अब पैसाको झै खानेपानीको पनि एटीएम, पाटनबाट वाटर एटीएमको सुरुवात

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2018 | 08:56:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पैसाजस्तै पिउने पानीको समेत एटीएम सुरु गर्ने भएको छ। खातामा भएपछि जुनै एटिएम मार्फत पैसा झिक्न मिलेझैँ खानेपानी मन्त्रालय अन्तर्गत काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले निश्चित पैसा तिरेपछि पानी पिउन पाईने अवधारणा स्वरुप वाटर एटीएमको सुरुवात गर्न लागेको हो। 

मन्त्रालयमा सोमबार खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा बसेको समीक्षा बैठकमा बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाले आउँदो बिहीबारदेखि ललितपुरको सैंबु स्थित बोर्डको परिसरमा वाटर एटीएमको नमुना प्रदर्शन गरिने जानकारी गराए। यस्तो खालको एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौं उपत्यका भित्र विस्तार गर्दै लगिने राणाले बताए। 

यसैबीच खानेपानी संस्थानको सक्रियतामा जापानिज नियोग जाईकाले पोखराको मादी खोलालाई पूर्ण प्रशोधन गरी खानेपानीको वितरण गर्न टेण्डर आह्वान गर्ने भएको छ। समिक्षा बैठकमा खानेपानी संस्थानले पोखरा र आसपासका क्षेत्रका लागि खानेपानीको सहज वितरण गर्नका लागि जाईकाले टेण्डर आव्हान गर्न लागेको जानकारी दिइएको हो। जाईकाको सहयोगमा ४ अर्ब ८० करोडको लगानीमा टेण्डर आव्हान सुरु हुन लागेको हो।    

पटक यति ठूलो लगानीमा पोखरामा खानेपानीको शुद्धीकरण गर्ने आयोजना सुरु गरिएको हो। यसबाट पोखरा र आसपासका क्षेत्रका बासिन्दाहरु लाभान्वित हुनेछन् ।  

त्यस्तै बोर्डबाट गठन भएको टास्क फोर्सले गत भदौ ३० गते र असोज ५ गते सम्पन्न गरेको अनुगमनबाट हालसम्म १८ वटा ट्यांकरहरुलाई स्टीकर प्रदान गरिएको र मापदण्ड विपरीत सञ्चालन भएका ट्यांकरहरुलाई ३६ हजार रुपैंया जरिवाना गरिएको बैठकमा जानकारी दिइएको छ।

त्यस्तै बैठकमा मन्त्रालयले दुई साता अघि गठन गरेको पानीको स्रोत संरक्षण तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र फोहोर पानी निष्काशन मस्यौदा समितिले देशैभरि ढल तथा फोहोर पानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी गराइयो।

मन्त्री मगरले देशभरका स्थानीय निकाय तथा जनताबाट संकलित योजनाहरुलाई कार्यान्वयन गर्ने उद्देश्यले योजना बैंक बनाउने बताइन। देशैभरिबाट संकलित योजनाहरुलाई योजना बैंक मार्फत अघि बढाउने मन्त्रालयको तयारी रहेको उनले बताइन। पूर्ण सरसफाई सँगै ढलको व्यवस्थापनलाई समेत अगाडि बढाउने उनको उद्घोष छ ।    

   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved