आईसीसी विश्वकप खेल्ने लक्ष्यका साथ नेपाली टोली थाईल्यान्डमा, को छन् प्रतिद्वन्द्वी ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Feb 20, 2019 | 09:07:32 AM मा प्रकाशित

laxmi  sunrise bank

थाईल्यान्डमा म‌ङ्गलवारबाट सुरु भएको महिला विश्वकप छनोटअन्तर्गत एशिया क्वालिफायर २०१९ को पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजित गरेको छ। ब्याङ्ककको तेर्डथाई मैदानमा टस जितेर नेपालले पहिलो ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १२६ रन बनाएको थियो। त्यसका लागि ओपनर सीता रानामगरले ४२ रनको योगदान दिएकी थिइन् भने कप्तान रुविना क्षेत्रीले अविजित ३३ रन तथा अर्की ओपनर काजल श्रेष्ठले १६ रन बनाए। त्यस्तै इन्दु बर्माले १३ रन थपिन्। पछि ब्याटिङ गर्न आएको मलेशियाले पूरै २० ओभर खेल्दा सात विकेटको क्षतिमा ९२ रन मात्र बनाउन सक्यो। नेपालका लागि करणा भण्डारी र सीता रानामगरले दुई-दुई विकेट तथा कविता कुँवर र सरिता मगरले एक-एक विकेट लिएका थिए।

प्रतियोगितामा नेपाल, आयोजक थाईल्यान्ड, यूएई, मलेशिया, चीन, हङकङ र कुवेत गरी एशियाका सात राष्ट्र सहभागी  छन्। प्रत्येक राष्ट्रले एक अर्कासँग खेल्ने राउन्ड रोबिन लिगमा हरेक टोलीले छवटा खेल खेल्नेछन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले प्रतियोगितालाई दुईवटा विश्वकप छनोटको आधार बनाएको छ।

प्रतियोगिताको शीर्ष स्थानमा रहने एउटा टोली सन् २०२० मा हुने टी-२० विश्वकप र सन् २०२१ मा हुने ५० ओभरको महिला विश्वकपको वर्ल्ड क्वालिफायरमा पुग्नेछ। एशियाको प्रारम्भिक छनोटमा शीर्ष स्थानमा रहने टोलीले पाँचवटै महादेशका विजेता, ग्लोबल क्वालिफायर आयोजना गर्ने एउटा राष्ट्र गरी छ राष्ट्र हुनेछन्। त्यसमा सन् २०१८ को टी-२० विश्वकपमा पुछारमा रहेका आयर्रल्यान्ड र बाङ्ग्लादेश सहभागी हुनेछन् र कुल आठ राष्ट्रबीच सन् २०२० मा अस्ट्रेलियामा हुने महिला टी-२० विश्वकपका लागि ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्।

त्यसमा शीर्ष दुई स्थानमा रहने टोलीले विश्वकपमा खेल्नेछ। सन् २०२१ मा न्यूजिल्यान्डमा हुने विश्वकपमा पुग्ने प्रक्रिया भने फरक छ। त्यहाँ पु्ग्न अहिलेको खेलको विजेता टोली सहित पाँचवटै महाद्वीपका पाँच विजेता, सन् २०१७-२०२० को महिला च्याम्पियनशिपको अन्तिम तीन स्थानमा रहने तीन टोली अनि आयरल्यान्ड र बाङ्ग्लादेश गरी कुल १० राष्ट्रका बीच ग्लोबल क्वालिफायर हुनेछ। त्यहाँबाट उत्कृष्ट तीन टोली विश्वकपमा छनोट हुनेछ। छनोटको सबै खेल टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल भएकोले यसमा देशको वरीयता र व्यक्तिगत रूपमा खेलाडीको प्रदर्शनको निम्ति समेत महत्त्वपूर्ण छ। अहिले टी-२० वरीयतामा थाईल्यान्ड १२ औँ स्थानमा छ भने यूएई १४ औँ र नेपाल १६ औँ स्थानमा छ।

महिला क्रिकेटमा नेपाललाई एशियाली क्रिकेटको शक्ति राष्ट्रको रुपमा हेरिँदै आए पनि पछिल्ला वर्षहरूमा थाईल्यान्ड नेपालको मुख्य तगारोको रूपमा देखिँदै आएको छ। गत महिना थाईल्यान्डमा खेलिएको टी-२० स्म्याश क्रिकेटमा पनि नेपाल फाइनलमा थाईल्यान्डसँग सहजै पराजित भएको थियो। यसअघिका चारवटा विश्वकप छनोटमा एशियाको प्रतिनिधित्व गरेको थाईल्यान्डलाई जारी छनोटमा पनि मुख्य दाबेदार राष्ट्रको रूपमा हेरिएको छ। नेपालले अर्को खेल फेब्रुअरी २१ मा थाईल्यान्डविरुद्ध खेल्दैछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved