पीपीएलमा पारस नेतृत्वको चितवन फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2019 | 05:38:31 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज आफ्नो लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोल्डेन वारियर्सलाई ६० रनले हराउँदै चितवन फाइनलमा प्रवेश गरेको हो । साविक उपविजेता राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का नेतृत्वको चितवनले लिग चरणका पाँचै खेलमा अपराजित रहँदै समूह विजेता बनेर १० अङ्क जोडेको छ । 

आजको हारसँगै राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको टोली प्लेअफ खेल्न बुधबार बुटवल र विराटनगरबीचको खेलको नतिजा कुर्नुपर्ने अवस्थामा छ । आजको खेलमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको चितवनले पूरै ओभर खेल्दै ४ विकेट गुमाएर १६७ रनको योगफल तयार पारेको थियो । १६८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा आएको काठमाडौँले २० ओभरमा पूरै विकेट गुमाउँदै १०७ रन मात्रै बनाउन सक्यो । काठमाडौँका कप्तान मल्लले ३९ बलमा ४० रन जोडे । त्यस्तै पवन सर्राफले १९ बलमा २७ तथा पृथु बास्कोटा २३ बलमा १८ रन जोडे । 

चितवनका शुरुवाती ब्याट्सम्यान रोहन मुस्ताफा तथा तेस्रो क्रममा इनिङ्स सम्हाल्न आएका बाबर हायातले अर्धशतकीय पारी खेले । खेलको ‘म्यान अफ दी म्याच’ मुस्ताफाले अविजित रहँदै ५२ बलमा ५९ रन जोड्दा हायातले ४७ बलमा ७० रन जोडे । 

बुधबार लिग चरणको अन्तिम खेल समूहमा दोस्रो स्थानमा रहेको बुटवल व्लास्टर्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । बुटवलले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ भने विराटनगरलाई प्लेअफमा पुग्न फराकिलो अन्तरको जीत आवश्यक छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved