान्सफर गर्ने मात्र नभई ग्राहकले युनियन पे र क्युआर कोड स्क्यान गरेरै पैसा तिर्न सक्नेछन, जसबाट प्रभु पे ले डिजिटल पेमेन्टको अवधारणालाई एकै प्रोडक्टमा समाबेश गर्ने प्रयास गरेको छ' उनले भनिन। 

प्रभु समुहले बैंक, बीमा, मनि ट्रान्सफर, हेलिकप्टर, टिभि, सुचना प्रविधि र व्यवस्थापन सम्वन्धी विभिन्न कम्पनी संचालन गर्दै आएको छ र उसंग पहिल्यै नै लाखौंको संख्यामा ग्राहक छन। त्यसैले पनि ग्राहक तान्ने सोच भन्दा माथि उठेर डिजिटल पेमेन्टलाई प्रोत्साहन हुनेगरि पेमेन्ट गेटवे सहितको प्रोडक्ट ल्याइएको लामाको दाबि छ। 




   







Share your thoughts!











Close in 7