‘कोपा डेल रे’मा आज एल–क्लासिको भिडन्त, बार्सिलोना मेस्सी बिना मैदान उत्रिने संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2019 | 04:33:47 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस कोपा डेल रे कपमा बुधबार राति बार्सिलोना र रियल मड्रिड भिड्दैछन् । नेपाली समयअनुसार आज राति पौने २ बजे बार्साको घरेलु मैदान क्याम्प नाउँमा सुरु हुनेछ । दुवैबीच कोपा डेल रे कपको फाइनल प्रवेशको पहिलो लेग खेल हुन लागेको हो । दोस्रो तथा निर्णायक लेग मड्रिडको घरेलु मैदान सान्टियागो बर्नेबेउमा आगामी २८ तारिखमा हुनेछ ।

गतवर्षको अक्टोबरमा यसै सिजनको ला लिगामा मेस्सी विहीन बार्साले मड्रिडलाई ५–१ ले पराजित गरेको थियो । आज मड्रिड बार्सा विरुद्ध बदला लिने दाउमा छ ।

आजको खेलमा बार्साले मेस्सीलाई मैदान उतार्नेमा शंका छ । गत सोमबारको ट्रेनिङमा मेस्सी उपस्थित नभएपछि मेस्सीले एल–क्लासिको नखेल्ने अनुमान गरिएको थियो । यद्यपि मंगलबार भने मेस्सी प्रशिक्षणमा सहभागी भए । उनलाई प्रशिक्षक अर्नेस्टो भेलभार्देले खेलाडी सूचीमा समेत राखेका छन् । तर अझै उनले आजको खेल खेल्ने नखेल्ने अन्यौल छ । मेस्सी गत शनिबार रातिको भ्यालेन्सिया विरुद्धको खेलमा थाइ इन्जुरीका कारण घाइते छन् । प्रशिक्षक अर्नेस्टो भेलभार्देले टिमले मेस्सीलाई अन्तिम समयसम्म पनि पर्खने बताएका छन् ।

ला लिगामा गत अक्टोबरमा ५–१ को पराजयसँगै मड्रिडका प्रशिक्षक जुलेन लोपेटगी बर्खास्त भएका थिए । उनको स्थानमा सान्टियागो सोलारीले मड्रिडको प्रशिक्षण सम्हालेका छन् । सोलारी पहिलो पटक एल–क्लासिको सामना गरिरहेका छन् । सोलारीले बार्साको तर्फबाट मेस्सी आजको खेलमा उपस्थित भएपनि नभएपनि रियल मड्रिड बार्सा विरुद्धको खेलका लागी तयार रहेको बताएका छन् ।

बार्सामा लियोनल मेस्सी, लुइस स्वारेज, इभान राकिटिक, सर्जियो बुस्केट्स, जिरार्ड पिके, फिलिप कोटिन्हो, ओउसमान डेम्बेले, टेर स्टेगन, जोर्डी अल्बा, आर्टुरो भिडाल जस्ता स्टार खेलाडी समावेश छन् ।

रियल मड्रिडमा ग्यारेथ बेल, करिम बेन्जेमा, सर्जियो रामोस, लुका मोड्रिच, मार्सेलो, इस्को, क्यासेमिरो, टोनी क्रुज, ड्यानी कार्भाजाल, आसेन्सियोजस्ता स्टार खेलाडी छन् ।

विभिन्न प्रतियोगितामा बार्सिलोना र रियल मड्रिड २ सय ७२ पटक आमने सामने हुँदा बार्साले १ सय १३ पटक जित हासिल गरेको छ भने मड्रिडले ९९ पटक जितेको छ । ६० खेलमा बराबरी भएको छ ।

कोपा डेल रेमा बार्सिलोनाले किर्तिमानी ३० पटक उपाधि उचालेको छ । २३ उपाधिसहित एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको रियल मड्रिडले १९ पटक कोपा डेल रे जितेको छ ।

बार्सिलोना र रियल मड्रिडबीचको खेललाई एल–क्लासिको भनिन्छ । उनीहरुबीचको खेललाई इतिहासदेखिनै महत्वका साथ हेरिएको छ । बार्सिलोना क्लब स्पेनको क्याटालोनिया राज्यस्थित बार्सिलोना शहरमा अवस्थित छ । रियल मड्रिड क्लब स्पेनकै राजधानी मड्रिडमा पर्दछ ।

यसअघि एल–क्लासिकोलाई मेस्सी र रोनाल्डोको भिडन्त भन्ने गरिन्थ्यो । रोनाल्डो यसै सिजन यूभेन्ट्स गएपछि मेस्सी र रोनाल्डोको प्रतिस्पर्धाका रुपमा हेरिने एल–क्लासिकोको अन्त्य भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved