२४ प्रतिशत ब्याजमा व्यवसाय सुरु गरेका कपुरी; लक्ष्य पछ्याउँदा बने सफल अटो व्यवसायी

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 01, 2020 | 01:10:03 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रकाश कपुरी, अटो मोबाइल्स बजारमा परिचित नाम हो । पूर्वबाट उदाएका उनी देख्दा गम्भिर, शालिन र भद्र देखिन्छन् । तर व्यवसायिक मामिलामा उनी गम्भिर मात्रै होईन कठोर पनि छन् । उनको स्वभाव नै व्यवसायिक छ । र त उनको परिवार नै व्यवसायिक छ। काठमाडौँको स्वयम्भूमा होण्डा कम्पनीको विशाल सोरुम छ, कपुरी ब्रदर्श । यसका सञ्चालक हुन्, उनै प्रकाश कपुरी । मोटरसाईकल र स्कुटरको सो सोरुममा दर्जन बढी कर्मचारी कार्यरत छन् । 

सफलतासँग जोडिएको संघर्ष

२५१/०५२ सालमै उनले व्यवसायकी यात्रा प्रारम्भ गरेका हुन् । त्यसभन्दा अगाडीका केही रोचक किस्साहरु सम्झिन चाहान्छन् प्रकाश कपुरी । ‘त्यतिबेला विद्यालयमा साथीहरुसँग चाडवाड, नयाँ वर्ष आदिमा पोष्ट कार्ड साट्ने, अटो ग्राफ दिने चलन थियो’ उनले सम्झिँदै भने, ‘म त्यतिबेला देखि नै विजनेश म्यान बन्छु भनेर अटो दिन्थेँ ।’ सफल बन्न सानैदेखि एउटा लक्ष्य लिएर हिड्नुपर्ने रहेछ भन्छन् उनी ।

उनको परिवार पनि व्यवसायिक नै थियो । तर उनका पीता भने सरकारी जागिर खान्थे । ‘त्यतिबेलाको व्यापारिक दायरा साँघुरो थियो, अहिले केही फराकिलो छ’ उनले विगतको सम्झना गर्दै भने, ‘सानै भएपनि हाम्रो परिवार केही व्यवसायिक भने पहिलेदेखि नै थियो ।’

झण्डै २५ वर्ष अघि व्यापारमा हात हालेका कपुरीले व्यवसायिक दौडमा जानेजति सबै व्यापार गरेका छन् । काम र व्यापार सानो ठूलो हुँदैन भन्ने कुराका जानकार उनी स्वीटर व्यापारी, हार्डवेयर सामानका पसले र रेष्टुरेन्ट व्यवसायि समेत बने । तर उनको आत्मसन्तुष्टि नभएपछि व्यवसायिक घरनाको ज्योति समूहसँग जोडिएर उनले अटोमोबाइल्सको व्यापारमा हात हाले । अहिले देशभर ४ स्थानमा अटो व्यापारको सञ्जाल फैलाएका कपुरी १८ वर्ष अघि बैंकहरु पर्याप्त नभएको, व्यवसायको लागि कर्जा नपाएको लगायतका दिन सम्झिन्छन् । 

‘चलनचल्तीकै भनौँ २४ प्रतिशत ब्याजमा साथीसँग ऋण लिएर व्यापार सुरु गरेँ’ उनले भने, ‘घरबाट केही पैसा जम्मा भएको थियो, विजनेश गर्छुभन्दा पत्याईहाल्ने अवस्था थिएन, त्यस्तो अवस्थामा साथीले ऋण दिँदा मलाई निकै खुशी लाग्यो ।’ 

परिवारिक पृष्ठभूमी

सरकारी जागिरे पीताका सन्तान हुन् कपुरी । उनलाई विदेश जान र सरकारी जागिर खान केही दबाब पनि थियो । तर उनले त्यता कहिल्यै सोचेनन् । ‘विदेश नजाने होइन, जानुपर्छ’ कपुरी भन्छन्, ‘केही नयाँ अनुभव हुन्छ, ती अनुभव र सीपलाई स्वदेशमै लगाउनुपर्छ ।’ 

सुरुमा आफ्नो परिवार बने मात्रै समाज बनाउन सकिन्छ र समाज बनाउन सके सोही उदाहरणमार्फत देश विकास गर्न सकिन्छ भन्ने विश्वास भएका उनको परिवार हाल पूर्ण व्यवसायिक छ । श्रीमति, २ भाई र आफ्ना आफन्त समेतलाई उनले पूर्ण व्यवसायिक बनाएका छन् । श्रीमतिले उनीसँगै खटेर व्यवसायिक सफलता दिलाउन भूमिका खेलिरहेकी छिन् । 

योगदान र रोजगारी सृजना 

कपुरी ज्योति ग्रुपसँग मिलेर अटो मोबाइल्सको व्यापार गरिरहेका छन् । उनी व्यापारमा एक्ला छैनन् । अटो मोबाइल्स डिलर्स एसोसियसन नाडाको उनी पूराना सदस्य हुन् । भर्खरै चुनिएको नयाँ कार्यसमितिमा पनि उनी नेतृत्वसँगै छन् । 

नाडामा नेतृत्वका प्रत्याशी रहेका कपुरीले अन्तिममा कृष्ण प्रसाद दुलाललाई अध्यक्षका एक्ला दाबेदार हुन दिए । फलस्वरुप दुलाल नाडाको अध्यक्ष बने । अध्यक्ष दुलालले कपुरीलाई साथमै लिएर हिड्न भन्दै सदस्यमा मनोनित गरे । 

यसरी संगठित भएर काम गर्दै आएका कपुरीले एक्लै प्रत्यक्ष रुपमा २ सय जनालाई रोजगारी दिएका छन् । बेलाबेलामा आइपर्ने कामले सिर्जना गर्ने रोजगारीको संख्या पनि यसैको हाराहारीमा छ । 

उनले वर्षमा लाखौँ रुपैयाँ सरकारलाई राजश्व तिर्छन् । आफूहरुले व्यवसाय वापत तिरेको शुल्क अनुसार सरकारले व्यबहार नगरेकोमा उनी केही खिन्न छन् । तर पनि उनी आफ्ना व्यवसायी साथीलाई सम्झाउँदै भन्छन्, ‘सरकारले अटो व्यवसायलाई मात्रै हेरेर पनि भएन, सबै क्षेत्रलाई हेर्नुपर्ने भएर हामीलाई हेर्न केही कमी भएको होला, अब सरकारले हाम्रो योगदान बुझ्नेछ भन्ने लाग्छ ।’ 

आगामी लक्ष्य 

पूर्वमा मोरङको विराटनगरमा होण्डा कार र सुजुकी कार, झापाको सुरुङ्गा र विर्तामोडमा होण्डा कार र काठमाडौँको स्वयम्भूमा होण्डा मोटरसाइकलको गरी ४ ठाउँमा विशाल सोरुम सञ्चालन गरिरहेका कपुरी यतिमा मात्रै समित हुन चाहदैनन् । उनको लक्ष्य टाई र सुटमा सजिने व्यापारी हुने मात्रै नभई देशलाई आत्मनिर्भरको बाटोमा अगाडी बढाउने पनि छ । 

आफूले गर्दै आएको व्यापार सम्हाल्ने पुस्ता ‘स्ट्याण्ड बाई’ राखेका उनी निकट भविष्यमा नै बाँझो जग्गामा खेती गर्ने अभियान सुरु गर्दैछन् । ‘कम्तीमा आफूलाई पुग्ने मात्रै उत्पादन गरेपनि आयात कम हुने थियो’ उनले भने, ‘सुरुमा आफूलाई पुग्ने खाने कुरा मात्रै फलाऔँ, त्यसलाई वैज्ञानिक रुपमा विकास गरौँ, खाने कुरा नै विदेशबाट ल्याउनुपर्ने बाध्यता हटाऔँ ।’ 

‘काम गर्दै जाँदा एकदिन सफल भइन्छ, यो भनाईको उदाहरण केही हदसम्म म पनि हुँ’ उनले भने, ‘विशेषगरी युवा साथीहरुलाई म अनुरोध गर्न चाहान्छु, विचलित नभई व्यवसाय गर्दा एकदिन अवश्य सफल भइन्छ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved