एसिया कपमा महिला टोलीको खस्कदो प्रदर्शन: के रहे समस्या ? के हुन् सक्छन समाधान ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2016 | 04:07:47 PM मा प्रकाशित

laxmi  sunrise bank

हालै थाईल्याण्डमा सम्पन्न टि–ट्वान्टी महिला एसिया कप प्रतियोगितामा नेपालले लज्जास्पद प्रदर्शन गर्यो। नेपालले सबै ५ खेलमा पराजय मात्र बेहोरेन कुनै पनि खेलमा पुरै २० ओभर टिक्न सकेन ।

नेपालले सबै भन्दा लज्जास्पद हार च्याम्पियन भारतसंग बेहोर्यो। नेपालले भारतसंग १६.३ ओभरमा अल आउट हुदै केवल २१ रन मात्र बनायो । नेपालले अतिरिक्त मार्फत पाएको ८ रन घटाउने हो भने नेपालले बनाएको रन १३ रन मात्र हुन् आउछ । त्यस खेलमा नेपालको लागि सरिता मगर बनाएको ६ रन नै सर्बाधिक रह्यो । ५ खेलाडी त शुन्य रन मै आउट भए । नतिजा नेपाल ९९ रनले पराजित गर्यो ।

त्यस्तै श्रीलंकाको संग खेलमा नेपालले अर्को लाजमर्दो प्रदर्शन गर्यो । त्यस खेलमा ८ खेलाडी शुन्य रनमा आउट भए । त्यस खेलमा केवल ३ जनाले खाता खोले । कप्तान रुबिना क्षेत्रिले १, सिता मगरले ४ तथा ज्योति मगरले १६ रन जोडिन । २३ रन मात्र बनाएको नेपालले त्यस खेलमा नेपाल ८ व्केटको पराजय बेहोर्यो । त्यस्तै नेपालले पाकिस्तानसंग ९ विकेटको, बंगलादेशसंग ९२ रनको हार बेहोर्यो ।

तुलानात्मक रुपमा नेपालले थाईल्याण्डसंग केहि सम्हालिएको प्रदर्शन गर्यो । नेपालले थाईल्याण्डसंग सर्बाधिक ६३ रन जोड्यो । जसमा ११ रन अतिरिक्त मार्फत आएको थियो । साथै नेपाल सर्बाधिक १९.५ ओभर सम्म टिक्यो । त्यस खेलमा केहि सुधारिएको प्रदर्शन गरेको भए पनि बलिंग चल्न नसक्दा ८ विकेटले पराजित भयो।

व्यक्तिगत स्कोर नियाल्ने हो भने पुरै प्रतियोगितामा ४ पटक मात्र दोहोरो रनको स्कोर बन्यो । जसमा ज्योति पाण्डेको २ स्कोर छ । उनले थाईल्याण्डसंग र श्रीलंकासंग समान १६-१६ रन जोडिन । अन्य २ स्कोर ज्योति मगर (बंगलादेशसंग १५ रन) र रुबिना क्षेत्रि (पाकिस्तानसंग ११ रन) को नाममा रह्यो ।

पुरै प्रतियोगिता भर ३ खेलाडीले १ रन पनि जोड्न सकेनन् । त्यसमा ४ खेल खेलेकी सरस्वती कुमारी, ३ खेल खेलेकी सबनम राइ र १ खेल खेलेकी सोभा आले छन् । त्यस्तै पुरै प्रतियोगितामा नेपालले १२ विकेट मात्र लिन सक्यो । जसमा रुबिनाको नाममा मात्र ४ विकेट छ ।

प्रतियोगिता भर नेपालले ५ खेलमा गरी जम्मा १ सय ९५ रन (अतिरिक्त सहित) बनायो । तर प्रतियोगिताकी सर्बाधिक स्कोरर भारतकी मिथला राज एक्लैको नाममा २ सय २० रन छ । उनको उच्चतम स्कोर ७३ हो । नेपालले सर्बाधिक टिम टोटल भनेको ६३ रन हो, जुन थाईल्याण्डसंगको खेलमा बनेको थियो ।

टि २० क्रिकेटमा हरेक बलमा रन बनाउनु महत्वपूर्ण हुन्छ । त्यो सम्भव नभए हरेक ओभरमा स्कोर गर्नै पर्छ । तर नेपाली टोलीले धेरै मेडन ओभर खेल्यो अर्थात् त्यस ओभरमा कुनै पनि रन जोड्न सकेन ।

नेपालले यस अघि सन् २०१२ मा पनि एसियाकपमा सहभागिता जनाएको थियो । त्यस समय पनि नेपालले सबै खेल गुमाएको थियो तर त्यस अहिलेको जस्तो लाजमर्दो प्रदर्शन भने भएको थिएन ।

कहाँ रहे समस्या ?

खेलाडी छनौट मै विवाद देखिए। खेलाडीहरुबाट नै राम्रा भन्दा हाम्रा खेलाडी छनौट भएको आवाज हरु उठ्न थाले । हङकङमा नेपालको तर्फबाट अलराउण्ड प्रदर्शन गरेकी निर्मलाकुमारी शाही टिममा परिनन । विश्वकप छनोटमा थाइल्याण्ड विरुद्धको पहिलो खेलमा निर्मलाले मात्र दोहोरो अंक स्कोर गर्दै ३६ रन बनाएकी थिइन् भने सर्वा्धिक ४ विकेट लिएकी थिइन ।

साथै हङकङमा नेपालको प्रशिक्षक रहेका राजु बस्न्यातले महिला खेलाडीहरुमाथि यौन दुर्व्यवहार गरेको तथा गाली गरेको जस्ता घटना सार्वजनिक भयो। तर फेरी उनैलाई नै प्रशिक्षकजी जिम्मेवारी सुम्पदा खेलाडीको मनोबल खस्केको तथा एक प्रकारको भय सिर्जना भएको हो कि भन्ने आंकलन गरिएको छ ।

नेपाली टोलीमा आत्माबिश्वासको कमी देखियो । हरेक खेलमा ब्याटिंग अर्डर परिवर्तन गरेको देखिन्छ । ठुला प्रतियोगिता ‘एक्स्पेरिमेन्ट’ गर्ने थलो होइन । क्रिकेटमा ओभरको पहिलो बल खेल्ने रणनीति र अन्त्य तिरको बल खेल्ने रणनीति फरक हुन्छ । यस कारण ब्याटिंग पोजिसन धेरै हेर फेर गरिनु गलत थियो । खेलाडीले पहिले देखि नै जुन पोजिसनमा खेल्दै आएका थिए त्यहि अनुसार चल्नु पर्थ्यो ।

त्यस्तै पहिलो खेलमा ९ विकेट तथा दोस्रो खेलमा ८ विकेटले पराजित भएपछि नेपाली टोलीको आत्मविश्वास पनि खस्केको देखियो । साथै अभ्यास खेल नहुनु अर्को प्रमुख कारण बन्यो ।

के हुन सक्छन , सम्भावित समाधान ?

पहिलो महिला खेलाडीहरुमाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रशिक्षक राजु बस्न्यात माथि छानविन भएर यदि आरोप प्रमाणित भए कारबाही हुनु पर्छ । प्रमाणित भए उनलाई कुनै पनि क्रिकेट सम्बधित कार्य गर्न नपाउने गरी निलम्बन गरिनु पर्छ । अहिलेको टोलीमा उनकै कारणले खेलाडीहरु माझ भय र त्रासका कारण खुलेर खेल्न नसकेको देखिन्छ । साथै खेलाडीहरुले व्यक्तिगत सुरक्षा समेत नपाएको महशुस गरेको हुन् सक्छ । अहिले क्रिकेट समर्थकहरुले उनको राजीनामाको माग गरिरहेका छन् ।

साथै कप्तान रुबिना क्षेत्रीको भूमिकामा पनि प्रश्न उठ्न थालेको छ । उनी माथि टिमको 'युनिटी' बिगारेको, राम्रा खेलाडिलाई बाहिर ल्याएर आफ्ना दिदि बहिनि तथा नातेदारलाई टोलीमा ल्याएको, जिम्मेवारी सम्लाहना नसकेको आरोप लाग्दै आएका छन् । जितको प्रदर्शनमा कप्तानको भूमिका महत्वपूर्ण हुन्छ । यदि उनले सोहि जिम्मेवारी निभाउन सक्दिन्न भने र टोलीमा आफन्तलाई ल्याउन बल जोड गर्छिन भने कप्तानको बिकल्प खोजिनु पर्छ ।  

दोस्रो, भविष्यमा हुने प्रतियोगिताको लागि अहिले पुरुष यु १९ टोलीको लागि गरिए जस्तै गरी देशभरबाट ‘प्लेयर हन्ट’ मार्फत खेलाडी छनौट गर्नु पर्छ । त्यसो गर्दा देशका कुना काप्चामा अवसर नपाएर बसेका ‘म्याच विनर’ तथा नयाँ प्रतिभाहरु राष्ट्रिय टोलीमा आउछन्। यसले टोलीलाई नयाँपन दिनुको साथै टोली सशक्त बनाउछ । यसले खेलाडी छनौटमा पारदर्शिता ल्याउनुको साथै हाम्राको स्थानमा राम्रा खेलाडी आउने छन् ।

तेस्रो, महिला क्रिकेटको प्रशिक्षण टोलीमा एक जना महिला प्रशिक्षक भए, उनीहरुले खुलेर कुरा गर्न सक्ने, आत्माविश्वास बढ्ने, व्यक्तिगत सुरक्षा महशुस गर्न सक्छन् । प्रशिक्षक माथि नै यौन दुर्व्यवहारको आरोप लागेको बेला अब आउने खेलाडीलाई ‘आफु सुरक्षित छु’ भन्ने महशुस गराउनु महत्वपूर्ण पाटो हो । मुख्य प्रशिक्षक पुरुष नै भए पनि प्रशिक्षण टोलीमा एक जना महिला प्रशिक्षक भए खेलाडीलाई निकै सहज हुन् सक्छ ।

चौथो, निरन्तर अभ्यास तथा स्थानीय तहमा पनि प्रतियोगिताको आयोजना। सफलता प्राप्त गर्न अभ्यासको एकदमै जरुरत हुन्छ । अन्तराष्ट्रिय प्रतियोगिता सुरु हुनु भन्दा २-३ हप्ता अघि अभ्यास गरेर खेल जित्न कठिन छ । अन्तराष्ट्रिय टोलीहरुले बर्ष भरी अभ्यास गरेका हुन्छन् , र उनीहरुसंग बिना अभ्यास खेल्न कठिन हुन्छ । अहिले कमजोर प्रदर्शन हुनुमा पनि अभ्यास नहुनु एउटा पाटो हो। स्थानीय तहमा प्रतियोगिता भए खेलाडीले निरन्तर अभ्यास पाउछन्, यसले उनीहरुलाई फित राख्नुको साथै आत्मबल पनि बढ्छ । यसर्थ स्थानीय प्रतियोगिताको आयोजना गर्न प्रोत्साहन गर्नु पर्छ ।

साथै प्रतियोगिता सुरु हुनु अघि बाहिरका देशहरुसंग वा त्यहाका स्थानीय क्लबहरुसंग पनि अभ्यास खेल खेलिए त्यहाको मैदान, पिचको बारेमा खेलाडीलाई जानकारी हुन्छ र त्यहि अनुसार खेलाडीले तयारी गर्न सक्छन । बाहिरका टोलीपनि मुख्य प्रतियोगिता अघि अभ्यास खेलको खोजीमा हुन्छन्  ।  अभ्यास खेल आयोजना गर्न सके प्रतियोगिता अगाडी आत्मबल बढ्छ  ।

नेपाली राष्ट्रिय पुरुष टोलीले सफलताको शिखर चुम्नुमा बाहिर खेलिएका अभ्यास खेलको महत्वपूर्ण योगदान छ । त्यसबाट पाठ सिक्नु पर्छ ।

साथै नेपाल भित्रै अभ्यास तथा स्थानीय तहको प्रतियोगिताको लागि उपयुक्त मैदान अत्याबश्यक छ । यसको लागि बन्दै गरेका मुलपानीका मैदानहरु समयमा सक्नुको बिकल्प छैन ।

अन्त्यमा मैदानमा गएर प्रदर्शन गर्ने भनेका खेलाडी हुन । उनीहरुले आफु मात्र नभई पुरा देश खेलिरहेको छ भन्ने बुझेर कुनै डर धम्की बिना स्वतन्त्र भई आफ्नो सिप र क्षमताले खेल्न सके  नतिजा अबश्य पनि राम्रो हुने छ ।

हाल क्रिकेट संघ निलम्बनमा रहेको समयमा यी सब हुन् कठिन छ । अत: क्रिकेट संघको विवाद तत्काल समाधान गरेर अघि बढ्नु नै अहिलेको आवश्यकता हो । यसमा सबै खेल प्रेमी, क्रिकेट समर्थकहरुले चासो राखेर खबरदारी समेत जारी राख्नु पर्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved