नेपाली क्रिकेटमा ठुलो फड्को: ओडीआई स्ट्याटस पाउँदा यी हुन ८ मुख्य फाइदा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 15, 2018 | 08:55:06 PM मा प्रकाशित

laxmi  sunrise bank

जिम्बावेमा जारि विश्वकप छनौट अन्तर्गतको खेलमा सुपर सिक्स चरणमा पुग्न नसकेपनि नेपालले एकदिवसीय क्रिकेटको मान्यता पाउन सफल भएको छ। 

यो बर्षको अन्तिम महिनाको पहिलो दिन नेपालको न्यायालय क्षेत्रमा आएको उतारचढाब झैँ नेपाली क्रिकेटमा समेत नयाँ बहार आएको छ। जिम्बावेको हरारेमा पपुवा न्युगिनीमाथि शानदार जित निकालेर ओडीआई स्ट्याटसको 'घांटी' नजिक पुगेको नेपाललाई हंगकंग बिरुद्द नेदरल्याण्डको जितले ओडीआई स्ट्याटस पक्का गराएको हो। 

नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै सातौँ स्थानको लागि प्लेअफ खेल्नुअघि नै ओडिआई स्टयाटस पक्का गरेको हो। ओडीआई स्ट्याटस पक्का गरेका नेपाल र नेदरल्यान्ड्स साथौँ र आठौँ स्थानका लागि प्रतिस्पर्धा गर्दैछन। यी दुवै टिम मधे बिजयी टिम सातौँमा रहनेछ भने आठौँमा पराजित टिम हुनेछ। तर जित हारले दुवै टिमको ओडीआई स्ट्याटसमा कुनै फरक पर्नेछैन।  

नेपालले ओडीआई स्ट्याटस प्राप्त गरेपछि नेपालीहरुमा उत्साहको माहोल बनेको छ। संगसंगै नेपाली क्रिकेट समर्थकलाई ओडीआई स्ट्याटस पाएको नेपाललाई अब  के फाइदा हुन्छ भने कौतुहलता समेत बढाएको छ।

सर्वप्रथमत नेपालले ओडीआई स्ट्याटस प्राप्त गरेको छ। नेपालका लागि पहिलो फाइदा नै यहि हो। नेपालको ओडीआई स्ट्याटस २०१८ देखि २०२२ सम्म चार बर्षका लागि रहनेछ। 

ओडीआइ स्ट्याटसले पक्कै पनि नेपालको खेलमा उल्लेख्य प्रगति हुनेछ भने आर्थिक रुपमा समेत नेपाली टिम बलियो हुनेछ। बुंदामा हेर्नुस नेपाललाई हुन सक्ने सम्भावित फाइदाहरु:

१.आर्थिक सहयोग 

एकदिवसीय मान्यता पाउनु भनेको नेपाल जस्तो देशको लागि क्रिकेटमा निकै ठूलो प्रगति हुनेछ। ओडीआई स्ट्याटस देशका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसि) ले वार्षिक ७ देखि ८ करोड रुपैयाँसम्मको बजेट छुट्याएको हुन्छ। यसले उच्च कोटीको प्रशिक्षक, अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।

घरेलु मैदानमा कुनै प्रतियोगिता हुन नसक्दा निजी स्तरबाट हुने फ्रान्चाइज प्रतियोगिताबाट नै धानिएको नेपाली क्रिकेटलाई आर्थिक रुपमा बलियो सहयोग हुनेछ। 

२.उच्चकोटीका प्रतियोगितामा सहभागिताको अवसर

घरेलु मैदानमा प्रतियोगिता शुन्य कै अवस्थामा रहेको नेपालका लागि उच्चकोटीका प्रतियोगितामा सहभागिता जनाउने ठुलो अवसर प्राप्त भएको छ। 

ओडीआई स्ट्याटस पाएसंगै नेपालले नियमित रुपमा ठुला प्रतियोगिताहरु बिश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिताहरु खेल्न पाउनेछ।  

साथै एसिया कप जस्तो ठुलो प्रतियोगितामा समेत नेपालको सहभागिता सहज हुन सक्छ जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट राष्ट्रहरु खेल्छन्। 

३.वरियतामा समावेश

आइसीसीले नेपाललाई पनि अब वरियतामा समावेस गर्नेछ। हाल आइसीसीको पूर्ण सदस्य १२ र अन्य ४ गरि १६ टिमसंग ओडीआई स्ट्याटस छ। त्यसमध्ये त्यो दुई स्थानमा नेदरल्यान्ड्स र नेपालले आफ्नो स्थान सुरक्षित गरेका छन। आइसीसीको वरियतामा स्कटल्याण्ड र युएईसंगसंगै नेपालपनि रहनेछ।   

४.नेपालको कीर्तिमानी खेल अब बिश्व रेकर्डमा 

नेपाली खेलाडीले यो स्तरमा बनाएको रेकर्ड बिश्वरेकर्डमा समावेश हुनेछन। नेपालले टि-२० अन्तर्राष्ट्रियको मान्यता पाउदा सोमपाल कामिले दशौं नम्बरमा ब्याटिंग गर्दै सबैभन्दा धेरै रन बनाउने बिश्वरेकर्ड बनाएका थिए। अब नेपाली क्रिकेट टिम र नेपाली खेलाडीले अर्को एकदिवसीय राष्ट्रसंग बनाएको रेकर्ड बिश्वस्तरमा गणना हुनेछ।

५.दृष्टिकोण परिवर्तन 

बिश्वले नेपाली क्रिकेटलाई हेर्ने नजरिया समेत परिवर्तन हुनेछ। नेपालले अन्तर्राष्ट्रिय स्तरका ठुला प्रतियोगिता खेल्दा खेलाडीको साथ साथै नेपालको समेत प्रचार प्रसार र प्रवर्द्धन हुनेछ। जस कारण क्रिकेटमा नेपालीको स्थानले गरिमा प्राप्त गर्नेछ। 

६.क्रिकेटको विकासको अवसर 

त्यसो त नेपालले पाएको ओडीआई स्ट्याटसको अवसरलाई विकासमा रुपान्तरण गर्न नेपाल संघ बिहिन छ। यदि राज्यले क्रिकेटलाई प्राथमिकता दिन सक्ने हो भने क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताको आयोजना गरि राज्यले क्रिकेटको विकास बाट नै बिकास गर्न सक्नेछ। 

७.अर्थतन्त्रमा सुधार 

छिमेकी भारतले क्रिकेटमा गरेको सुधारकै कारण त्यहाँ बर्षेनी आइपीएल लगायतका बिश्व स्तरीय प्रतियोगिताको आयोजना सम्भव भएको छ। ति प्रतियोगिताले भारतको क्रिकेट मात्र नभई समग्र अर्थतन्त्रमा नै टेवा दिएको छ। पूर्वाधारको निर्माण, रोजगारी, ठुला कम्पनीहरुको खेलकुदमा लगानी जस्ता अवसरहरु ठुला प्रतियोगिताबाट प्राप्त हुन्छ। नेपालले दक्षिण एसिया स्तरको प्रतियोगिता मात्र खेल्ने हो र त्यसका लागि नेपालीको भुमि प्रयोग गर्ने हो भने पक्कै पनि नेपालको अर्थतन्त्रमा समेत ठुलो राहत मिल्नेछ। 

८.प्रतियोगिता लाइभ हेर्ने अवसर 

बिभिन्न प्रतियोगितामा नेपालले खेलेका खेलहरु कमै मात्र प्रत्यक्ष प्रसारण हुने गरेका छन। तर ओडीआई स्ट्याटस पाएसंगै नेपालले प्रत्यक्ष प्रसारण हुने प्रतियोगितामा समेत खेल्न पाउनेछ र नेपाली क्रिकेटलाई समर्थन गर्दै आएका खेल प्रेमीहरुले समेत घर मै बसेर प्रत्यक्ष प्रसार हेर्न पाउनेछन। अहिलेसम्म नेपाली खेलप्रेमीहरुले विभिन्न वेबसाइटमा गएर नेपालको खेल पढेका छन भने अब नेपालको खेल प्रत्यक्ष प्रसारण हुनेछ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved