सुन्तला बेचेर घर चलाउँछन् बालबालिका

महेश न्यौपाने

महेश न्यौपाने

Feb 29, 2020 | 11:05:16 AM मा प्रकाशित

laxmi  sunrise bank

रोल्पा नगरपालिका १० धवाङकी ११ वर्षीया लक्ष्मी घर्ती बिद्यालय नखुलेको दिन सधैजसो विहानै डोकोमा सुन्तला बोकेर सदरमुकाम लिवाङ जान्छिन । डोकोमा सुन्तला वोकेर घरवाट लिबाङ आउन उनलाई २ घण्टा लाग्छ । दिनभरी चिसो भुईमा वसेर ग्राहकको प्रतिक्षामा हुन्छिन । कहिले सवै सुन्तला वेचेर फर्कन्छिन त कहिले वचेको सुन्तला समेत साथमै लिएर वेलुका अध्यारो भएपछि घर फर्कन्छिन ।

घरका लागि नून, तेल, चामलको जोहो सुन्तला बेचेको पैसाबाट गर्दै आएकी छिन् । आफुलाई चाहिने शैक्षिक सामग्री, विद्यालय पोशाक, परीक्षा शुल्क समेत सुन्तला वेचेर व्यवस्थापन गर्दै आएकी छिन् उनले । 

गाउँकै विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने लक्ष्मीका बुवा चित्रवहादुर वैदेशिक रोजगारीमा छन् । विदेशमा बुवाको कमाई राम्रो नभईदिँदा समयमा पैसा आउँदैन । त्यसैले सुन्तला विक्री गरेर आएको पैसाले घर व्यहवार चलाउनुको विकल्प छैन् उनसिँग । ‘ऋण गरेर बुबा विदेश जानुभयो, उता पनि कमाई राम्रो नुहने रहेछ, बुबाले पठाएको पैसाले त बिदेश जाँदा लागेको ऋणको व्याज  तिर्न पनि पुग्दैन’ उनले भनिन् ।

घरको आर्थिक अवस्था कमजोर भएका लक्ष्मी जस्ता धेरै वालवालिका सुन्तला वेचेर घरको दैनिकी चलाउदै पठनपाठन गर्न वाध्य छन् । विद्यालय खुलेको दिन पढ्न गए पनि बिदाको वेला भने अधिकांश वालवालिका सुन्तला विक्री गर्न सदरमुकाम झर्छन् । दिनभरी सुन्तला वेचेर घर फर्कदा कहिले ५ सय देखी १५ सय रुपैयाँसम्म कमाउँछन् । ‘दिनभरको कमाई सरदर १ हजार जति हुन्छ’ रोल्पा नगरपालिका १० धबाङका वसन्त घर्तीले भने ‘विहान मिर्मिरेमा घरबाट निस्कन्छौ वेलुका रातपरे पछि घर फर्कदासम्म त्यही कमाईबाट चित्त वुझाउनु पर्छ ।’ 

गाउँमा गाडी चल्न थालेपनि सुन्तला उत्पादक किसान भने पैदल यात्रा नै गर्छन । ‘गाडीबाट यात्रा गर्दा भाडा निकै महङ्गो पर्छ सुन्तला विक्री गरेर आएको आम्दानी नै गाडी भाडामा सकिन्छ, त्यसैले पैदल यात्राको विकल्प छैन’ शिक्षिका समेत रहेकी सर्मिला महराले भनिन् । 

विद्यालय उमेरका यस्ता वालवालिकाहरु पढ्नुका साटो दुई चार पैसाका लागी घण्टौ पैदल हिडेर सुन्तला वेच्छन् । विद्यालय खुलेको समयमा पनि साँझ विहान घरको काम गर्ने र विद्यालय वन्द भएको वेला सुन्तला बेच्न जानुपर्ने वाध्यताले उनीहरुको पढाई समेत खस्किँदो अवस्थामा रहेको शिक्षिका महराको भनाई छ । 

सरकारले सुन्तला संकलनको आवश्यक व्यवस्था गरे घण्टौको पैदल यात्राबाट सदरमुकाम आउनु पर्ने वाध्यता हट्ने स्थानीयहरुको आशा छ । उचित बजार मूल्य गाउँमै पाउन सके डोको वोकेर घण्टौ हिड्ने समस्या हल हुने उनीहरुको भनाई छ । 

सुन्तलाको सुरक्षित भण्डार र संकलनका लागी आफुहरुले सहयोगको प्रयास गरेको रोल्पा नगरपालिका १० का वडाध्यक्ष मानवहादुर खत्री बताएँछन् । ‘स्थानीय निर्वाचन पूर्व विभिन्न कार्यालय र संघ संस्थाको सहयोगमा भण्डारण तथा संकलन केन्द्र वनाएपनि थोरै थोरै सुन्तला वोकेर सदरमुकाम आउने चलन हटेन’ वडाअध्यक्ष खत्रीले भने ‘अब सुन्तलाको व्यवसायीक उत्पादन गरी यसको संकलन केन्द्र र भण्डारणका लागी विशेष कार्यक्रम ल्याउने सोच बनाएका छौँ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved