बैंकरलाई पनि बढ्दैछ विश्वकपको ज्वरो , को कसका समर्थक ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 12, 2018 | 10:10:01 PM मा प्रकाशित

laxmi  sunrise bank

अबको केही दिनमा रुसमा विश्वकप फुटबल २०१८ को संस्करण सुरु हुँदैछ। ३२ औं राष्ट्रले सहभागिता जनाउने यस प्रतियोगिता विश्वकपको २१ औं संस्करण हो।  

विश्व फुटबलको कुम्भ मेला मानिने विश्वकप फुटबलमा कतिपयले योजना बनाएका छन् भने कतिपयले खासै ध्यान दिएका छैनन् । नेपालमा बैंकिङ  क्षेत्रमा रहेका बैंकर्स मध्ये कतिलाई विश्वकप फुटबलले उत्साहित बनाएको छ भने कतिलाई चासो नै छैन।

यस्तो माहोलमा नेपालको बैंकिङ क्षेत्र पनि यसबाट टाढा छैन। यही क्रममा हामीले बैकंर्सहरुलाई यसपटकको विश्वकप योजना र मनपर्ने टिमको बारेमा सोधेका छौं।  हामीले प्रश्न गरेका सबैजसो बैंकरले विश्वकप महाकुम्भ मेला भएको र यसलाई नछुटाईकन हेर्ने बताए। केहिले भने सेमिफाइनल पुगेपछि मात्र समर्थन गर्ने र विश्वकप हेर्ने योजना बनाउने बताए। 

फुटबल भन्ने वित्तीकै मेसि थाहा छ, अरु थाहा छैन

तुलसी राम गौतम

प्रमुख कार्यकारी अधिकृत, सेन्चुरी कमर्शियल बैंक 


सफल बैंकरका रुपमा परिचित सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत युवा अवस्थामा फुटबल खेलाडी थिए भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। बिद्यालय तथा क्याम्पस पढ्दा फुटबलमा खुब रुची राख्ने र मौका मिल्ना साथ मैदान छिर्ने तिनै गौतम अहिले भने फुटबलको बारेमा खासै थाहा नभएको बताउछन। 

'पहिला खेलिन्थ्यो, अहिले त बर्ष मात्रै होइन, दशकौं नै भईसक्यो खेल्न छाडेको' गौतमले भने, 'अहिले त नियम पनि नयाँ नयाँ होलान, फुटबल भन्ने बित्तिकै मेसि थाहा छ, अरु केहि थाहा छैन। '

फुटबल नहेरेको दशकौं भईसकेको बताउदै गौतमले यस पटकपनि फुटबल नहेर्ने बताए। 'अब पहिला जस्तो चाख छैन, त्यसैले फुटबल हेर्ने कुनै योजना नै छैन। 


'यस पटकको विश्वकप मेगा बैंकका साथीहरुसंग हेर्ने हो'

अनुपमा खुजेली 

प्रमुख कार्यकारी अधिकृत, मेगा बैंक

 

नेपालको बैंकिङ क्षेत्रमा पहिलो महिला सीइओको रुपमा परिचित मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेली विश्वकप फुटबल नजिकिदै जाँदा निकै उत्साहित भएकी छिन। 

प्रत्येक ४-४ बर्षमा आउने विश्वकप कुरेरै बस्ने बताएकी सीईओ खुजेलले यस पटक जुन टिमले राम्रो गर्छ त्यसैलाई समर्थन गर्ने बताउछिन। 'अर्जेन्टिनालाई समर्थन गर्दै आएको थिए, तर यस पटक जुन देशले राम्रो प्रदशन गर्छ त्यसैलाई समर्थन गर्ने हो' उनले भनिन। 

यस पटकको विश्वकप मेगा बैंकका सबै साथिलाई लिएर फुटबल हेर्ने योजना सुनाउदै उनि भन्छिन, 'यसपाली निकै उत्साहित छु, मेगा बैंकका सबै साथिलाई संगै लिएर हेर्ने सोच छ, हेरौं कत्तिको पुरा हुन्छ।'


'नेपाल विश्वकपमा नपुगेसम्म ब्राजिलकै समर्थन'

अनिल शाह

कामु डीपुटि सीईओ, नबिल बैंक   


नबिल बैंकमा कामु डीपुटि सीईओको रुपमा रहेका अनिल शाह बैंकरका रुपमा जति चर्चित छन, त्यत्तिकै उनि युवा पुस्ताहरु माझ समेत लोकप्रिय छन। 

शाहलाई एक सफल बैंकरका रुपमा मात्र नभई सेलिब्रिटीका रुपमा समेत चिनिन्छ। युवापुस्ता तथा बैंकिङ क्षेत्रलाई आफ्नो करियर बनाउने चाहनेका लागि अनिल शाह 'आइकन' हुन। उनका ड़ाईहर्ट फ्यानको कमि छैन तर तीनै अनिल शाह ब्राजिलको ड़ाईहर्ट फ्यान हुन भन्ने सायदैलाई थाहा छ।

विश्वकप हेर्न थालेदेखि नै ब्राजिलको समर्थन गर्दै आएका शाहले नेपाल विश्वकपमा नपुगेसम्म आफ्नो समर्थन ब्राजिललाई नै रहने बताउछन। 'ब्राजिलले जित्छ भन्नेमा ढुक्क त छैन तर जित्छ भन्ने बिश्वास छ' अनिल शाहले भने, 'नेपाल विश्वकपमा नपुगेसम्म ब्राजिलकै समर्थक हुँ।'

विश्वकपले प्रतिस्पर्धामा हारजित स्वाभाविक हो र समर्थन गरिएको टिमले हार्दैमा हतास हुनुहुँदैन भन्ने संदेश दिने भएकाले विश्वकप खास लाग्ने शाहको भनाई छ। 'विश्वकप फुटबल केवल फुटबल खेलको प्रतिस्पर्धा मात्रै नभई प्रतिस्पर्धा गर्दैमा दुश्मनी हुनुहुँदैन भन्ने संदेश दिने खेल हो' शाहले बिजपाटीलाई भने।


'म्यारोडनाको नाम सुनेदेखी नै अर्जेन्टिनाको समर्थन, खेल तालिकाले नेपालीलाई राहत' 

मनोज ज्ञवाली 

प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक


ज्योति विकास बैकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली आफुलाई बिद्यार्थी जीवन देखि नै फुटबल प्रेमी भएको बताउछन। यस पटकको विश्वकपमा पनि बिगतमा झैं अर्जेन्टिनालाई नै समर्थन गर्ने बताउछन। 

डियगो म्यारोडनाको नाम सुनेदेखी र उनको खेल कौशलको विषयमा जानकार भएदेखी अर्जेन्टिनाको समर्थन गर्दै आएका ज्ञवाली यसपाली पनि अर्जेन्टिनाको पक्षमा छन। त्यसो त उनि मेसीलाई उत्कृष्ट खेलाडी मान्छन।  

'खेलमा के हुन्छ भन्ने कुराको यकिन हुँदैन, अन्तिममा कम्जोर टिमले जितेको इतिहास पनि छ' ज्ञवालीले भने, 'अहिले नै यसले जित्छ भन्न सकिन्न तर अर्जेन्टिनाको टिम राम्रो पनि छ, उसैले जितीदिए हुन्थ्यो भन्नेमा छु।'

यस पटकको विश्वकप कार्यालय समय सकेर हेर्न मिल्ने गरि फुटबलको कार्यतालिका बनेको उनको भनाई छ। 'कार्यालय समय सकेर हेर्न मिल्ने गरि खेलको कार्यतालिका छ, त्यसले पनि नेपाली फुटबल प्रेमीलाई समय थप राहत दिएको छ' उनले भने। 

फाइनल खेल चाही साथीसँग बसेर रमाइलो गर्दै हेर्ने मनस्तिथि बनाएका ज्ञवालीले यसपालिको विश्वकप फुटबलका फाइनल बाहेकका सबै खेल परिवारसँग घरमै बसेर हेर्ने योजनामा छन।   

बैंकरको रुपमा परिचित ज्ञवाली शिक्षण पेशामा समेत आबद्द छन।  विगत १५ बर्ष देखि ज्ञवालीले  पूर्वाञ्चल बिश्वबिद्यालय तथा काठमाडौं विश्वविद्यालय अन्तर्गतका आधा दर्जन कलेजमा व्यबस्थापन संकायका बिद्यार्थीहरुलाई अध्यापन गराउदै आएका छन।


  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved