शिब धिताल/बिजपाटी     Feb 08, 2020 | 11:39:58 PM


tansen

एघारौं राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कुन जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५०४ छ। नेपाल राष्ट्र बैंकका अनुसार यसमध्ये  ६१ प्रतिशत अर्थात करिब १ करोड ६१ लाख नागरिकमा वित्तीय पहुँच पुगेको छ। कुल जनसङ्ख्या मध्ये १५ लाखसँग मात्र डिम्याट खाता छ। सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई  अभौतिकीकरण गरेको खाता नै डिम्याट हो । 

आजको दिनमा १७ खर्बको सेयरबजारमा सेयर किन्न र बेच्नका लागि मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने सेयर ब्रोकरको संख्या ५० रहेको छ। यसमध्ये सुरुवाती दिनमा २७ वटालाई लाइसेन्स दिईएको थियो भने पछि २०६४ सालमा परिक्षा लिएर थप २३ लाई सेयर ब्रोकरको लाइसेन्स दिईएको थियो। 

त्यहि बेला अर्थात २०६४ सालमा लाइसेन्सको लागि आबेदन खुलाइएको बेला परिक्षामा पास भएर सातौँ स्थानमा नाम निकालेर सेयर बजारको दुनियाँमा प्रवेश गरेकी थिईन सरीता बिष्ट। दोस्रो पटक खुलाएको बेला लाइसेन्स पाउने बिष्ट एक मात्र महिला भएकाले पनि उनलाई नयाँ पुस्ताको पहिलो महिला ब्रोकर भनेर चिनिन्छ। 

सरीता विष्टको परिवारका सबै सदस्य सरकारी जागिर वा शिक्षण पेशामा थिए । परिवारका सबै पढाईमा अब्बल थिए । एसएलसी उतिर्ण गरेपछि विज्ञान विषय पढ्नु पारिवारिक संस्कार जस्तै थियो । तर सरीताको जीवनमा केहि ‘टर्न’ आए र उनी कमर्श पढ्न पुगिन । उनै सरीता हाल आज नेपालको एक मात्रा महिला शेयर ब्रोकरको रुपमा लिन्च स्टक एक्सचेन्ज ब्रोकर नम्बर ४१ हाँकेर बसेकी छिन् । 

हुनत् अहिले पनि शेयर ब्रोकर सम्बन्धि काम गर्ने महिला ब्रोकर छन् । तर सरीता उनीहरु भन्दा फरक हुन् । किनभने जति बेला उनले ब्रोकर लाईसेन्स पाईन त्यो बेला संस्थाले नभई व्यक्तिले लाईसेन्स पाउंथे र लाईसेन्स पाउन परीक्षा दिनु पर्थ्यो । परीक्षा पास गरेर लाईसेन्स पाउने उनी एक मात्र महिला ब्रोकर हुन् । नेपालकै पहिलो महिला ब्रोकरको रुपमा भने सुचिता खनाललाई चिनिन्छ । खनालको निधन भएपछि सरीता नै अहिलेको एक मात्र महिला ब्रोकर हुन् ।

जीवनको त्यो ‘यु टर्न’

एसएलसी उतिर्ण गरेपछि उनको स्वास्थ्यमा सामान्य समस्या देखियो । तर विज्ञान विषय लिएर पढ्दा त्यसले भविष्यमा असर पर्न सक्ने देखेपछि उनी कर्मश पढ्न थालिन । कमर्श पढेपछि उनको पनि इच्छा थियो, बैंकमा जागिर खाने । शिक्षित पारिवारिक पृष्ठभूमिबाट आएकी उनी पढाईमा  अब्बल त् थिईन नै । बैंकर बन्ने इच्छा बोकेकी सरीता ब्याचलर र मास्टर्स सक्नु भन्दा अगाडी नै शिक्षण पेशा सुरु गरिन । एसएलसी सकिना साथ १८ वर्षको उमेर मै उनले सुरु गरेको शिक्षण पेशा अहिले पनि निरन्तर छ । उनलाई पारिवारिक साथ थियो। परिवारबाट पढाई नबिग्रने शर्तमा पढाउने अनुमति उनले पाएकी थिइन् । 

सोहि क्रममा ६४ सालमा नेप्सेले ब्रोकर लाईसेन्सको लागि आवेदन खोलेको उनले जानकारी पाईंन । यसमा उनलाई चासो थिएन । त्यो समय उनको विवाह भई सकेको थियो।  तर नेप्सेले माग गरेको योग्यता र उनीसँग भएको योग्यता मिल्छ भनेर साथीभाई परिवारले मनाएपछि उनले आवेदन दिईन । उनले पहिलो महिला ब्रोकरको रुपमा सुचिता खनालको अन्तर्वाता पनि हेरेकी थिइन् । खनालले गरेको संघर्ष र भोगाई सुन्दा उनलाई पनि मैले गर्न सक्छु भन्ने आत्मविश्वास आयो । उनले परीक्षा दिईन र पास गरिन, त्यो पनि सातौँ स्थानमा। 

सिकाईमा साथ

२०६४ सालमा परिक्षा दिएर सातौँ स्थानमा पास भएपनि त्यसको ४ वर्षपछि मात्र सरीता को हातमा लाइसेन्स आयो । पास भई सकेर लाईसेन्स लिनु भन्दा अगाडी उनलाई यो पेशाबाट अलग हुने सोच नआएको पनि होइन । तर उनलाई निरन्तर ब्याक सपोर्ट रह्यो । छोरी मान्छेले पनि लिडिंङ रोल लिनु पर्छ भनेर उनलाई साथीहरुले प्रोत्साहन गरिरहे । उनी भन्छिन ‘यसमा मेरो परिवार र साथीभाईको ठुलो सपोर्ट छ, उहाँहरु बिना मैले आवेदन दिने आँट नै गर्ने थिईन।' 
त्यसपछि उनले कार्यालय खोलिन् । नाम राखियो लिन्च स्टक । यो नाम रोज्नुको कारण पनि रोचक भएको उनी बताउछिन् । उनका अनुसार कम्पनी दर्ता गर्नु पर्ने बेलासम्म पनि कुनै नाम जुर्न सकेन । जसरि पनि कम्पनी दर्ता गर्नु थियो । र अन्तिममा उनले नै लिन्च नाम रोजिन । उनी भन्छिन, 'अमेरिकामा एउटा त्यस्तै नामको इन्भेस्टमेन्ट कम्पनी थियो। त्यसलाई नै आधार मानेर नाम जुराईएको हो ।' त्यस समय १८ जना मिलेर १ करोड ५१ लाख पुँजी राखेर कम्पनी स्थापना भयो । उनी सम्झन्छिन , ‘त्यो बेला भएका ब्रोकर मध्ये सबै भन्दा बढी पूंजी हाम्रै नै थियो’ । 

उनले लाईसेन्स लिंदा बजारको अवस्था खस्केको थियो । ६८ सालमा लाईसेन्स पाएर उनले भदौबाट कारोबार सुरु गरिन् । कारोबार सुरु गरेको एक महिनामा नै बजार २९० मा झर्यो । त्यो भन्दा अगाडी कहिल्यै पनि दोस्रो बजारमा लगानी समेत नगरेकी उनलाई काम गर्न केहि असहज पक्कै थियो । तर उनले सबैलाई सिकाईको रुपमा लिईन् ।  

आफुलाई सँस्थाको प्रमुख (सीईओ) नभनी उनले भौचर भर्नेदेखि अति सामान्य काम पनि आफै गर्थिन् । किनभने उनलाई सिक्नु थियो । शिक्षण पेशामै लागेकोले आफैले सिक्नुको अर्थ कति थियो उनी स्वयंलाई मात्र थाहा छ । सिकाईको क्रममा उनलाई ठुलो सपोर्ट मिल्यो । उनी गर्व गर्दै भन्छिन ‘ पहिलो दिनदेखि मेरोमा आउनु भएको लगानीकर्ताहरु अहिले पनि आएर पहिलो लाइन मै बस्नु हुन्छ, उहाँहरु हरेक दिन आउनुहुन्छ ‘। डिम्याट पनि भएकोले वानडोर सेवा प्रदान गरेकोले पनि ग्राहकले आफुलाई विश्वास गरेको उनी बताउछिन् ।

कठिनका ति दिन 

त्यस समय कारोबार त्यति सहज थिएन । आईपिओ भर्न लामो लाइन लाग्नु पर्ने ।खरिद बिक्रि पछि शेयर र पैसा पाउन उस्तै गाह्रो । टुक्रा पारेर बेच्नु र शेयर ट्रान्सफर झन् कठिन । ठुलो कारोबार गर्नु पर्दा थप कठिन । शिक्षण जस्तो जीवन्त पेशाबाट यता आउँदा कहिलेकाही एकोहोरो महशुस हुने उनलाई पनि नभएको होइन । तर उनी चुनौतीको सामना गर्दै अगाडी बढ्दै गईन । 

उनीसँग केहि विर्सनलायक क्षण पनि छन् । उनी भन्छिन् ‘ कोहि मान्छे जति सुकै पढेको भए पनि सोचाई सानो नै हुन्छ, कोहिले आएर हामीलाई त्यत्रो पैसा लिएर किन काम नगरेको भन्छन्, कहिलेकाही नराम्रो लाग्छ।'उनी आफुहरुले नियामकले तोकेको शुल्क लिएर नियामकले नै तोकेको कानुनको अधिनमा रहेर काम गरेकोले यति उति पैसा खायो भन्नु गलत रहेको बताउछिन् । 

सेयरबजारमा १ अर्बको कारोबार हुँदा त्यो पैसा ब्रोकरको खातामा आउछ भन्ने सोच राख्नेहरु पनि छन तर त्यो पैसा ब्रोकरको खातामा आउने होइन। ब्रोकरले सेयरको अपनत्व लिने होइन, त्यसको स्वामित्व हस्तान्तरण गरिदिने मध्यस्तकर्ता मात्र हो। तर पनि त्यस्तो आरोप लाग्दा कहिलेकाही उनलाई पनि लाग्थ्यो ‘बेकार यो पेशामा आईएछ, के नपुग्दो थियो र यहाँ आउनलाई’ जस्तो लाग्छ । तर अब उनलाई भने ति सबै सामान्य भईसकेका छन् । 

कहिलेकाही ब्रोकरले बजारलाई प्रभावित पारेको आरोप पनि ब्रोकरहरु माथि लाग्छ । यो उनी माथिको भन्दा पनि उद्योग माथि कै आरोप हो । तर उनी भन्छिन् ‘५० वटा ब्रोकरले गर्ने भनेको लगानीकर्ताले दिएको अर्डरको कार्यन्वयन मात्र हो, हामीलाई यो किनेर त्यो बेच भन्ने अधिकार छैन।' उनी प्रश्न गर्दै भन्छिन् ‘लगानीकर्ताले दिएको अर्डर कार्यन्वयन गर्दा कहाँबाट कसरी बजारलाई प्रभाव पारियो त ?' 

महिलामैत्री कार्यालय 

उनी आफ्नोमा कारोबार गर्न आउनेहरु उल्लेख्य मात्रामा महिलाहरु रहेको बताउछिन् । उनी भन्छिन् ‘ महिलालाई महिला भएकै स्थानमा सहज हुन्छ, हामी महिलाहरु बढी शहनशील र बढी केयरिंङ हुन्छौ’ । हाल बुटवलमा पनि उनले शाखा संचालनमा ल्याएकी छिन् । जुन महिलाहरुले मात्र चलाएको नमुना ब्रोकर हो । त्यहाँ कर्मचारीको रुपमा कोहि पनि पुरुष छैनन् । 

क्षमता हेरेर लगानी गर्न सुझाव 

ब्रोकर पेशामा लागेपछि उनलाई कुन शेयर किन्ने कुन बेच्ने भनेर सोध्ने कयौं हुन्छन् । तर उनी भन्छिन् ‘मैले आजसम्म कसैलाई नाम तोकेर यो किनबेच गर भनेको छैन, त्यो हाम्रो धर्मले भन्न पनि मिल्दैन’ । आफुलाई सोध्ने हरेकलाई आफुले जोखिम बहन गर्न सक्ने क्षमतालाई हेरेर मात्र लगानी गर्न सुझाव दिएको उनी बताउछिन् । उनी भन्छिन् ‘कति समयलाई लगानी गर्ने हो, यदि त्यो लामो समयसम्म बेच्ने वातावरण मिलेन भने आम्दानीको अन्य स्रोत छ कि छैन, कतिसम्म जोखिम बहन गर्न सकिन्छ, त्यो हेरेर लगानी गर्न र पर्याप्त अध्ययन गर्नलाई भन्छु’ ।

भावी योजना 

उनको ठुला ठुला योजना भने छैनन् । उनी संख्यात्मक भन्दा पनि गुणस्तरमा विश्वास गर्छिन्। उनी भन्छिन् ‘ धेरै शाखा खोल्ने भन्दा पनि हाल भएकै शाखाबाट आउने ग्राहकलाई छिटो छरितो र सहज सेवा दिनु मुख्य प्राथमिकता छ । हामीले पाउने अवसरहरु सबै सदुपयोग गर्छौ ‘ ।

नीतिगत निर्णय अगाडी छलफल आवश्यक 

सरकार अथवा नियामकले नीति ल्याउनु अगाडी सरोकारवालासँग छलफल गर्न उनी आग्रह गर्छिन् । सरोकारवालाले भनेको मान्नु पर्ने नै छ भन्ने होइन, तर छलफल त गर्नु नै पर्ने उनी बताउछिन। उनी भन्छिन् ‘पौडी खेल्न कति गाह्रो हुन्छ पौडी खेल्नेलाई मात्र थाहा हुन्छ, पौडी खेलेको मात्र हेरेर नीति नियम बन्यो बन्यो भने पौडी खेल्नेलाई पक्कै पनि असहज हुन्छ ‘। 

यी सबै काम गर्दा महिला भएकै कारण कति असहज भयो त् ? कसरी समय ब्यबस्थापन हुन्छ ? भनेर हामीले सोधेको प्रश्नमा उनी भन्छिन् ‘अरुले घुमघाम गरेको फोटो हेर्दा मलाई पनि रहर त लाग्छ तर बिजनेशमा प्रोत्साहन गर्ने समुहले दिएको प्रोत्साहन, हौसलाले ति घुमघामको कुरा बिर्सन्छु र जिम्मेवारीतर्फ नै लाग्छु’ ।

उनी अध्यात्ममा चासो राख्ने गर्छिन्। उनी भन्छिन् ‘महिलालाई प्रकृति स्वयंले नै बलियो बनाएको छ, शारीरिक रुपमा नभ्याए पनि मानसिक रुपमा महिलाहरु बलिया हुन्छन् जस्तो लाग्छ, महिलाले तनाव ब्यबस्थापन पनि बढी गर्न सक्छन् जस्तो लाग्छ ।‘  तर समय ब्यबस्थापनमा परिवार र साथीभाई कै साथ र सहयोग नै ठुलो भएको बताउछिन् । 

Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital