फोरजी सेवालाई देशव्यापी बनाउँदै टेलिकम, यस्तो छ प्रगति विवरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2019 | 05:42:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकम Nepal Doorsanchar Company Limited ले व्यवसाय मात्रै नभई सेवालाई प्राथमिकता दिनुपर्ने आफूहरुको दायित्व भएको बताएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीले आफ्नो व्यवसाय सञ्चालन मात्रै नगरी सेवालाई समेत प्राथमिकता दिँदै देशका सबै स्थानमा सेवा उपलब्ध गराइरहेको बताएका छन् ।

फोरजी/एलटीई आयोजना, मध्य पहाडी लोकमार्गमा विछ्याउन लागेको अप्टिकल फाइबर र एफटीटीएच सेवा विस्तारका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले फोरजी सेवालाई देशव्यापी रुपमा विस्तार गर्ने योजना रहेको बताए । 

फोरजी/एलटीई आयोजना 

देशभर सातै प्रदेशमा सेवा विस्तारको लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको थियो । यस मध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएको छ ।

नेटवर्क १ अन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल अर्थात हालको प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल अर्थात हालको प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्छन् । 

सम्झौता अनुसार १२ महिनामा कार्य सम्पन्न गर्नको लागि साइट सर्भेको काम शुरु भइसकेको टेलिकमले बताएको छ । कम्पनीले नेपालमै पहिलो पटक २०७३ पुस १७ (२०१७ जनवरी १) मा काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा शुरु गरेको थियो । 

मोबाइल सेवा विस्तार प्रगति

चालु आर्थिक वर्षको चैत मसान्त सम्म ४ सय वटा थ्रीजी बीटीएसहरुको स्तरोन्नति भएको टेलिकमले जनाएको छ । त्यसैगरी सो अवधिमा ४ सय ७ वटा बीटीएस थप भएको छ । एक करोड लाइन मोबाइल आयोजना अन्तर्गत ग्राहकको माग एवम् प्राविधिक अध्ययन अनुसार आवश्यक देखिएका स्थानहरुमा मोबाइल टावर थप गर्ने कार्य जारी रहेको टेलिकमले बताएको छ ।

सो आयोजना अन्तर्गत प्याकेज ‘बी’ को शतप्रतिशत काम सकिएको छ भने प्याकेज ‘ए’ को काम ९५ प्रतिशत सकिएको र चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्ने टेलिकमको लक्ष्य छ । 

मोबाइल गुणस्तर अभिवृद्धि

नेपाल दूरसञ्चार प्राधिकरणले गत पौष र माघ २०७५ मा भक्तपुर, पोखरा, बाग्लुङ र पृथ्वी राजमार्गमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको प्रकाशित अध्ययन प्रतिवेदन अनुसार डाटा सेवामा नेपाल टेलिकमको गुणस्तर सबैभन्दा राम्रो पाइएको छ । 

त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले आश्विन ११ देखि २५, २०७५ सम्म काठमाडौमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको अध्ययन प्रतिवेदन अनुसार नेपाल टेलिकमको भ्वाइस सेवाको स्तर सबैभन्दा राम्रो पाइएको छ । 

मध्य-पहाडी लोकमार्गमा अप्टिकल फाइबर

मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको छ । सो आयोजनाका लागि ५ मध्ये ४ वटा सम्झौता सम्पन्न भएको टेलिकमले जनाएको छ ।

गत मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा गरिएको सम्झौता अनुसार प्रदेश १ को ५९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स, प्रदेश २ को १०२८ किलोमिटरको लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेलवेको ज्वाइन्ट भेन्चर तथा प्रदेश ३ को ५५५ किलोमिटरको लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ ।

डीडब्ल्यूडीएम इक्विपमेन्टका लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ भने राउटर इक्विपमेन्टका लागि केही दिन भित्रै सम्झौता हुने कम्पनीले बताएको छ । 

एफटीटीएच सेवा 

हाल एडीएसएल मार्फत इन्टरनेट सुविधा उपलब्ध गराइरहेकोमा विद्यमान एडीएसएलका ग्राहकलाई एफटीटीएचमा रुपान्तरण गर्ने र मुलुकभर एफटीटीएच वितरण गर्ने लक्ष्यका साथ नेटवर्क विस्तारको कार्य टेलिकमको छ ।

इन्टरनेटको साथसाथै आईपीटीभी पनि प्रदान गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको कम्पनीले बताएको छ । हाल देशभर ४० हजार ९६० लाइन एफटीटीएच प्रदान गर्न सकिने क्षमताको नेटवर्क तयार भएको छ र थप नेटवर्क विस्तार कार्य जारी रहेको टेलिकमले बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved