मञ्जुश्री फाइनान्स Manjushree Finance Limited ले यस अघि प्रस्ताव गरेको नगद लाभांश प्रस्ताव परिमार्जन गरेको छ । कम्पनीको असोज ५ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । सोहि अनुसार कम्पनीले मङ्सिर २४ मा साधारणसभाको लागि सूचना सार्बजनिक गरेको थियो । साधारणसभाको लागि जारि गरिएको सूचनामा पनि कम्पनीले ९ प्रतिशत लाभांश नै उल्लेख गरेको छ।
तर कम्पनीले सुचना जारि गरेको १ दिन पनि नबित्दै साधारणसभाको सूचनामा अन्यथा भएको भन्दै पुर्वघोषित ९ प्रतिशत लाभांशलाई २.९ प्रतिशमा झारेको जनाएको छ । साधारणसभाको सूचना र बुक क्लोज मिति सार्बजनिकपछि लाभांश दर परिमार्जन भएकाले लगानीकर्ताले असन्तुष्टि जनाएका छन। पछिल्लो समय व्यवसाय बिस्तार तथा कारोबार बिस्तारमा उल्लेख्य प्रगति गरेको मन्जुश्रीलाई यसरि लाभांश परिमार्जनको दबाब किन पर्यो त ?
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष निरौलाले राष्ट्र बैंकको निर्देशन अनुसार वित्तीय विवरणमा केहि परिमार्जन गर्नु परेकोले लाभांश दर घटाउनु परेको बताएका छन। उनका अनुसार कम्पनीले 'गुड लोन' मा राखेको ऋणलाई 'ब्याड लोन' अर्थात् खराब कर्जामा राख्नुपर्ने भएकाले पुर्वघोषित लाभांश अन्तिम समयमा परिमार्जन गर्नुपरेको हो। 'हाम्रो पहिलादेखि नै रहेको गुड लोनलाई ब्याड लोनमा राख्न निर्देशन आयो, त्यसले गर्दा दिन सक्ने क्षमता घटेर लाभांश पनि परिमार्जन हुन पुगेको हो।'
कम्पनीले पुस १६ गते साधारण सभा डाकेको छ । साधारणसभामा लाभांश प्रस्ताव सहित अन्य कुनै वित्तीय संस्थामा गाभ्न तथा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुने भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्ने भएको छ । पुस २ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र नगद लाभांश पाउन सक्ने छन् ।