विश्वकप लिग २ः नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सिरिज स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2020 | 10:00:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले नामिबियामा खेल्ने भनिएका एकदिवसीय सिरीज स्थगित भएको छ । कोरोना भाइरसको फैलदो संक्रमणका कारण आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको नामिबिया त्रिकोणात्मक सिरिज स्थगित भएको हो । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आगामी जुन ३० तारिखसम्मका लागि नामिबिया सिरिजलगायत सबै प्रतियोगिता स्थगित गरिएको सूचना सार्वजनिक गरेको छ । 

आइसीसीले नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सातौँ चरणको त्रिकोणात्मक सिरिज आगामी वैशाख ८ देखि १५ गतेसम्म गर्ने तालिका सार्वजनिक गरेको थियो । 

आइसीसीले प्रेस विज्ञप्ति जारी गर्दै लिग दुईअन्तर्गतकै पपुपा न्यू गिनीमा हुने भनिएको नेपाल, पपुवा न्यू गिनी र युएईबीचको सिरिजसमेत स्थगित गरेको छ । आठौँ चरणको उक्त त्रिकोणात्क सिरिज आगामी जुन ९ देखि १६ तारिखसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । 

चैत १९ देखि २६ गेतसम्म हुने तय भएको लिग दुईअन्तर्गतको छैटौँ चरणको अमेरिका, संयुक्त अरब इमिरेटस् (युएई) र स्कटल्याण्डबीचको सिरिज पनि रद्द भइसकेको छ । 

 स्थगित भएका सिरिज सेप्टेम्बरमा गर्ने आइसीसीले जनाएको छ । आइसीसी विश्वकप लिग दुई २०२२ सम्म सञ्चालन हुनेछ । नेपालसहित अमेरिका, स्कटल्याण्ड, ओमान, युएई, नामिबिया र पपुवा न्यू गिनी छन् । यी सबै देशले ३६ एकदिवसीय खेल खेल्ने छन् ।

लिगको शीर्ष तीन टोली सन् २०२३ को विश्वकप क्रिकेटको छनौटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेञ्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकप छनौट सन् २०२२ मा आयोजना हुनेछ । छनौटको विजेता र उपविजेताले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेट खेल्न पाउने छन् । 

नेपालले माघ तेस्रो साता घरेलु मैदानमा ओमान र अमेरिकासँग विश्वकप लिग दुईको पहिलो त्रिकोणात्मक सिरिज खेलको थियो । उक्त सिरिजमा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो भने अमेरिकासँगका दुबै खेलामा जित हात पारेको थियो । नेपालले हालसम्म खेलेका चार खेलमा दुईमा जित तथा दुईमा हारका साथ चार अङ्क जाडेको छ । नेपालले लिग दुईअन्तर्गत अब ३२ खेल खेल्न बाँकी छ । 

लिग दुईमा हाल शीर्ष स्थानमा रहेको ओमानले १० खेलमा आठमा जित तथा दुईमा हारसँगै १६ अङ्क बनाएको छ । लिगको दोस्रो स्थानमा रहेको अमेरिकाले १२ खेलमा छ मा जित तथा छ मा हारसँगै १२ अङ्क बनाएको छ । स्कटल्याण्ड आठ खेलमा चारमा जित तथा तीनमा हारसँगै तेस्रो स्थानमा छ । नामिबिया सात खेलमा चारमा जित तथा तीनमा हारसँगै चौथो स्थानमा छ । युएई सात खेलमा तीनमा जित तथा तीनमा हार ब्यहोर्दै लिगको पाँचौँ स्थानमा छ । नेपाल चार अङ्क बटुल्दै छैठौँ स्थानमा छ भने पपुवा न्यू गिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved