६२ बर्षपछि एसियन फुटबल फेडेरेसन एएफसीको उपाधि जितेर इतिहास रचेको नेपाली राष्ट्रिय फुटबल टोली आज नेपाल फर्कदै छ । नेपालले मलेशियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि हात पार्दै ६२ बर्षको उपाधि बिहीन खडेरी तोडेको हो । गएराती भएको फाइनल खेलमा नेपालले मकाउलाई १-० ले पराजित गर्दै उपाधि हात पारेको हो । सुजल श्रेष्ठले २९ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
इतिहास रचेको नेपाली राष्ट्रिय फुटबल टोली आज राती ८:३० बजे नेपाल आईपुग्दै छ । अखिल नेपाल फुटबल संघ एन्फाले सम्पूर्ण फ्यानहरुलाई विमानस्थलमा उपस्थित भएर खेलाडीको स्वागत गर्न आग्रह गरेको छ । साथै खेलाडीहरुलाई नगर परिक्रमा समेत गराइने भएको छ ।
यस्तो छ नगर परिक्रमाको रुट: र्याली एयरपोर्टबाट सुरु भई गौशाला, बत्तीसपुतली, मैतिदेबी, पुतलीसडक , घण्टाघर, शहिद गेट, न्यु रोड, त्रिपुरेश्वर, थापाथली, कुपन्डोल, पुल्चोक, मंगल बजार, ग्वार्कु हुदै एन्फा कम्प्लेक्समा गएर टुंगिने एन्फाले जनाएको छ ।
सरकारले यस अघि नै टोलीका सदस्यलाई जनही ३ लाख दिने घोषणा गरीसकेको छ ।
एएफसी उपाधिसंगै एक बर्षमा नेपाललाई लगातार तेस्रो ठुलो उपाधि प्राप्त भएको छ। नेपालले यस अघि गत माघमा बंगलादेशको बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो भने भारतमा सम्पन्न साग गेम्स अन्तर्गत फुटबलमा स्वर्ण जितेको थियो ।