नेपालमा हुने दक्षिण एसियाली खेलकूदमा क्रिकेट पनि थपियो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 22, 2018 | 08:50:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले आयोजनाको जिम्मा पाएको तेह्रौँ दक्षिण एसियाली खेलकूद (साग) प्रतियोगितामा यसपटक नेपालबाट नयाँ खेल प्याराग्लाइडिङलाई समावेश गरिएको छ । सागमा पर्यटन प्रवद्र्धनका लागि टेवा पुगोस् भन्ने उद्देश्यका साथ प्याराग्लाइडिङ र दक्षिण एसियाली राष्ट्रमा लोकप्रिय रहेको खेल क्रिकेटलाई पनि थप स्थान दिएको नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बताए  । 

सागमा क्रिकेट भने दोस्रो पटक समावेश गरिएको हो । यसअघि बंगलादेशमा सन् २०१० मा भएको ११ औँ संस्करणको सागमा क्रिकेट खेलले सहभागिता जनाएको थियो । सागमा नेपालबाट जम्मा २७ खेलको प्रतिनिधित्व हुनेछ । पहिले २५ खेलले मात्र भाग लिने निर्णय गरिए तापनि आयोजक राष्ट्रको हिसाबले थप दुई खेललाई प्राथमिकता दिएको एनओसीका अध्यक्ष श्रेष्ठले बताए । 

प्याराग्लाइडिङ र क्रिकेटसँगै आर्चरी, एथ्लेटिक्स, व्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फूटबल, गल्फ, ह्यान्डबल, जुडो, कबड्डी, कराते र खोखो छन् । त्यसैगरी सुटिङ, स्वाक्स, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्राइथलन, भलिबल, रेसलिङ, भारोक्तन र उसु खेलले नेपालबाट प्रतिनिधित्व गर्नेछ । 

नेपालबाट प्रतिनिधित्व गर्ने कूल खेलमा ३१५ वटा विधामा प्रतिस्पर्धा हुनेछ । एनओसीका अध्यक्ष श्रेष्ठले सागको समय तालिकामा कुनै फेरबदल नगरी निर्धारित समयमै प्रतियोगिता आयोजना गर्ने स्पष्ट पार्दै भने, “नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय खेलकूद परिषद्ले पनि साग आयोजनाका सम्बन्धमा गम्भीर भएर चासो लिएकाले तोकिएको समयमै प्रतियोगिता हुनेछ ।” आगामी फागुनमा सञ्चालन हुने सागका खेल काठमाडौँ र पोखरामा सञ्चालन हुनेछ । 

साग सञ्चालन हुन करीब आठ महिना बाँकी रहँदा भौतिक पूर्वाधारको निर्माण कार्य भने चुस्त गतिमा हुन सकेको छैन । देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालालगायत अन्य विभिन्न ठाउँको रंगशाला निर्माणाधीन अवस्थामा नै छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगिता आयोजनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिसक्ने बताए ।

“साग सञ्चालनको जिम्मेवारी नेपाल सरकारको हो, राखेपले त भौतिक पूर्वाधार निर्माणको जिम्मा मात्र पाएको छ त्यो त हामी समयमा नै पूरा गछौँ, बाँकी सागका तयारी र अन्य काम त सरकारले गर्नुप¥यो नि” सदस्य–सचिव विष्टले भने  । भारतमा सम्पन्न बाह्रौँ साग समापनसँग तैह्राँै साग आयोजना जिम्मेवारीको झण्डा नेपालले लिएको थियो । 

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन काठमाडौँ आउनुभएका विभिन्न राष्ट्रका प्रतिनिधिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) हातामा रहेको दशरथ रंगशालासहित विभिन्न खेल पूर्वाधारको निरीक्षण हिजोमात्रै गरेका थिए  । प्रतिनिधि टोलीले दशरथ रंगशालाको मर्मत कार्यको प्रगतिबारे जानकारी लिनुका साथै कभर्डहल र टेनिस कोर्टको निरीक्षण पनि गरेका थिए । 

त्यस्तै नेपालले साग आयोजना गर्न लागेको यो तेस्रो पटक हो । प्रत्येक दुई÷दुई वर्षमा आयोजना हुने सागको उद्घाटन सन् १९८४ मा नेपालबाटै शुरुआत भएको थियो । त्यस्तै नेपालले दोस्रो पटक भने सन् १९९९ मा आठौँ संस्करणको साग आयोजना गरेको थियो । 

पहिलो सागमा नेपालले चार स्वर्णपदक हात पारेको थियो । त्यतिबेला एथ्लेटिक्सका बैकुण्ठ मानन्धर, बक्सिङका स्वर्गीय खेलाडीद्वय दलबहादुर रानामगर र पुष्करध्वज राना शाहीले नेपाललाई स्वर्णपदक दिलाएका थिए । नेपालले फूटबल खेलमा पनि स्वर्णपदक हात पारेको थियो । पहिलो सागमा नेपालले समग्रमा १२ रजत र आठ कास्यपदक पाएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved