कहिल्यै नरोकिएका मेस्सी !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 02:59:25 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिनी स्टार लियोनल मेस्सीले फुटबलबाट सन्यास लिएपछि सबैभन्दा बढी सम्झिनेछ स्पेनिस क्लब बार्सिलोनाले । बार्साले यसकारण मेस्सीलाई भुल्न सक्दैन कि उनले कहिल्यै निराश बनाएका छैनन् । क्लबको लागि दर्जनौं उपाधि र उपलब्धी दिलाएका छन् । 

शनिबार राति लिभान्टेविरुद्ध निर्णायक गोल गर्दै मेस्सीले बार्सिलोनाका लागि २६ औं ला लिगा जिताए । १० नम्बरका मेस्सीको यो १०औं ला लिगा उपाधि हो । 



यससँगै मेस्सी बार्साका सर्वाधिक ला लिगा जित्ने खेलाडी बने । दोस्रो स्थानका इनियस्टाले ९ ला लिगा जितेका छन् भने जाभिले ८ पटक ला लिगा जितेका छन् । 

शनिबारको ला लिगासँगै मेस्सीले बार्साका लागि ३४ उपाधि जितिसके । मेस्सी बार्साका सर्वाधिक गोलकर्ता समेत हुन् । उनको प्रत्येक गोल खेलका लागि निर्णायक सावित हुने गरेको छ । उनले बार्साबाट ५ सय ९८ गोल गरिसकेका छन्।


यस सिजन ला लिगा जितेका मेस्सी ट्रेबल (तीनवटा लिग) जित्ने होडमा छन् । बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ भने कोपा डेल रे कपको फाइनलमा पुगेको छ । 

यी दुवै उपाधि हात पारे मेस्सीले ट्रेबल जित्नेछन् । जसले मेस्सीलाई बालुन डि’ओर, फिफा वर्ष खेलाडी, युरोपियन वर्ष खेलाडीको ताज पाउनबाट कसैले रोक्नेछैन । 

मेस्सी पाँच पटकका बालुन डि’ओर र पाँच पटकका किर्तिमानी युरोपियन गोल्डेन बुट विजेता समेत हुन् । मेस्सीले बालुन डि’ओर र गोल्डेन बुट थप्ने हुन् या त्यसको संख्या यथावत् रहने हो यस पटकको बाँकी नतिजाले निर्धारण गर्नेछ ।

मेस्सी यसपटक राम्रो लयमा पनि देखिएका छन् । बार्सामा १५ वर्षदेखि खेलिरहेका मेस्सी हाल ३१ वर्षका भए । उनी आफ्नो प्रदर्शनमा कुनै कमी महशुस गराउने पक्षमा छैनन् । 


मेस्सी यस सिजन ला लिगा र च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन् । ला लिगामा मेस्सीले ३४ गोल पुरा गरिसकेका छन् । च्याम्पियन्स लिगमा उनको १० गोल पुगेको छ ।

यसले गर्दा उनी आफ्नो छैठौं युरोपियन गोल्डेन बुट नजिक पनि छन् । गोल्डेन बुट प्रतिस्पर्धामा मेस्सीका लागि ३० गोल गरेका केलिएन एमबाप्पे मात्र एक्ला प्रतिस्पर्धी हुन् । 

एजेन्सी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved