एएफसी एसियन कप छनोट: भोलि नेपाल र यमन भिड्दै, के भन्छन् दुवै टोलीका प्रशिक्षक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 12, 2017 | 06:03:57 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त अरब इमिरेट्स (युएई) मा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत भोलि नेपाल र यमन भिड्दै छन्  ।  नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले यमनविरुद्धको खेलमा नेपाली टोली तयार रहेको बताएका छन् । 


अखिल नेपाल फुटबल सङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कोजीले यमनविरुद्धको खेलमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गर्दै यमन गाह्रो प्रतिद्वन्द्वी रहेको टिप्पणी गरे । 

उक्त प्रतियोगिताको तयारीका लागि नेपालले एक साताअघि भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो जसमा नेपाल भारतसँग २–० गोलअन्तरले पराजित भएको थियो । 

यता यमनका प्रशिक्षक इब्राहिम मेब्रातोल र कप्तान अरस मोहम्मद इब्राहिमले आफूहरु नेपालसँग खेल्न शारीरिक तथा मानसिक रुपमा तयार रहेको बताए । 

त्यसैगरी, उक्त खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । टोलीको गोलकिपरमा विकेश कुथु, किरणकुमार लिम्बू र एलन न्यौपाने छन् । 

त्यसैगरी, डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दिनेश राजवंशी र मानबहादुर तामाङ छनोटमा परेका छन् । 

यस्तै, मिडफिल्डमा सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अञ्जन विष्ट, हेमन्त थापा मगर, राजेन्द्र रावल, हेमन गुरुङ तथा सुनिल बल रहेका छन् भने फरवार्डमा नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ र विमल घर्तीमगर रहेका छन् । यस खेलबाट अनिल गुरुङले भने राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका हुन् । 

सोही प्रतियोगिताको छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो । भोलि दिउँसो ३ः०० बजे हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा खेल हुनेछ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved