हङकङले टस जितेर ब्याटिंङ रोज्यो, सुपर सिक्सको आशा लगभग समाप्त, यस्तो छ आजको टोली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 12, 2018 | 10:52:52 AM मा प्रकाशित

laxmi  sunrise bank

जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा अघिल्ला तिन खेलमा हार बेहोरेको नेपाल सुपर सिक्स चरणमा पुग्ने 'झिनो' आशाका साथ मैदानमा उत्रिनेछ। 

आजको खेलमा हङकङले टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको छ ।  सुपर सिक्समा पुग्न नेपालले हङकङलाई भारि अन्तरले पराजित गर्नुपर्नेछ। नेपालले पहिले ब्याटिंग गरेर ठुलो स्कोर बनाएको भए र हङकङलाई कम रन मै अल आउट गरेको भए नेपालको सुपर सिक्स सम्भावना रहने थियो । तर अब नेपालको सुपर सिक्स आशा समाप्त भएको छ तर एक दिवसीय मान्यताको आशा अझै कायम छ । 

आजको खेल खेल्ने नेपाली टोली : ज्ञानेन्द्र मल्ल, अनिल शाह, पारस खड्का, दिपेन्द्र ऐरी, आरिफ शेख, रोहित कुमार, सोमपाल कामी, बसन्त रेग्मी, करण केसी, सन्दिप लामिछाने, ललित राजबंशी  ।  

 प्रतियोगितामा तिन वटै खेल गुमाएको नेपाल शुन्य अंक सहित समूह तालिकामा अन्तिम स्थानमा छ भने तिनमा दुई जित र एक हार बेहोरेको हङकङ २ अंक सहित पाँचौं स्थानमा छ। 

यस समुहमा रहेका स्कटल्याण्ड र जिम्बावे समान ६-६ अंक सहित सुपर सिक्स चरणमा पुगिसकेका छन। एउटा समुहबाट तीनवटा टोली सुपर सिक्समा पुग्ने भएकाले हङकङ र नेपालबीचको खेलले समुह 'बि' बाट सुपर सिक्समा पुग्ने अर्को देशको टुंगो लाग्नेछ। समूहमा चारवटै खेल सकेको अफगानिस्तानको दुई अंक छ। एक खेल खेल्न बाँकी हङकङको पनि दुई अंक छ। रन रेटमा भने हङकङभन्दा अफगानिस्तान अगाडि छ। 

 नेपाललाई आजको खेल दुई अर्थमा महत्वपूर्ण

सुपर सिक्स चरणमा पुग्न र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता पाउनका लागि पनि नेपालका लागि आजको खेल महत्वपूर्ण हुनेछ। यी दुवै अवसर प्राप्त गर्नका लागि नेपालले हङकङ बिरुद्दको खेलमा ठुलो अन्तरले जित हात पार्नुपर्नेछ। 

नेपालले हङकङलाई पराजित गरेपनि रन रेटकै आधारमा नेपालले पाउने अवसर अफगानिस्तानले पाउन सक्नेछ। त्यसैले पनि नेपालले हङकङलाई भारि अन्तरले पराजित गर्नुपर्ने हुन्छ। 

रन रेटमा अफगानिस्तानलाई पछि पार्न सके नेपाल जारी छनोट प्रतियोगिताको सुपर सिक्स चरणमा पुग्नेछ भने नेपालले एकदिवसीय टोलीको मान्यता समेत पाउनेछ। अन्त्यथा रन रेटमा अफगानिस्तानसँग पछाडि परे नेपालले एकदिवसीय टोलीको मान्यता पाउन प्ले अफ खेल्नु पर्नेछ।

हाल विश्वकप छनोट खेलिरहेका १० राष्ट्रमध्ये वेस्ट इन्डिज, आयोजक जिम्बावे, अफगानिस्तान र आयरल्यान्ड आईसीसीका पूर्णकालीन सदस्य हुन्। नेदरल्यान्ड्सले भने विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेकाले सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पाएको छ।

बाँकी रहेका पाँच मध्ये नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई), पपुवा न्युगिनी, स्कटल्यान्ड र हङकङमध्ये तीनवटा टोलीले आईसीसीबाट एकदिवसीय मान्यता पाउनेछन्। यी पाँच राष्ट्रमध्ये स्कटल्यान्डले समूह ‘बी’ बाट यसअघि नै सुपर सिक्समा स्थान बनाउँदै एकदिवसीय मान्यता पक्का गरिसकेको छ।

हङकङले नेपाललाई हराए मात्र पनि सुपर सिक्समा पुग्नेछ भने एकदिवसीय टोलीको मान्यता समेत पाउनेछ। तर नेपाललाई यी अवसर प्राप्त गर्न हङकङलाई ठुलो अन्तरले हराउनुपर्नेछ।     

नेपाल हङकङ पराजित भए या जितेर पनि रन रेटमा पछाडी परे एकदिवसीय मान्यता पाउने थप टोलीको टुंगो समूह ‘ए’ कोे नतिजा र प्ले अफ खेलबाट लाग्नेछ। 

त्यस्तै नेपालका लागि समुह 'ए' को नतिजाले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। प्रतियोगितामा समुह 'ए' बाट अहिलेसम्म वेस्ट इन्डिजमात्र सुपर सिक्समा पुगेको छ। आयरल्यान्ड र यूएईको समान चार÷चार अंक छ। पपुवा न्युगिनी भने चारवटै खेलमा पराजित भएको छ।  

समूह ‘ए’ मा आज नै यूएई र आयरल्यान्ड तथा नेदरल्यान्ड्स र वेस्ट इन्डिजबीच खेल हुँदैछ। यदि नेदरल्यान्ड्स पराजित भए यूएई सुपर सिक्समा पुग्नेछ र एकदिवसीय टोलीको मान्यता पनि पाउनेछ। आयरल्यान्डलाई पराजित गरे पनि यूएईले सुपर सिक्समा पुगेर एकदिवसीय मान्यता पाउनेछ। त्यसपछि नेपाल, हङकङ र पपुवा न्युगिनीमध्ये एक राष्ट्रले एकदिवसीय मान्यताका लागि प्ले अफ खेल्नु पर्नेछ।

सोमबारका खेल

नेपाल बिरुद्द हङकङ

जिम्बावे बिरुद्द स्कटल्यान्ड

आयरल्यान्ड बिरुद्द यूएई

नेदरल्यान्ड्स बिरुद्द वेस्ट इन्डिज

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved