आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र ‘बी’ को छनौटमा नेपालले लगातार पाचौ जित हात पारेको छ। आज भएको खेलमा चीनलाई फराकिलो अन्तरले पराजित गर्दै नेपालले आफ्नो अपराजित यत्र कायम राखेको हो ।
चीनले दिएको २७ रनको लक्ष्य पछ्याएको नेपालले बिना कुनै विकेट क्षति १.५ ओभरमा पुरा गर्यो । नेपालका लागि बिनोद भण्डारीले ८ बलमा १ छक्का र ३ चौकासहित २४ रन बनाए भने प्रदीप ऐरीले ३ बल खेल्दै ४ रन बनाएका थिए।
यस अघि टस जितेर ब्याटिंग गरेको चीन १३ ओभरमा अलआउट हुँदै २६ रनमा समेटिएको थियो। चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछाने, ललित राजबंशी र बसन्त रेग्मीले समान ३-३ विकेट लिए। एक खेलाडी भने रन आउट भएका थिए ।
चीनका लागि हङ जियान याङले सर्वाधिक ११ रन, डेन्जी मा ले ५ तथा चेन जिनफिङले १ रन बनाए भने अन्य सबै खेलाडी शुन्य रन मै रोकिए ।
खेलको म्यान अफ द म्याच सन्दिप लामीछाने भएका छन् ।