रोनाल्डोलाई बलात्कार आरोप, नाइकी लगायतका प्रायोजक तनावमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 05, 2018 | 03:10:14 PM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि लागेका बलात्कारका आरोपहरूबारे उनका ठूल्ठूला व्यापारिक प्रायोजक कम्पनीहरूले चिन्ता व्यक्त गरेका छन्। खेलकूद सामग्री निर्माता कम्पनी नाइकिले रोनाल्डोमाथि लागेका आरोप चिन्ताजनक भएको बताएको छ। अमेरिकी कम्पनी नाइकिको रोनाल्डोसँग करिब एक अर्ब डलर बराबरको प्रायोजन सम्झौता छ। समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार नाइकिले यी आरोपबाट उत्पन्न स्थितिको नजिकबाट अनुगमन गरिरहने बताएको छ। रोनाल्डोका अर्का प्रायोजक इए स्पोर्ट्सले पनि उस्तै टिप्पणी गरेको छ।

३ वर्षीय रोनाल्डोले भने ती आरोपहरूको खण्डन गर्दै आफूले केही गलत नगरेको भनेका छन्। रोनाल्डो खेल्ने इटालियन क्लब युभेन्टसले भने उनको बचाउ गरेको छ। गत जुलाई महिनामा रियल मड्रिड क्लबबाट करिब १३ करोड डलरमा रोनाल्डो युभेन्टसमा सरेका थिए। एक ट्वीट गर्दै युभेन्टसले भनेको छ, "पछिल्ला महिनाहरूमा क्रिस्टियानो रोनाल्डोले ठूलो व्यावसायिकता तथा प्रतिबद्धता प्रदर्शन गरेका छन् जसको सबैले सराहना गरेका छन्।"

सन् २००९ मा लस भेगासमा भएको एउटा घटनामा क्याथरिन मायोर्गामाथि यौन आक्रमण गरेको आरोप रोनाल्डोलाई लागेको छ। महिला हिंसाविरुद्ध विश्वव्यापी रूपमा महिलाहरूले आफूमाथि भएका घटनाको विवरण सार्वजनिक गर्ने गरि हाल चलिरहेको 'मि टु' अभियानबाट प्रेरित भएर ३४ वर्षीया अमेरिकी शिक्षिका मायोर्गाले पनि सो घटनाबारे मुख खोलेको उनकी वकिलले बताएका छन्।  

जर्मन पत्रिका डेर स्पिगलका अनुसार मायोर्गाले उक्त आरोपित घटनालगत्तै लस भेगासको प्रहरीसमक्ष उजुरी गरेकी थिइन्। तर अर्को वर्ष उनले रोनाल्डोसँग छुट्टै सम्झौता गरेको बताइयो जस अनुसार उनलाई करिब पौने चार लाख डलरको भुक्तानी गरियो जसको बदलामा ती आरोप सार्वजनिक नगरिने शर्त राखियो। तर उनका वकिलहरू अब त्यो सम्झौता रद्द गर्न चाहन्छन्। आफ्नो उजुरीमा मायोर्गाले रोनाल्डोलाई पाल्म्स होटल एण्ड क्यासिनोको रेन नाइटक्लबमा भेटेको र पछि रोनाल्डोको कोठामा उनको बलात्कार भएको उल्लेख गरेकी छन्। झण्डै एक दशक अगाडिको सो घटनापछि मायोर्गा गम्भीर डिप्रसनको शिकार भएको र उनमा आत्महत्या गर्ने सोच समेत पलाएको उनका वकिलले बताए।

लस भेगासको प्रहरीले सन् २००९ को जुनमा आफूले एक उजुरीको छानबिन गरेको पुष्टि गरेको छ। तर सो छानबिनका क्रममा उनीहरूले कसैमाथि शंका नगरेको बताइएको छ। "त्यतिखेर एक उजुरी परेको थियो तर पीडितद्वारा अनुसन्धानकर्ताहरूलाई घटनास्थल वा आरोपित बारे केही बताइएको थिएन," प्रहरी विज्ञप्तीमा उल्लेख छ। हाल उक्त आरोपको पुन: छानबिन सुरु गरिएको उसले बताएको छ। यसअघि रोनाल्डोका वकिलहरूले सो समाचारलाई लिएर डेर स्पिगलविरुद्ध मुद्दा हाल्ने बताएका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved