बैंक खोलेर कलेज नखोल्दा न्यौपानेलाई अझै पछुतो, संघर्षले बनायो हाइड्रोको गुरु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Feb 01, 2020 | 12:52:28 AM मा प्रकाशित

laxmi  sunrise bank

गुरु प्रसाद न्यौपाने उमेरले ७० वर्ष कटिसके। अरुको लागि यो उमेर ‘रि टायर्ड’ अर्थात् अवकाशप्राप्त जीवन बिताउने समय हो । तर न्यौपानेलाई भने अझै धेरै गर्नु छ । उनी थाकेका छैनन् । थापाथली स्थिति ट्रेड टावरको चौथो तलामा आफ्नो हाइड्रोपावर परियोजनाको कार्यालयमा सधै जसो व्यस्त भेटिन्छन् । 

व्यस्त नहुन पनि किन ? बैंकरको पहिचानलाई बदलेर ४५ बर्षको उमेरमा हाइड्रोमा हात हालेका न्यौपानेको काँधमा अहिले सात-सात वटा जलविद्युत आयोजनाको जिम्मेवारी छ। उनको कम्पनीहरुले उत्पादन गरेको बिजुली देशको निजि क्षेत्रले उत्पादन गरेको कुल बिजुलीको ५ प्रतिशत हिस्सा हो। 

न्यौपाने हालको प्रदेश नम्बर १ को भोजपुर जिल्लाको बोखिममा जन्मेका हुन् । उनको पुर्ख्यौली पेश कृषि नै थियो । उनले भोजपुर मै एसएलसी दिए । २०२७ सालमा उनको परिवार भोजपुरबाट मोरङ बसाईसराई गर्यो । मोरङमा आईकम सके । त्यहाँबाट कहिले विराटनगर त् कहिले काठमाडौँ बस्न थाल्यो उनको परिवार। हाल भने उनी लगायत परिवारका अन्य सदस्य समेत काठमाण्डौ कै बासिन्दा भईसकेका छन।

उनी आफुलाई अर्थशास्त्री भन्न रुचाउछन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेका छन् । टियुमा एमए सकेको ३ वर्ष मै उनले छात्रवृत्तिमा थाईल्याण्ड गएर पढ्ने अवसर पाए । अवसरलाई सदुपयोग गर्दै उनले थमासाट युनिभर्सिटीबाट फाइनान्सियल इकोनोमिक्समा डिग्री गरे।  अर्थात् उनीसँग अर्थशास्त्र मै डबल डिग्री छ।

उनले आफ्नो जीवनको उर्जावान समय नेपाल राष्ट्र बैंकमा बिताए । राष्ट्र बैंकमा सहायक खरदार पदबाट जागिर सुरु गरेका उनी फस्ट क्लास अफिसरसम्म बने । तर उनलाई आफ्नो बैंकको करियर त्यहाँबाट माथि जान्छ जस्तो लागेन । अनि उनले उमेर बाँकि छदै अवकाश लिए । उनी सम्झिन्छन् ‘सायद त्यो बेला ४५ वर्षको उमेरको थिए होला, तर मैले रिटायर्डमेन्ट रोजे’ । उनले अझै पनि राष्ट्र बैंकबाट मासिक पेन्सन पाउँछन् । 

उनलाई केहि नयाँ गर्नु थियो । त्यहि समय देशमा बहुदलीय सरकार आयो । विद्युत सम्बन्धि नीति बन्यो । उनले विदेशमा अध्ययनको क्रममा नदीनालामा बगेको पानीबाट बिजुली निकाल्न सकिन्छ भन्ने अध्ययन गरेका थिए । यो उनको लागि नयाँ विषय थिएन । उनले नेपालमा पनि त्यसै गरी बिजुली उत्पादन गर्ने अठोट लिए । अनि साथीभाईसँग मिलेर २०५३ सालमा ‘अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी’ जन्माए। त्यस समयदेखि आफुले अहिलेसम्म नेपालमा जलविद्युतको विकासको लागि काम गरिरहेको बताउछन् । साथै आजको दिनमा ५ सयलाई आफुले प्रत्यक्ष रोजगारी दिएको उनी गर्व साथ बताउछन् । 

सुरुका दिन स्मरण गर्दै उनी भन्छन् "हामीले पानीबाट बिजुली निस्कन्छ भनेर काम सुरु गर्दा कसैले पनि पथ्याउथेनन, काम आधा भईसक्दा समेत पागल भन्थे, दुख दिनेको जमात ठुलो थियो, त्यसमाथि प्रविधिको अभाव, माओवादी समस्या त् छदै थियो।" 

उनले विन्डरक इन्टरनेशनलको रिन्युएबल इनर्जी सपोर्ट प्रोग्रामका प्रमुख विकास पाण्डेको भरपुर सहयोग प्राप्त गरे । तिनै पाण्डे गुरुप्रसादका गुरु थिए, जसले हाइड्रोपावरमा निरन्तर घच्घच्याउने काम गरे । पाण्डेसंगै रत्न समशेर श्रेष्ठले आफ्नो समुहलाई निरन्तर सहयोग गरेको उनलाई सम्झना छ ।

सुरुको समयमा उनीहरुलाई आयोजना बनाउन ऋण जुटाउन कठिन भयो । तर बैंक अफ काठमाडौंका अध्यक्ष डा. ठाकुर नाथ पन्तले नै यो क्षेत्रलाई पनि विकास गर्नु पर्छ भनेर ऋणको चाजोपाजो मिलाईदिएको न्यौपाने बताउछन्। त्यसबेला बैंकले २४ करोड ऋण दिएको र त्यो ऋणको साँवा र ब्याज सबै समय मै तिरेको र ५ वर्षमा सबै ऋण चुक्ता गरेको उनी गर्वका साथ सुनाउँछन। त्यहि ऋण र आफ्नो लगानीले पहिलो आयोजनाको रुपमा पिलुवाखोला बनाएको उनी बताउछन्। आजको दिनमा बैंकहरुले जुन मोडलमा हाइड्रोपावरमा लगानी गरिरहेका छन त्यसको मोडल भनेको पिलुवाखोला नै भएको र अहिलेको मोडलको योगदान त्यहि पिलुवाखोलालाई जाने न्यौपाने बताउँछन। 

यति मात्र होइन उनकै कम्पनी अरुण भ्याली नेपाल स्टक एक्सचेन्जमा सुचिकृत हुने पहिलो जलविद्युत कम्पनी बन्यो । यो मोडल बैंकले पनि रुचाएको र अन्य धेरै कम्पनी आएको उनी बताउछन् । यद्यपि उनी आफुले बनाएका कुनै पनि आयोजना हालसम्म घाटामा नगएको दाबी गर्छन । 

हाल उनको समुह ७ वटा आयोजनामा संलग्न छ । उनी अरुण भ्याली, रिडी, रैराङ, नौगाड, अपर नौगाड, कावेली पी वान, हेवा खोला संलग्न छन् । साथै उनी बुटवलको तिलोत्तमामा नेपाल कै ठुलो ८.५ मेगावाटको सोलार पावर प्लान्ट समेत बनाउन लागि परेका छन् । 

हाइड्रो क्षेत्रमा आफ्नो उपलब्धिको लागि अर्को स्मरण गर्ने नाम तत्कालिन उपप्रधान तथा उर्जा मन्त्री शैलजा आचार्य र जलस्रोतमन्त्री प्रदिप नेपाल रहेको उनी बताउछन् । आचार्यले नै ऐन बनाएको, पिपिएको ब्यबस्था गरेको, लाईसेन्सको व्यवस्था गरेको र नमुना परियोजनाको रुपमा चिलिमेलाई आगाडी बढाएको उनी सम्झन्छन् । चिलिमे कै मोडालिटीलाई आफुले र अन्यले पनि जलविद्युत बनाउन थालेको न्यौपाने बताउछन् । 

आफ्नो मेहनत र सफलताबारे उनी भन्छन् ‘ म १२ घण्टा काम गर्छु, मेहनत गर्छु, विदाको दिन पनि काम गर्छु’ । तर उनी अगाडी भन्छन् ‘यदि अरुले पनि यसरी मेहनत गरेर लाग्छ भने जो सुकैले पनि गर्न सक्छु, मैले मात्र गर्न सक्ने भन्ने म भन्दिन्न ‘। 

७० वर्ष कटे पनि काम गर्न सकिने उनी बताउछन् । उनी भन्छन् ‘ ७० कटेपछि पनि काम गर्न सकिन्छ, विदेशमा पनि ७० कटेपछि पनि काम गर्छन, हल्का फुल्का काम गर्न सकिन्छ, एडभाईजरी गर्ने, सल्लाह सुझाव दिने काम गर्नु पर्छ’ ।

मोडालिटी चेन्ज गर्नुपर्छ 

अहिले देशभर हाइड्रो बनेको देख्दा खुसी लागेपनि अब भने हाइड्रो आयोजनालाई नाफामुलक बनाउन मोडालिटी परिवर्तन गर्नु पर्ने न्यौपाने बताउछन् । अब हाइड्रोसँग जोडेर अन्य क्रियाकलाप नगरे पुरानो मोडालिटीबाट अब नाफा नहुने उनको बुझाई छ । उनी भन्छन् ‘ अब हाइड्रोसँगै पर्यटन, कृषि, उत्पादनपी जोडिनु पर्छ’ । 

निजि क्षेत्रले गरिरहेको काममा अब सरकारले हस्तक्षेप् गर्न थालेकोले अब निजि क्षेत्रले पनि दायरा फराकिलो पार्नु पर्ने उनको बुझाई छ । हाइड्रो बनाउन ठुलो लगानी चाहिने र लगानी जुटाउने माध्यम पुँजीबजार नै भएकोले अब हाइड्रोको लागि पनि डेब्ट मार्केट लगायतका नयाँ वित्तीय औजारहरु आवश्यक पर्ने उनी बताउछन् । उनी भन्छन् ‘ पुँजी जुटाउन अब हाइड्रोलाई पनि ऋणपत्र निष्काशन गर्न दिनु पर्यो, त्यसलाई विदेशमा पनि लैजान पाउनु पर्छ’ । 

बैंक र लघुवित्तका शेयरमा खेल्नु पर्ने खेलाडीहरु हाइड्रोको शेयरमा आएर खेल्न्दा हाइड्रो कम्पनीको शेयर मूल्य घटेको उनी बताउछन् । हाइड्रोको शेयर दिर्घकालिन लाभ खोज्ने लगानीकर्ताको लागि भएकोले अन्यलाई यस क्षेत्र मै नआउँन उनको सुझाव छ ।

बैंक खोलेर कलेज नखोल्नु ब्लन्डर गल्ती

हाइड्रोमा ठुलो लगानी गरेपनि आजको दिनमा पनि शिक्षामा लगानी नगरेकोमा पश्चताप लाग्ने गरेको उनी बताउछन् ।  उनी भन्छन् ‘दार्जिलिङ, सिलगुढी, बैंगलोरका मास्टर ल्याएर हामीले पनि कलेज खोल्नु पर्थ्यो, त्यो गरेनौ, अहिले चुकचुक लाग्छ, अब ढिलो भयो।' 

तत्कालिन अर्थमन्त्री रामशरण महतले निजि कलेजको लाईसेन्स खोलेको समयमा लाईसेन्स नलिनु नै आफ्नो जीवनको 'ब्लन्डर' गल्ती भएको उनी बताउछन् । उनी भन्छन् ‘ त्यो बेला त् दिमागमा बिर्को नै लागेछ, आजको दिनमा कलेज चाहियो भने कसैले लाईसेन्स नै दिदैन।'  

बैंक खोल्नुको सट्टा कलेज खोलेको भए त्यसले जित्ने र कलेज नखोल्नु नै अपुरणीय क्षति भएको उनी बताउछन्। उनी भन्छन् ‘३० बर्ष बैंकमा काम गरियो, त्यसकै लहडमा बैंक नै खोलियो, खोलेपछि त्यहि जाकियो, पछि बुद्दी आएर के गर्नु ?, त्यो उर्जावान समय मैले अरु काममा लगाएको भए हुन्थियो जस्तो लाग्थ्यो’ । 

उर्जा साधन बनोस

आफुले धेरै समय उर्जाको क्षेत्रमा काम गरेकोले अब उर्जा साधन माध्यम बनेको हेर्न चाहेको उनी बताउछन् । अब बत्ति बाल्ने मात्र नभई घर घरमा बिजुलीबाट खाना पाकेको, ग्यास विस्थापन भएको, सडकमा विद्युती गाडी गुडेको, सिंचाई नभएको ठाउँमा बिजुलीले पानी त्नाएर सिचाई गरेको, धेरै विजुली खपत गर्ने उद्योग खुलेको, पेट्रोल डिजलको आयात घटेको, होटेलमा बिजुली नै प्रयोग भएको हेर्न चाहेको उनी बताउछन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved