डिपिएललाई आईसीसीको मान्यता, बिदेशी खेलाडी ल्याउने बाटो खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2019 | 08:23:37 AM मा प्रकाशित

laxmi  sunrise bank

यही माघ २६ गतेदेखि आयोजना हुने रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता दिएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले एक विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले मान्यता दिएको जनाएको छ । 

एकेडेमीका अध्यक्ष सुवास शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइसिसीले मान्यता दिएसँगै प्रतियोगिताबारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रलाई समेत जानकारी गराइसकेको उल्लेख छ । डिपिएल प्रतियोगिताको आयोजना सँगै देशमा पहिलोपटक खेलाडीको बोलकबोल (अक्शन) गराउँदै नेपाली क्रिकेटलाई व्यावसायिकरुपमा अघि बढाइएको छ । प्रतियोगितामा सहभागी हुने छवटै टोलीलाई दुई जना अनिवार्य व्यावसायिक खेलाडी राख्नुपर्ने प्रावधानअनुरुप खेलाडीको बोलकबोल (अक्शन)को शुरुआत गरिएको हो । 

रुस्लान डिपिएलको तेस्रो संस्करण करीब रु पाँच करोडको लागतमा धनगढीको फाप्ला क्रिकेट मैदानमा हुँदैछ । जसमा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किङ्ग्स, रुपेन्देही च्यालेञ्जर्स र काठमाडौँ गोल्डन्स गरी छ फ्रेन्चाइजी टोलीले सहभागिता जनाउँदैछन् । 
छवटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन् । डिपिएलका प्रत्येक टिमले अक्शनबाट १२ खेलाडी, एक रणनीतिक खेलाडी र दुई विदेशी गरी १५–१५ खेलाडीलाई टोलीसँग आबद्ध गरिसकेका छन् । 

टी–२० फम्र्याटको प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ । लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक÷एक खेल खेल्ने जनाइएको छ । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । 

गत संस्करणको मुख्य प्रायोजक विजय डिस्टिलरीको रुस्लान क्रिकेटले डिपिएललाई यस वर्ष पनि मुख्य प्रायोजनको निरन्तरता दिएको छ । विजय डिस्टिलरी र आयोजककाबीच यस संस्करणका लागि नगद र जिन्सी गरी रु एक करोड १० लाखको कीर्तिमानी सम्झौता भएको थियो । 

आगामी तीन वर्षका लागि रुस्लानले डिसिएसँग मुख्य प्रायोजन सम्झौता गरेको हो । देशकै सर्वाधिक ठूलो धनराशीको क्रिकेट प्रतियोगिताका रुपमा विसं २०७३ र २०७४ मा डिपिएलको पहिलो र दोस्रो संस्करण सम्पन्न गरिएको थियो । डिपिएल प्रतियोगिता देशमै पहिलोपल्ट छवटा फ्रेन्चाइजी शहरका नाममा टोली बनाउँदै अक्शन गराउने प्रतियोगिता पनि हो । डिपिएलको पहिलो र दोस्रो संस्करणको विजेता टिम चौराह धनगढी हो । पहिलो संस्करणमा उसले विराटनगर किङ्ग्स र दोस्रो संस्करणमा काठमाडौँ गोल्डन्सलाई पराजित गर्दै उपाधि उचालेको थियो । 

पहिलो संस्करणको डिपिएलको बजेट रु एक करोड ८२ लाख रहेकामा जम्मा पुरस्कार राशि रु २८ लाख ५० हजार थियो । यस्तै दोस्रो संस्करण रु तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएकामा विजेतालाई रु २५ लाखसहित जम्मा रु ५० लाख बराबरको पुस्कार प्रदान गरिएको थियो । 

दोस्रो संस्करणमा झैँ यस संस्करणमा प्रतियोगिताको उद्घाटन समारोहमा डिसिएले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी एक पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप रु एक÷एक लाख प्रदान गर्ने तयारी छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved